भारतको ओडिसास्थित केआईआईटीमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको झन्डै २ महिना भइसकेको छ। यो घटनामा ओडिसा पुलिसले गरिरहेको अनुसन्धान सकिन अब कति समय लाग्छ?
काठमाडौँ– भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय क्याम्पसमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएको ५५ दिन बितिसकेको छ। ओडिसा पुलिसले यस घटनाको अनुसन्धान थालेको पनि ५३ दिन भइसकेको छ, तर अझै सत्यतथ्य बाहिर ल्याएको छैन।
गएको फागुन ४ गते प्रकृति आफ्नै होस्टेलको कोठामा मृत भेटिएकी थिइन्। उनी झुन्डिएको अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको लागि दबाब दिँदै आन्दोलन गरेका थिए। तर विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई निष्कासित गरेपछि घटना विश्विद्यालयभित्र मात्रै सीमित रहेन, त्यसको बाछिट्टा ओडिसाबाहिर र नेपालसम्मै फैलियो।
प्रकृतिलाई उनको केटा साथी आद्विक श्रीवास्तवले बारम्बार मानसिक यातना दिएको र सो सम्बन्धमा विश्वविद्यालय प्रशासनसमक्ष पटकपटक उजुरी पनि गरिएको नेपाली विद्यार्थीको भनाइ थियो। तर विश्वविद्यालय प्रशासनले गम्भीरतापूर्क नलिँदा घटना भएको भन्दै नेपाली विद्यार्थी आन्दोलनमा उत्रिए।
आन्दोलनमा उत्रिएका मात्रै होइन सबै नेपाली विद्यार्थीलाई निष्कासन गर्ने विश्वविद्यालय प्रशासनको रवैयाविरुद्ध भारतभित्रै पनि आवाज उठेको थियो। त्यसपछि यस घटनामा ओडिसा पुलिसले अनुसन्धान शुरू गरेको थियो।
ओडिसा पुलिस कमिस्नर एसदेव दत्त सिंहले प्रकृति मृत्यु प्रकरणको अनुसन्धान अहिले पनि चलिरहेको उकालोलाई जानकारी दिएका छन्। पुलिसले सीसी क्यामेरामार्फत शव पोष्टमार्टमको पनि अनुसन्धान गरेको सिंह बताउँछन्। त्यस्तै, प्रकृतिले विश्वविद्यालय प्रशासनमा श्रीवास्तवविरूद्ध गरेको गुनासोको तथ्य जाँच, उनीहरूबीच भएको अडियो वार्तालापको परीक्षण र दुवैको सम्बन्धको वास्तविकताबारे पनि अध्ययन गरेको उनी बताउँछन्।
यो घटनाको अनुसन्धान ओडिसा पुलिसका डेपुटी कमिस्नर पिनाक मिश्रको नेतृत्वमा शुरू भएको थियो। तर उनको बढुवा भएपछि अनुसन्धानको जिम्मेवारीबाट हटेका थिए। त्यसयता कमिस्नर सिंहले आफ्नै नेतृत्वमा अनुसन्धान गरिरहेका छन्।
आफूहरूले समय लिएर निष्पक्ष रूपमा अनुसन्धान गरिरहेको सिंहको भनाइ छ। “ढिलाइ भएकोमा शंका गरिरहनुपर्ने कारण छैन। अन्तर्राष्ट्रिय केस भएकाले सबैभन्दा माथिल्लो स्तरबाट जाँच गरिरहेका छौँ,” उनले उकालोसँग भने, “हाम्रो तर्फबाट केसलाई सक्दो मजबुत बनाउने कोशिश भइरहेको छ। पूरै अनुसन्धान सकिन अझै एकदेखि डेढ महिना लाग्छ।”
सिंहका अनुसार हालसम्मको अनुसन्धानबाट श्रीवास्तवले प्रकृतिलाई मानसिक रूपमा ठूलो तनाव दिएको देखिन्छ। यद्यपि, ठोस प्रमाणहरू जुटाउने काम भइरहेको हुनाले अहिले नै सबै तथ्य खुलाउने स्थिति नभएको उनको भनाइ छ।
“हामीले प्राप्त गरेको जानकारी अनुसार दुवैको सम्बन्ध पहिला रहे पनि पछि टुटेको थियो। तर अभियुक्त बारम्बार प्रकृतिको पछाडि लागेको देखियो,” सिंह भन्छन्, “विश्वविद्यालयलाई गुनासो गर्दा पनि नजरअन्दाज गरेको प्रमाणहरू प्राप्त भएको छ।”
अभियुक्त श्रीवास्तव अहिले भुवनेश्वरस्थित प्रहरी हिरासतमा छन्। उनीसँग आवश्यकताअनुसार सोधपुछ भइरहेको सिंहले बताएका छन्। उनलाई म्याद थपका लागि ‘लोअर कोर्ट’मा हाजिर गराउने गरेको छ।
श्रीवास्तव पक्राउ परेयता उनका वकिलले तीनपटक जमानतका लागि प्रयास गरेका छन्। तर तीनपटक नै जमानत अस्वीकृत भएको छ। यो सरकारवादी मुद्दा भएकाले पीडीतको तर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन्।
प्रकृतिका बुबा सुनील लम्साल पनि कमिस्नर सिंहसँग निरन्तर सम्पर्कमा छन्। सुनीलका अनुसार प्रकृतिले दुईपटक विश्वविद्यालयको इन्टरनेसनल रिलेसन अफिस (आईआरओ)मा उजुरी गरेको प्रमाण ओडिसा पुलिसले प्राप्त गरेको छ। विश्वविद्यालय प्रशासनले आफ्नी छोरीको परिस्थितिलाई गम्भीर रूपमा नलिँदा घटना भएको सुनिल बताउँछन्।
“अनुसन्धानले के देखायो भने, प्रशासनले केटाको बुबालाई बोलाएर सबै सुनायो र आइन्दा यस्तो नगर्ने भनेर कागज गराएर पठायो। तर केटीपक्षका अभिभावकलाई किन जानकारी दिएन?” उनी भन्छन्, “केटा पक्षको अभिभावकलाई बोलाउन जरूरी सम्झियो, हामीलाई सम्झेन। यही गल्तीले घटना भयो, नभए मेरी छोरीको ज्यान जाँदैनथ्यो।”
अनुसन्धानका क्रममा ओडिसा पुलिसले आफूलाई सम्पर्क गरिरहे पनि विश्वविद्यालयले घटनापछि एकपटक पनि सम्पर्क नगरेको सुनील बताउँछन्। भारतबाट प्रकृतिको शव नेपाल ल्याएदेखि एकपटक पनि सम्झेको भए त्यति साह्रो चित्त नदुख्ने उनको भनाइ छ।
“कमसे कम हामी पनि कलेजभित्र आन्तरिक छानिबिन गरिरहेका छौँ भनिदिएको भए सहानुभूति मिल्थ्यो। गरे पनि नगरे पनि कलेजलाई समेत दुखेको छ भन्ने हुन्थ्यो,” उनी भन्छन्, “तर एक कल फोन आएको छैन। अहिले फेरि नयाँ भर्ना हुने समय आयो, बिर्सिसके जस्तो लाग्छ।”
फर्किएका विद्यार्थी भन्छन्– अहिले ठिक छौँ
घटनापछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरेको थियो। उनीहरूलाई जबर्जस्ती गाडीमा राखेर नजिकको बसपार्क र रेल्वे स्टेसनमा अलपत्र छाडिदिएपछि अधिकांश त्यही दिन नेपाल फर्किन बस र रेल चढेका थिए। त्यहाँबाट नेपाल आउन करिब तीन दिन लाग्छ।
कलेजले निष्कासन गरेको दिन ओडिसामै बसेका विद्यार्थी पनि भोलिपल्ट नेपालका लागि हिँडेका थिए। घटनाको चौँथो दिन धेरैजसो नेपाली विद्यार्थी नेपालको सीमामा आइसकेका थिए। तर अन्तर्राष्ट्रियस्तरमै बदनामी हुन थालेपछि सोही दिन विश्वविद्यालयले नेपाली विद्यार्थीलाई फिर्ता बोलाएको थियो।
तर लगत्तै कोही विद्यार्थी पनि फिर्ता जान मानेनन्। विश्वविद्यालयले माफी मागेर बारम्बार फर्किन आग्रह गरेपछि नेपाली विद्यार्थी बिस्तारै कलेज फर्किन थालेका थिए। विद्यार्थी फर्काउन कलेजले अभिभावकलाई समेत फोन गरेर माफी मागेको थियो।
स्नातकका सबै विषयको परीक्षा फेब्रुअरी ३० देखि सञ्चालन गर्ने विश्वविद्यालयको तालिका थियो। तर विद्यार्थी मार्च ४ सम्म पनि नपुगेपछि परीक्षा सारिएको थियो। ती परीक्षा मार्च २४ देखि भएका थिए।
स्नातक तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीका अनुसार नेपालबाट फर्किएपछि अवस्था सामान्य छ। “नेपालबाट फर्किएर सबैजना आफ्नो पढाइमा व्यस्त हुनथालेका छन्। अर्को परीक्षा अप्रिल र मेमा आउँदै छ।”
फर्किएर गएपछि उक्त घटनाबारे क्याम्पस प्रशासनले आफूहरूसँग कुनै सोधपुछ नगरेको र आफूहरूले कुनै माग राख्ने वा सोधपुछ गर्ने पनि नगरेको उनले जानकारी दिए। उनी भन्छन्, “अहिले ठिक छौँ। कोही केही गुनासो लिएर जाँदा क्याम्पस प्रशासनले सुन्ने गरेको भन्ने खबर आएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
