‘हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता आसाममा ‘बिन्दु’ शुरू भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।’
काठमाडौँ– सही तिथीमिति गनेर भन्ने हो भने खड्गबहादुर पौडेल क्षेत्री (केबी नेपाली) उमेरमा ८७ लागे। भारत, आसाम राज्यको सिमान्तकृत बिन्दु लामडिंगमा बसेर ६५ बर्षयता नेपाली भाषा–साहित्यको उन्नयनमा लागिरहेका यी पात्र एकाएक काठमाडौँमा भेटिए, जसलाई अर्का पाका साहित्यिक पत्रकार रोचक घिमिरेले चिनापर्ची गराइरहेका थिए।
“हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता ‘बिन्दु’ पनि शुरू भयो,” पत्रिका रचनाका सम्पादक पत्रकार घिमिरेले सुनाए, “अझै हामी दुवै घिटिक–घिटिक बाँचिहरेका छौँ।” गणना हिसाबमा द्वैमासिक ‘रचना’को हालै १९३ अंक निस्किएको छ भने ‘बिन्दु’ १४८ अंक पुगेको छ।
न बिक्री हुन्छ, न बजार छ। सित्तैमा पाएमा पढेजस्तो गर्ने केही पाठक भए पनि हुलाकबाट पत्रिका पठाइने एउटै उपाय पनि अब बन्द भइजाला कि जस्तो छ। “केही साल अघिसम्म नेपालमा पनि हुलाकबाटै पत्रिका पठाइदिन्थेँ, तर अहिले पत्रपत्रिका पार्सल बन्द भएको छ। पत्राचार भए पनि बांग्लादेश, भुटान, नेपालका लागि पोस्टल शुल्क (फरेन–चार्ज) निकै चर्को छ, पत्रिकाको दामभन्दा बढी,” बागबजारस्थित एउटा प्रकाशन गृहमा भेटिएका नेपालीले सुनाए।
कुनै बेला दुई हजार प्रति छापिने ‘बिन्दु’ अहिले ५०० प्रतिमात्रै छापिन्छ। त्यही पनि दार्जिलिङ, सिक्किम, गुवाहटी, डुवर्स, डिग्बोइतिर हुलाकबाट जान्छ थोरतिनो। लामडिंगमा झन्डै तीन हजार नेपालीभाषी छन्। तर त्यहाँ ‘बिन्दु’ बिक्री शून्यप्राय छ। “नेपालीभाषी भए पनि यस्ता साहित्यिक पत्रपत्रिका पढ्ने, बुझ्न खोज्ने वा भानुभक्त–देवकोटाको खोजीनिती गर्ने निकै कम छन्,” नेपाली उताको बयान गर्दै थिए, “म पनि अहिले हुलाक वा चिठीपत्रभन्दा बढी इमेल (जीमेल)मा जोडिएको छु।”
केबी नेपाली आफ्ना शुरूआती दिनमा खड्गबहादुर ‘अभागा’ टाइटलमा लेखरचना लेख्थे। अलिक बितरागी अर्थमा। त्योबेला लेखक हरि ‘गोर्खा’ राई, अच्छा राई ‘रसिक’ आदि नामहरू पनि टाइटलका भरमा चिनिन्थे, त्यही भएर केबीले ‘अभागा’ राखेका थिए। पछि गएर नेपाली अस्तित्व र पहिचानका कारण उनी केबी नेपाली बने। त्यसमा पनि काठमाडौँमा बालकृष्ण सम, लेखनाथ पौड्याल जस्ता लेखकसँग पत्राचारबाट बनेको सम्बन्ध र एक पटक काठमाडौँमा भएको भेटघाटले केबी ‘अभागा’को नयाँ न्वारान भएको रहेछ। ‘तपाई नेपाली मान्छे, हिन्दी भाषामा लेखिरहँदा पहिचान गुम्ने डर हुन्छ। यही कारण लेखन–प्रकाशन नेपालीमै गर्नुहोस्’ भनेर सुझावसहित समको पत्र आएपछि उनी नाम–पहिचानमा फेरिएका रहेछन्– केबी नेपाली बनेर।
विशेषतः उपन्यास तथा कविता, कथा, गीत लेखनमा आफ्नो जीवन बिताएका केबी कतै केही उपलब्धि भइजाला भनेर होइन कि नेपाली भाषाको इज्जत र पहिचानका लागि यो जगतमा लागेका रहेछन्। उनका ‘मेरो घर मेरो संसार’, ‘समर्पण’, ‘तस्वीर एक रातको’, ‘हत्याकारी’ (आसामिया) आदि उपन्यास प्रकाशित छन्। नागाल्यान्ड, कोहिमाबाट प्रकाशित हुने रमिता साप्ताहिकको संयुक्त सम्पादक रहिसकेका उनका कृतिहरू उडिया, आसामिया, बंगला, हिन्दी भाषामा अनुवादित भइसकेका छन्।
“हामी यता हेरीकन उता अँध्यारो जगतमा छौँ। जुनकिरी आफ्नो उज्यालो देखेर आफै रमाएझैँ हामी पनि आफैमा दंग परेर बसेका छौँ,” केबीले सुनाए, “कहिलेकाँही बाहिरी जगतको उज्यालो हेर्न निस्किन्छौँ, फेरि आफ्नै गुफामा छिरिहाल्छौँ।” उनका अनुसार, नेपालमा कमलबाबु (साहित्यकार कमलमणि दीक्षित) होइन्जेल निकै संगत थियो, जोगाजोग हुन्थ्यो पनि। यताका पत्रिकाहरू उता जान्थे, उताको ‘बिन्दु’ मदन पुरस्कार पुस्तकालयसम्म आउँथ्यो। तर, अहिले आएर केबीका निम्ति नेपाल भन्नासाथै पशुपतिनाथको दर्शन मात्रै भएजस्तो भान पर्न थालेको रहेछ। निकै दूरदराजको सम्पर्क–सम्बन्ध!
⁎⁎
आसाम, डिग्बोइमा जन्मे–हुर्केका खड्गबहादुर पौडेल क्षेत्रीको प्राथमिक तहका नेपाली शिक्षक थिए— जशु सुब्बा। उनी विद्यालयमा पढाउनेभन्दा बढी नेपालबाट गएका र आफूले थाहा पाएका भाषा–साहित्यका कुरा गर्ने गर्थे। एकपटक जशुले कक्षामा महाकवि देवकोटाको ‘मुनामदन’को पाठ सस्वर सुनाउँदै त्यसको कथा बनाएर थप व्याख्या बुझाएका थिए। त्यही कथा र मुनामदनको सदृश्य बयानबाट प्रेरित भएर खड्गबहादुर भावनामा डुब्ने कवि–लेखक बनेका रहेछन्। त्यही प्रेरणाबाट उनले सन् १९६० मा पहिलो खण्डकाव्य ‘नवअश्रु’ लेखेका रहेछन्— बेहुली बिदाइको आँसु–कथा।
केबीसँग डिग्बोइका अर्का प्रतिभा हरिभक्त कटुवालसँग निकटको सम्बन्ध थियो। डिग्बोइमैँ एकपटक केबीले कवि कटुवालसँगको सहकार्यमा ‘साहित्यिक चक्र’ अन्तर्संवाद पनि चलाएका थिए, तर त्यो लामो चलेन। सन् ६० को दशकमा केबीले ‘बिन्दु’ शुरू गर्दा हरिभक्तले ‘कोपिला’ साहित्यिक पत्रिका थालेका थिए। डिग्बोइ छँदै केबीले हरिभक्त र रुद्रबहादुर गाइनेसँग मिलेर नेपाली भाषामा नाटक लेख्ने र मञ्चन गर्नेसमेत गर्थे। कतिपयमा त हरिभक्त कटुवालले अभिनय पनि गरेका रहेछन्।
खासमा अंग्रेज शासनको दबदबाबाट भर्खर निस्किएको भारतका दार्जिलिङ, डुवर्स वा आसाम (गुवाहटी) आदिमा नेपालीभाषीको पकड र प्रभाव बढे पनि केबी, हरिभक्तहरू बस्ने डिग्बोइ वा लामडिंग धेरै कारणले पछौटेझैँ थिए। तर, पुस्तौंदेखि भारतमा जरो गाडेर बसेका नेपालीभाषीलाई कहिले उठीबास लगाउने र नामेट गर्न खोज्ने संस्कारविरुद्ध लेखेर, अभिनय गरेर वा बोलेर लडिरहेका हुन्थे केबी, हरिभक्तहरू। “विशेषगरी आसाम राज्यमा नेपाली भाषीमाथि उठीबास लगाउने तहको अन्याय भएपछि मैले एक काव्य ‘प्लेटफार्म’ (१९८४) लेखेको थिएँ। नेपालीभाषी लखेटिएको कथा र उग्रवादी (उल्फा समूह)को दबदबाका बारेमा लेखिएको त्यो कृतिले मलाई निकै चिनायो। दार्जिलिङबाट लेखक आइबी राई समेतले यो कृति हिन्दी, आसामिया भाषामा अनुवाद हुनुपर्छ भनेपछि हिन्दीमा निकालेको थिएँ,” आफ्नो आगत–विगत सम्झिँदै केबी भन्छन्। कालीदास काव्य ‘मेघदूत’को नेपाली अनुवादका निम्ति केबीले साहित्य अकादमी पुरस्कार (२०१०) पाएका छन्।

⁎⁎
साहित्यिक पत्रकार रोचक घिमिरेका अनुसार, भारतमा नेपाली भाषा–साहित्यको प्रभाव र पकड बचाएर राख्नमा केबी नेपाली तथा उनको ‘बिन्दु’ धेरै स्मरणीय माध्यम हो। विगतमा बनारसबाट प्रकाशित हुने ‘उदय’ (सम्पादक/प्रकाशक: दुर्गाप्रसाद श्रेष्ठ)ले नेपाल–भारत नेपालीभाषीको सम्बन्ध–सम्पर्क जोडेर राखेझैँ पूर्वोत्तर भारतको एकमात्र साहित्यिक प्रकाशन ‘बिन्दु’ले अझ विशिष्ट योगदान पुर्याएको छ। (संवत् १९९३ माघबाट निस्किन थालेको ‘उदय’ साहित्यिक पत्रिकाको १८३ अंक निस्कियो, गत वैशाखमा विश्राम–अंक निकालेर प्रकाशन बन्द भइसकेको छ।)
एक साहित्यिक उत्सवको निम्ता पाएपछि दार्जिलिङका डा. जीवन नाम्दुङ, सिक्किमकी डा. शान्ति क्षेत्री र आसाम–तेजपुरका पूर्णकुमार शर्माका साथ लागेर काठमाडौँ उत्रिएका केबी नेपाली ‘नेपाललाई पितृभूमि र भारतलाई मातृभूमि’ भन्न रुचाउँछन्। केबी जेजसरी हुन्छ, आफ्नो भुइँलाई बिर्सिन चाहन्नन्। उनले सम्झेको त्यो भुइँमाटो भनेको नेपाल हो, नेपाली जाती र नेपाली भाषा हो।
“अरूभन्दा पनि अचम्म लाग्ने कुरा भनेको हामी नेपाली जातीकै लाग्छ मलाई,” कुराकानीको बिट मार्दै केबीले सुनाए, “हामी नेपाली भनेका आलुझैँ रहेछौँ। उता नागासँग पनि मिलेका छौँ, यता आसामिया त हामीझैँ भइहाले। भारतका सबैजसो राज्यमा हामी छौँ नै, आज बाहिरी विश्वमा पनि नेपाली नपुगेको कतैकहीँ बाँकी छैन होला। मिजास, स्वभाव, व्यवहार र मतिका कारणले होला, हामीलाई लामडिंगमा कतिपयले ‘तिमारु आलु होइनौ, महाआलु’ भन्न थालेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
