अहिले घण्टी–नेता रवि लामिछानेको थुना प्रसंगमा आए पनि ‘तपाईंको अन्तिम इच्छा के छ?’ भनेर कसैले क. केशरलाई चीनको छिनाई मिन्जु युनिभर्सिटीमा एउटा पाठ पढिरहेका बेला सोधिसकेको रहेछ।
जन्मसिद्ध नाम—नुनिन्द्र दुलाल। भूमिगत नाम—केशर पहाडी। स्वरचित नाम—नरेन्द्रजंग पिटर। तैपनि, कहिले आफूले पाएको तिथि–पलाको नाममा ‘विश्वास’ रहेन। कहिले पार्टीपंक्तिले दिएको नाममा ‘भरोसा’ रहेन। कहिले भने ‘आखिर नाममा के छ (?)’ भन्दै बतासे बन्ने हुटहुटीले समय बतासझैँ बनिरह्यो। जीवनभरको यो भाग दौडपछि बल्ल थाहा भएको छ—यो सब भुलभुलैया रहेछ, पानीको फोका!
२०२४ सेप्टेम्बर ९–१९। सिंघाइ राज्य, विदेश मन्त्रालय विभागको निम्तो र नेपाल–चाइना मिडिया फोरमको संयोजनमा काठमाडौँ–ग्वान्जाओ–सिनिङ उडान पार गर्दा हत्तुहैरान भइसकेका थियौँ। सिनिङको वन्डा–भिस्टा होटेलमा बास बस्ने हामी १० जना यात्रुको नामावली विदेश मन्त्रालयका अधिकारीले पाठ गर्नासाथै भीडमा कसैले सोध्यो— ‘खोइ त, हाम्रा माओ–बा? उहाँको नाम त आएन नि…!’
हो, कथा यहीँबाट शुरू हुन्छ— माओ–बा अर्थात् पिटर, नुनिन्द्र, केशर र नरेन्द्रजंगको। कुनै जमानाका माओवादी योद्धा, पार्टीपंक्ति र शीर्षस्थका निकटस्थ र फित्ते झोलामा ‘द रेड बुक’ बोकी हिँड्ने नरेन्द्रजंग पिटर यात्रा टोलीका सबैभन्दा वरिष्ठ थिए— उमेर र अनुभवमा। बोलचाल र चिनाजानीमा सबैले ‘पिटर’ भनिटोपल्ने उनलाई नुनिन्द्र भनेर बोलाएको कसले पत्तो पाउने र?
स्वभावतः सहयात्रुको भीडमा कुनै बेलासम्म कम्युनिस्ट पार्टीभित्र समाजवादको ‘ह्याङओभर’ बोकेर हिँड्नेहरू पनि थिए। वामपन्थ भन्ने पाठको पुरानो सुगा–रटाइका कारण ‘मुठ्ठीभर सामन्तको बलिन्द्र पन्जा’ टाइपका सुन्दैमा हिंस्रक खालका शब्दावली प्रयोग गर्ने गुरुजन पनि थिए नै। भीडमा मिसिएका केही युवा पत्रकार समेत उहिले विद्यालय पढ्दाताका अनेरास्ववियूको कक्षाकोठा कमिटीमा सदस्य बनेर पुर्याएको छलाङयुक्त योगदानको खुलेरै चर्चा गरिरहेका हुन्थे।
माओको देशमा पाइला टेकेपछि सकेसम्म आफूले जाने बुझेका चिनियाँ कम्युनिस्ट बारेका पुस्तक वा फिल्मका शीर्षक मात्रै भए पनि सुनाउने लहरै सुरु भएको थियो। याङ्मोका गीतहरू, लु–सुनका कथा, द ड्रागन गुरिल्ला, द गुड अर्थ, थ्रि डटर्स अफ चाइना, द रेड बुक, सङ अफ युथ वा अरू यस्तै केही सुन्ने–सुनाउने अभ्यास राम्रैसँग चलेको थियो। चिनिया सन्दर्भका सामग्री वा विषयवस्तुका शीर्षक मात्रै भए पनि सुनाउने होडमाझ लेखक झलक सुवेदी र पिटर मात्रै अलग लाग्थे, जो विषयको गाम्भीर्यमा बहस गर्न रुचाउँथे। एकान्त भेट्यो कि माओदेखि सिनपिङसम्मका दिमागी अन्तर्वस्तु उधिन्न उनीहरू व्यस्त देखिन्थे। यस्ता यात्रामा जनसम्पर्क र सम्बन्धको प्रभाव जोडिराख्न अब्बल पत्रकार किशोर श्रेष्ठ भने सिंघाइ लेक छेउछाउ भए पनि वा युशुको बातांङ एयरपोर्टभित्रै पनि मोबाइल संवादमा व्यस्त देखिन्थे। कहिले चिनिया र कहिले अंग्रेजी–नेपालीका संवादहरूमाझ कहीँ न कतै जनआस्था पत्रिकाको नाम आएकै हुन्थ्यो।
केही वर्ष अघिसम्म सकेसम्म आफ्नै चिनिया भाषा मात्रै बोल्न चाहने (वा, देखाउने) चिनियाँहरू अहिले बोलचाल र भाषाको माध्यममा सक्दो अंग्रेजी प्रयोग गर्ने अभ्यासमा हुर्कँदै रहेछन् भन्ने बोध हुन्थ्यो। तर, कतिपय शब्द उच्चारणमा कठिनाइ भएको हो किझैं लाग्थ्यो। जस्तो, केही चिनियाँहरू काठमाडौँलाई च्याटमान्डू भन्थे, पोखरालाई पोखला भन्थे। पत्रकार केपी (कृष्णप्रसाद ढुङ्गाना) लाई ‘खप्पी’ र पत्रकार कृष्णमुरारी (भण्डारी) लाई ‘खिस्नमलाली’ भनेको समेत सुनियो। शायद 'र' उच्चारण उनीहरूका लागि त्यति सह नभएर पो हो कि!
सहयात्रीको भीडमा पत्रकार शिवकुमार भट्टराई सधैंजसो शान्त मुद्रामा देखिन्थे, गोरखापत्र पत्रिकाको आगत–विगत सम्झन र सुनाउन उनी लालायित हुन्थे। भ्रमण टोलीमा पत्रकार दीपक सापकोटाको चिनारी विशिष्ट थियो, चलिरहेको टुरिस्ट बसमा कुनै कारणले दीपकको हाँसो फुत्क्यो भने बसका चालकले आत्तिँदै गुडिरहेको गाडीमा ब्रेक लगाएको क्षण पनि बेहोर्नुपरेको थियो। उनको अभक्ष टाइपको हाँसोलाई हरक्षण सराहना गर्नेमा पत्रकार भरतराज पोखरेल र वरिष्ठ अधिवक्ता शंकरप्रसाद सुवेदी मात्रै हुन्थे।
पिटर: क. केशर पहाडी
एकवारको जुनीमा कहाँ, कहिले र कुन तरतिबको बाटो कसरी हिँडिएको रहेछ भन्ने हिसाबकिताब निकाल्नु छ भने उमेरको ७० छेकका नरेन्द्रजङ्ग पिटरको पुस्तक ‘बकपत्र’ पढे पुग्छ। कम्युनिस्ट र त्यसमा पनि माओवादी कट्टर पन्तको ‘ह्याङओभर’ अस्ति भर्खरसम्म बोकेर हिँडेका तर अहिले सबै वाद, विचार र पन्थलाई बिसाएर पुरापुर नुनिन्द्र दुलाल बनेर हिँडिरहेका यी अग्रजलाई सहयात्रु भीडबाट फेरि कसैले बोलाइहाल्थ्यो— ‘ए, खोइ त हाम्रा माओ–बा?’
यो सुनेर बा अर्थात् नुनिन्द्र खिसिक्क हाँस्थे। भुलिसकेको माओवाद विगतलाई सबैभन्दा बढी कोट्याउनेमा ‘ओपेन सेक्रेट’ लेखक खप्पी बढी हुन्थे। नाङ्ले पसलझैँ चलेका यी वादहरू, माओ, प्रचण्ड वा कथित क्रान्तिले अझै केही गर्न सक्छ भन्ने ‘भुलभुलैया’ कहींकतै विषय वा प्रसङ्गमा फुत्किहाल्यो भने पनि त्यो बातको नसा च्याप्प समाएर पत्रकार केपी ढुङ्गाना सोधिहाल्थे—“होइन माओ बा, तपाई किन भ्रममा बाँच्नुभएको? अझै कति भ्रममा बाँच्ने?’
फेरि फिस्स हाँस्थे नुनिन्द्र दुलाल उर्फ क.केशर पहाडी। कुनै समय थियो— यिनै कमरेड केशरको पार्टी सक्रियतालाई परख गर्न क. विश्वास र क. बादल चितवन, भन्डारा पुगेका थिए। ‘बकपत्र’मा आएको वृत्तान्तअनुसार, माओवादी जनक्रान्तिका ती अभियन्ता विश्वास (पुष्पकमल) र बादल (रामबहादुर) आखिर कुन गर्तमा डुबिसकेका छन् भन्ने कथानक क.केशरले भन्दा बढी राम्ररी कसरी बुझेको होला र?
एक चोटि पूर्व माओवादी छलाङी नेता बाबुराम भट्टराईले क.केशरलाई सोधेका रहेछन्— ‘यति छिट्टै माओवादी कसरी पतन भयो त?’
अहँ जवाफ थिएन–न प्रश्न गर्नेसँग, न त जवाफ दिनेसँगै। यो ‘ओपेन सेक्रेट’ थियो, जवाफ दिनै नपर्ने खालको जवाफ। ‘म त प्यासेन्जर थिएँ, ड्राइभर त उनीहरू थिए’,मुड चलेका बेला क.केशर सुनाउँथे—‘हामीले, हामीकहाँ कहिले कम्युनिस्ट आन्दोलन लडिएको थियो र? हामीकहाँ सत्ता उक्लने भर्याङ मात्रै बन्यो विचार।’
माओवादी क्रान्तिका क्रममा मेसेन्जर भएरै रुकुम–रोल्पामा ६ वर्ष बसेका र चर्को विचारक बनेर हिँडेका क.केशर एकताका सिंहदरबारमा माओवादी सत्तामा छँदा सञ्चार मन्त्रीका सल्लाहकार समेत भएका थिए। तर, सिंहदरबारभित्रै शासकीय रमिता र कथित माओवादी अभियन्ता/विचारक कमरेडको सत्ता शक्ति–भक्ति देखेर उनी हदैसम्म बिरक्तिएका रहेछन्।
“यही जुनीमा संसारलाई फेर्छु भनेर हिँड्नुभएको थियो, किन माओवादी पार्टी छाडेर बितरागी बन्नुभएको त?’’,एक अपराह्न उनै पत्रकार खप्पी (केपी) ले क.केशरलाई सोधेका थिए, चिनिया बियर पिएपछि।
“हत्तेरी, मैँले पार्टी छाडेको नभई मलाई पार्टीले छाडेको हो। जुन पार्टीमा म थिएँ, त्यो ट्रेडमार्क मात्र बनेपछि त्यहाँ रहनुको कुनै अर्थ र औचित्य रहँदैनथ्यो। लेखेको र बोलेको कुरामा नैतिक बल हुँदैनथ्यो। हिजोका लिखतहरूले जिस्क्याइरहन्थे।’’, कुनै माओवादी दस्ताबेज पढेझैँ क.केशरले जवाफ दिएका थिए।
आभासको गीतझैँ— संसारलाई फेर्छु भन्थ्यो, आफै फेरिएछ !
अन्तिम इच्छा: द येलो रिभर
अहिले मात्रै घण्टी–नेता रवि लामिछानेको थुना प्रसंगमा आए पनि ‘तपाईँको अन्तिम इच्छा के छ?’ भनेर कसैले क.केशरलाई चीनको छिनाई मिन्जु युनिभर्सिटीमा एउटा पाठ पढिरहेका बेला सोधिसकेको रहेछ।
यति भन्नासाथै नुनिन्द्र उर्फ क. केशरले संसारकै सभ्यताको एउटा उद्गमविन्दु ह्वाङहो छुन पाए हुन्थ्यो भनेर मनचिन्ते खोलिसकेका थिए। अर्थात्, येलो रिभर क. केशरको अन्तिम इच्छा रहेछ। अनि त, येलो रिभरका पत्रपत्र खुलिहाले। मानौँ–गुगल सर्चमा भर्खरै कसैले येलो रिभरको वृत्तान्त हालिदिएको छ।
“सम्भवतः विद्यालय छँदा पढेको हो मैँले। किम इल सुङकी आमा ताम माङ सोकको जीवनी मेरो झोलामा भेटेको थिएँ, ८ कक्षामा। कसले हालिदिएको हो, थाहा भएन,” उनी भन्दै थिए– “कमरेड माओले येलो रिभर तरेको कहानी पनि रेडबुकमा पढेका थिए। त्यो पढ्दा र येलो रिभर नाम सुन्दा मात्रै पनि जीवनमा एउटा उन्माद पलाएको थियो।”
इन्डो–इन्डिज, मिश्र र युनानका अनेक सभ्यताका आधारहरू अधिकांश नदी केन्द्रित रहेको भनेर पढ्दै गर्दा चिनियाँहरू ह्वाङहो सभ्यताअन्तर्गत रहेछन् भन्ने उनले सुनेका र बुझेका रहेछन्। विशेषतः पटना र रक्सौलमा बसेका बेला हिन्दी साहित्य सामग्री पढ्दै गर्दा र रेड बुकमा पनि ह्वाङहो सभ्यताबारेमा उनले येलो रिभर कण्ठस्थ गरेका रहेछन्। सभ्यता र दुःखको मुहानको कथानक पछि गुगलमार्फत कुनै सामग्री पढेका रहेछन्।
“म इलाहाबाद छँदा त्रिवेणी गंगामा तैरिएँ, यता येलो रिभरमा पानी छुन पाएँ। मेरो अन्तिम इच्छा पूरा भयो, जुनी सफल भयो,” क.केशरले सुनाए।
यात्रा तुर्याएर घर फर्कँदै गर्दा ग्वान्जाओ एयरपोर्टको काठमाडौँ ट्रान्जिटमा आएपछि कसैले फेरि छुस्कर शैलीमा सोद्दिहाल्यो— नुनिन्द्र दुलाल उर्फ क.केशर पहाडी, उर्फ नरेन्द्रजंग पिटरलाई।
‘ए माओ–बा, कस्तो रैछ त चाइना?’
‘कहीँ कुनै दस्ताबेजमा पढ्न नपाएको र नसुनेकोझैँ अद्भुत रैछ चाइना!’, कविता नलेख्ने कविको शैलीमा जवाफी बने माओ–बा।
आफूलाई सधैँ–सधैँ नाफाको जिन्दगी जिइरहेको छु भन्ने नरेन्द्रजंग पिटरको अन्तिम इच्छा पनि यसरी पूरा भयो यो पाला।
धन्यवाद येलो रिभर !
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
