कुनै समय घरभान्सामा बिताउने वा परिवार चलाउन तरकारी पसल गर्ने महिला आज उद्यमी भएका छन्। बाध्यतामा सरकारी जागिर छाडेका पनि उद्यमकै कारण चिनिएका छन्। उकालोले खोजेका त्यस्ता तीन महिलाको कथाः
काठमाडौँ– धनुषाकी सरिता देवीले घुम्टो राख्न छोडेको झन्डै १० वर्ष भयो। सारीको फेरोमा अल्झिएर नजाने उनी कति पटक लडिन्। घरभान्सा गर्दा सारी रंगीबिरंगी हुन्थे। राति ओछ्यानमा पुगेपछि मात्र घुम्टोले विश्राम लिन्थ्यो।
२०६६ सालमा काठमाडौँ आएपछि सरिताले घुम्टो निकालिन्। तर घुम्टोले दिएको तकलिफ उनको सम्झनामा ताजै छ। जब १५ वर्षमा नै उनी विवाहबन्धनमा बाँधिइन्, सँगै घुम्टोले पनि छोपिनुपरेको थियो।
सरिता मिथिला चित्रकार हुन्। उनी २०७९ सालमा राष्ट्रपतिबाट जनसेवाश्री पञ्चमले विभूषित भएकी थिइन्। मिथिला चित्रकलासँग उनको साइन सानै उमेरदेखि जोडिएको हो।
उनका हजुरआमा, आमाले आँगन, कुल देवताको थान र घरका भित्तामा मिथिला चित्र बनाउँथे। हजुरआमा र आमाहरूलाई सहयोग गर्दागर्दै उनले पनि सिकिन्। चित्र कोर्दा उनलाई आनन्द लाग्थ्यो। उनी भन्छिन्, “जान्ने भएदेखि चित्र बनाउथेँ। मैले बनाएको चित्रलाई मिथिला चित्रकला भन्दोरहेछ, विवाहपछि श्रीमानले भनेपछि बल्ल थाहा पाएँ।”
विवाहपछि चित्रकला उनको व्यवसाय बन्यो। श्रीमान् पनि चित्रकलाकै व्यवसाय गर्ने हुँदा यसमा जम्न सहज भयो। तर उनले अनेक हण्डर खान थालिन्। उनले बनाएका चित्रलाई कतिपयले भारतको जयपुरदेखि किनेर ल्याएको आरोपसमत लगाउँथे। कतिपटक उनका सामान स्टलबाट खसालिदिए। तिरस्कार गरे।
“हरेक व्यक्तिको एकपटक समय आउँछ, मेरो पनि एक दिन राम्रो समय आउनेछ भनेर निरन्तर काम गरिरहेँ,” उनी भन्छिन्।
विवाहपछि लगालग दुई सन्तानकी आमा भइन्। तर चित्रकला छाडिनन्। छोराहरू हुर्कंदै गएपछि राम्रो शिक्षाको खोजी गर्दै २०६६ सालमा परिवार नै भक्तपुर आए।
२०६९ सालमा घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वरले काठमाडौँमा २४औँ राष्ट्रिय औद्योगिक प्रर्दशनी गरेको थियो। त्यसमा सरिताले उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार पाइन्। त्यसले उनको मनोबल बढाइदियो। पुरस्कार पाएपछि एक हप्ताको लागि भारत भ्रमणको अवसर पनि पाइन्।
‘मिथिला नारी हस्तकला सेन्टर’को नामले मध्यपुर ठिमीमा १५ वर्षदेखि उनको व्यवसाय चलिरहेको छ। उनको पसलमा नेपाली कागजमा मिथिला चित्र कोरिएका १५ प्रकारका ऐना, महिलाले प्रयोग गर्न मिल्ने १५ प्रकारका ट्रे, घरका भित्ता सजाउने चित्रलगायत वस्तु पाइन्छन्। उनको हस्तकला सेन्टरले बनाएका सामान भारतसहित अमेरिका, फ्रान्स, जापान, अस्टे«लियाका बजार पुगिसकेका छन्।
उनीहरूले भक्तपुर र धनौजीमा गरेर १० जनालाई रोजगारी दिएका छन्। “मिथिला चित्रकला संस्कृतिसँग जोडिएको छ। यो मधेशीको मात्र होइन, नेपालको संस्कृति हो,” उनी भन्छिन्।
जसले अल्लोलाई ‘सुन’ र हेम्पलाई ‘चाँदी’ बनाइन्
दाङकी प्रेमकुमारी पुन (६१) अल्लो र हेम्पका उत्पादनबाट चिनिन थालेकी छन्। उनले आफ्ना उत्पादनलाई विभिन्न जिल्लादेखि संघीय राजधानी काठमाडौँसम्म पुर्याएकी छन्।
प्रेमकुमारीले २०६० सालदेखि अल्लो र हेम्पका वस्तु उत्पादन गर्न थालेकी हुन्। उनले २ लाख ५० हजार रुपैयाँ लगानीमा व्यवसाय थालेकी थिइन्। त्यसयता उनले लगातार व्यवसाय विस्तार गरिरहेकी छन् र धेरैलाई रोजगारी पनि दिएकी छन्।
कुनै बेला उनी रोल्पामा पूर्वप्राथमिक तहकी शिक्षिका थिइन्। तर तत्कालीन सशस्त्र विद्रोहका कारण थातथलो छोड्नु पर्यो। उनी परिवारसँग रोल्पाबाट दाङ झरिन्। “बिहान निस्केपछि साँझ घर पुगिन्छ कि नाई? साँझ खाएर सुत्यो बिहान जिउँदो उठिन्छ कि नाई? दुइ ढुंगाको तरुल जस्तो भएका थियौँ,” उनी भन्छिन्।
उनका श्रीमानलाई तत्कालीन शाही सेनाले माओवादीको सुराकी भएको आरोपमा पटकपटक यातना दिएको थियो। श्रीमान् पनि सरकारी शिक्षक नै थिए। तर ज्यानजस्तो ठूलो जागिर होइन भन्ने भएपछि दाङको घोराही उपनगरपालिका–१४ सिर्जनशील टोलमा बसाइँ सरे।
प्रेमकुमारीलाई दाङमा त्यत्तिकै बस्न मन लागेन। बाल्यकालमा आमाले अल्लो धागोले बुनिदिएको कपडा लगाइदिने गरेको सम्झना थियो। अल्लो कपडा बनाउने र लुगा सिउने सीप आमाबाटै सिकेकी थिइन्। त्यही काम थालिन्। अल्लो र हेम्पका बस्तु उत्पादनका लागि उनले ‘महिला साझेदारी अल्लो उद्यम’ खोलिन्।
२०७२ सालको भूकम्प अगाडिसम्म उनको व्यवसाय राम्रोसँग चलेको थियो। अहिले भने पहिलेजस्तो व्यापार नभएको उनी सुनाउँछिन्। “काठमाडौँमा महिनामा १५ क्विन्टल धागो दिन्थेँ। मलाइ अल्लोको डन भन्थे,” उनी भन्छिन्, “तर भूकम्प अनि कोभिडपछि तयारी पोसाक मात्र गरेको छु।”
उद्यममा चाहिने कच्चा पदार्थ उनले रुकुम, रोल्पा, दार्चुला, डोटी, डडेलधुरा, दैलेखबाट ल्याउँथिन्। हाल उनको उद्यममा ३५ जनाले रोजगारी पाइरहेका छन्। उनलाई घरेलु तथा साना उद्योग कार्यालयले उत्कृष्ट उद्यमीको रूपमा २०७१ र २०७३ सालमा सम्मान गरिसकेको छ।
उनी सानै छँदा उनकी आमा अल्लोलाई सुन र हेम्प (गाँजा)लाई चाँदी भन्ने गर्थिन्। आज उनले वास्तवमै अल्लो र हेम्पलाई सुन र चाँदी समान मूल्यवान बनाएकी छन्। अहिले उनी आफ्ना सामानको प्रबर्द्धन गर्न मेला, महोत्सवतिर पनि पुगिरहन्छिन्।
ढाका कपडाले बनायो उद्यमी
तेह्रथुमकी चन्दा कुरुम्बाङ (४५) ले ढाकाका कपडा उत्पादन गर्न थालेको एक दशक भयो। अहिले आफ्नै नाममा बैंकमा खाता हुँदा र त्यसको चेक काट्दा आत्मसन्तोष हुने उनी बताउँछिन्।
चन्दाले लघु उद्यम कार्यालयबाट तालिम लिएर व्यवसाय थालेकी थिइन्। लघु उद्यम कार्यालय तेह्रथुमले २०६१ सालमा फेदापमा ढाका बुन्ने तालिम दिएको थियो, त्यसैले आफ्नो जिन्दगी रूपान्तरित गरेको उनको भनाइ छ।
तालिममा लिएको सीपलाई उनले कोठामा एउटा तान राखेर उपयोग गर्न थालेकी थिइन्। त्यति बेला सब्जी पसल गर्थिन्, त्यही पसलमा आफूले बुनेको लुगा झुण्ड्याएर व्यवसाय शुरूआत गरिन्। अहिले ‘अनुग्रह ढाका उद्यम’को नाममा व्यवसाय सञ्चालन गर्छिन्। उद्योगमा १५ वटा तान छन्। तान बुन्न आफू पनि खटिन्छिन्।
चन्दाले शुरूआतमा उत्पादन गरेका चौबन्दी, गलबन्दी र रुमाल बेच्न धरान लैजान्थिन्। तर सामानले मिहिनेत अनुुसारको मूल्य पाउँदैनथ्यो। अनि उनले आफ्नो बजार आफै खोज्न थालिन्।
आफूले उत्पादन गरेका उत्पादन सब्जी पसलमा झुण्ड्याउँदा बिस्तारै बिक्न थाल्यो। “दिदीबहिनीले किनिदिनुहुन्थ्यो, अनि सामान बनाउने स्फुर्ती बढ्यो। बुन्दै गएँ, व्यवसाय बढ्दै गयो,” उनी भन्छिन्।
चन्दालाई हिम्मतिलो बनाउन उनका श्रीमानले पनि सघाए। बजार खोज्न र काठमाडौँसम्म पुर्याउन साथ दिए। हालसम्म यो सहकार्य चलिरहेको छ। उद्योग वाणिज्य संघको औद्योगिक प्रर्दशनी, याक एण्ड यति र होटल अन्नपूर्णलगायत ठाँउमा तेह्रथुमलाई प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको उनी बताउँछिन्।
कोभिडपछि उनको व्यवसाय ओरालो लाग्यो, अहिले पनि राम्रोसँग लय समात्न सकेको छैन। आफूले जसोतसो धानिरहेको उनी बताउँछिन्। आफूलाई यही उद्यमले चिनाएको कारण यही क्षेत्रमा थप काम गर्ने उनको जाँगर छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
