नेपालमा स्मार्ट फोन न बन्छ, न एसेम्बल हुन्छ। पछिल्लो समय टिकटक, रिलजस्ता भिडियो बनाउन पनि महँगा मोबाइलको खोजी हुन्छ। यो वर्ष अहिलेसम्म गत वर्षको तुलनामा झन्डै १३ प्रतिशत धेरै स्मार्ट फोन आयात भएको छ।
काठमाडौँ– पछिल्लो समय नेपालीहरूले स्मार्ट फोन प्रयोग बढाउँदै गएका छन्। मोबाइल फोन आवश्यकता त भएकै छ, महँगा ब्रान्ड सोख र ‘स्टेटस सिम्बल’ हुन थालेपछि स्मार्ट फोनको बजार फराकिलो हुँदै गएको हो।
गत साउनदेखि फागुनसम्म आठ महिनाको भन्सार विभागको तथ्यांक केलाउँदा गत आर्थिक वर्षभन्दा स्मार्ट फोनको आयात १२.६१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म आयात भएको स्मार्ट फोनको संख्या १४ लाख सात हजार ७८ पुगेको छ। गत आर्थिक वर्ष यसै अवधिमा १२ लाख ४९ हजार ४८१ स्मार्ट फोन आयात भएका थिए।
यो वर्ष अहिलेसम्म गत वर्षको भन्दा झन्डै १३ प्रतिशत धेरै स्मार्ट फोन नेपाल भित्रिइसकेको छ। स्मार्ट फोन आयात गर्न फागुन मसान्तसम्म २१ अर्ब ९१ करोड ८३ लाख रूपैयाँ बिदेसिएको छ।

नेपालमा स्मार्ट फोन बन्ने वा एसेम्बल हुने गरेको छैन। विभिन्न कम्पनीले वर्षमा चार पटकसम्म आफ्नो मोबाइल फोनको मोडेल अपडेट गर्नेदेखि वर्षैपिच्छे नयाँ मोडेल निकालेर ग्राहक आकर्षित गरिरहेका हुन्छन्। पुराना हटाएर नयाँ स्मार्ट फोन किन्ने वा एकभन्दा धेरै स्मार्ट फोन राख्नेको संख्या बढेकोले बजार पनि बढ्दो क्रममा छ।
भिभो ब्रान्डको स्मार्ट फोनको आयातकर्ताका लागि नेपालमा सेल्स (बिक्री) प्रबन्धक सुनीलकुमार महतो आवश्यकतासँगै सोखका कारण पनि स्मार्ट फोनको बजार बढेको बताउँछन्। “टिकटक, रिल्स र सर्ट्स जस्ता भिडियो सामग्रीमा मानिसहरू रमाउने भएपछि नयाँ र उच्च प्रविधिका स्मार्ट फोन रोजाइमा पर्न थालेका छन्। अनलाइन क्लास, अनलाइन मार्केटिङ, अनलाइन सेल्समा यसको उपयोग छ,” उनी भन्छन्।
कतिपयले डीएसएलआर क्यामरालाई स्मार्ट फोनले विस्थापित गर्दा पनि महँगो मोबाइलको माग भएको महतो बताउँछन्। आफूसँग भएका महँगा गजेट इज्जतको रूपमा प्रदर्शन गर्ने रुचाउने हुँदा पनि बिक्री बढेको छ। यसका लागि कतिपयलाई बैदेसिक रोजगारको आम्दनीले सघाएको र समग्रमा नेपालीको आयस्तरमा सुधारको संकेत पनि भएको उनको बुझाइ छ।
आर्थिक वर्ष २०७९/८० को साउनदेखि फागुन मसान्तसम्म १० लाख ९४ हजार ८८९ स्मार्ट फोन आयात भएको थियो। दुई वर्षअघि भन्दा यो वर्ष आयात २८.५१ प्रतिशतले बढेको छ। स्मार्ट फोनको आयातका लागि बिदेसिने रकम भने ३२ प्रतिशतले बढेको छ।
आव २०७९/८० को साउनदेखि फागुन मसान्तसम्ममा स्मार्ट फोन आयातमा १६ अर्ब ६० करोड रूपैयाँ बाहिरिएको थियो। यो वर्ष झन्डै २२ करोड पुगिसकेको छ। फागुन मसान्तसम्ममा अघिल्ले वर्ष स्मार्ट फोनको आयातका लागि नेपालले भुक्तान गरेको रकम १९ अर्ब ३७ करोड ७७ लाखभन्दा यो वर्ष १३ प्रतिशतले बढी हो।

सीमापारी भारतबाट स्मार्ट फोन ल्याउने परिपाटीले स्वदेशको बजार प्रभावित भइरहेको अवस्था अहिले फेरिएको सीमावर्ती शहर वीरगन्जका मोबाइल व्यवसायी विजय कलवार बताउँछन्। “सीमापारीको मोबाइल बजारले नेपाली बजारलाई केही अगाडिसम्म प्रभावित बनाएकै थियो, भन्सारमा कडाइले त्यो अवस्था फेरिँदै गएको छ,” कलवार भन्छन्, “सबभन्दा प्रमुख कारण, मोबाइल किन्दा पाइने किस्ताबन्दी सुविधाले बजार टिकेको भन्न सकिन्छ।”
नागरिकता मात्र राखेर सजिलै किस्ताबन्दीमा पैसा तिर्नेगरी स्मार्ट फोन किन्न पाउने सुविधा आधा दर्जनभन्दा बढी कम्पनीले दिइरहेका छन्। यसको उदाहरण हो गुडविल फाइनान्सले सुविधा। यो फाइनान्सले चार/पाँच वटा कम्पनीको मोबाइल किन्दा फाइनान्सको सुविधा दिने गरेको छ। त्यस्तै, हुलास फाइनान्सले स्यामसुङ मोबाइलमा फाइनान्सको सुविधा दिएको छ।
फाइनान्सको सुविधाको खोजी ग्राहकले गरिरहनु पर्दैन। मोबाइल पसलमा नै बिक्रेताले यसबारे जानकारी गराउँछन्। ग्राहकले सुविधा लिन चाहे बिक्रेताले नागरिकताको फोटोकपी लिएर एउटा फाराम भरी सहीछाप गरिदिए मोबाइल हात लाग्छ। त्यसपछि ग्राहकले निश्चित किस्ता तिरेर बक्यौता चुक्ता गर्दै जानुपर्छ।
“सर्भिस चार्ज तिर्नु परेन, व्याज परेन। यस्तो सुविधा भएपछि मानिसहरू लाभ लिइरहेका छन्,” कलवार भन्छन्, “स्वभाविक रूपमा यसले मोबाइलको बजार बढाउन सघाएको छ, सस्तो मोबाइल बोकिरहेकाहरू महँगो रोज्नतिर बाटो पाएका छन्।” बजारमा अहिले ५ हजारदेखि २ लाख रुपैयाँमाथिका स्मार्ट फोन उपलब्ध छन्।
भन्सार विभागको तथ्यांकअनुसार, स्मार्ट फोन आयातबाट भन्सार राजस्वमा पनि योगदान देखिन्छ। भन्सार राजस्वमा योगदान गर्ने प्रमुख १० बस्तुभित्र स्मार्ट फोन परेको छ। फागुन मसान्तसम्म स्मार्ट फोन आयातबाट ४ अर्ब ८ करोड ५१ लाख रूपैयाँ राजस्व उठेको छ। गत वर्ष यही अवधिमा ३ अर्ब ६० करोड ७५ लाख रूपैयाँ राजस्व उठेको थियो।

काठमाडौँ विश्वविद्यालयकी सहायक प्रध्यापक रोशी लामिछाने स्मार्ट फोनको आयातलाई खराब वा राम्रो भन्न सक्नेगरी रिसर्च नभएको बताउँछिन्। “यसको उपयोग मनोरन्जनका लागि मात्र छैन, आवश्यकता पनि छ,” उनी भन्छिन्, “किनमेल गर्ने, सवारी साधन उपलब्ध गराउने, बैंकिङ सेवा उपलब्ध गराउने एपहरू स्मार्ट फोनमा छन्।”
यस्ता सुविधाले स्मार्ट फोन अपरिहार्यजस्तै बन्दै गएको लामिछानेको भनाइ छ। त्यसैगरी, विदेशमा भएका आफन्तसँग भिडियो कल गर्ने विभिन्न एपहरूको प्रयोग पनि स्मार्ट फोनमार्फत नै हुन्छ। “चलिरहेको एउटा मोबाइल फोन पनि रहरले गर्दा फेरेर अर्को लिने चलन पनि छ, त्यो चाहिँ विलासिता नै भयो,” उनी भन्छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
