हिजो र आजका घर छोडेर हिँड्नेहरू

घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ।

निकै वर्षअघि तेह्रथुम जिल्लाको आफ्नो गाउँ साबला छोडेर हिँडेको अनुभूति र अहिलेको अवस्थाबारे लेख्ने सन्दर्भ पर्‍यो। यो विषयले मलाई निकै हल्लायो किनभने यो आफ्नै जीवन यात्राको मूल प्रश्न थियो। हिजोको कुराबाट इतिहास उठान मात्र गरेको हुँ। आफ्नै कथा लेख्ने सिलसिला छ। घर छोडेर हिँडेको आफ्नो कथा र अनुभवले अनेकौँ मोड लियो। अहिले फर्केर हेर्दा आफ्नै जीवन कथामा नेपालको पछिल्लो इतिहासले लिएका गतिहरू देख्छु र घर छोडेर हिँड्ने युवाहरूले कसरी त्यस्तो इतिहासको रचना गरे भन्ने कुरा राम्ररी बुझ्न सक्छु। 

काठमाडौँको झोछे टोलमा भएको एउटा सानो घटनाबाट शुरू गर्छु हिजो घर छोडेर हिँड्नेहरूको कथा। त्यो घटना एउटा भेट थियो र पहिलो परिचयको अवसर थियो। काठमाडौँ आएपछि मैले काठमाडौँ शहरभित्रको झोछे टोल र स्वयम्भूमा अनेकौँ विदेशीहरू भेटेँ। कतिसँग मित्र भएँ। तिनको विषयमा यो लेख लेखिएको होइन तर तिनीहरूबाट नै घर छोडेर हिँड्नेको कथा शुरू गर्छु। त्यो भेट अकस्मात् नै नभनौँ, चाहेरै भएको घटना थियो।

मैले एक जना पर्यटक भेटेँ त्यहाँ। त्यो एक सहज भेट थियो। ती पर्यटक त्यो बेलाको मेरै उमेरका लक्का जवान थिए। मेरो पहिरन साधारण थियो। जाडोको बेला भएकोले एउटा अनौपचारिक तर न्यानो ज्याकेट लाएको थिएँ। त्यो पनि केही दिन पहिले झोछेमै सस्तोमा भेटेको थिएँ। ती मानिसले भने अलिक फिलिली हुने लुगा लगाएका थिए। ती जटाजुटधारी साधु थिएनन्। तर तिनको लामो केश राशिले तिनको मुहार केही छोपिन्थ्यो। तीसँग मित्रता भयो। अलिक बाक्लो गरेर भेट हुन थाल्यो। म त्यो बेला सहरको बाङ्गेमुडामा बस्थेँ।

पछि ती मेरा निकै नजिकका मित्र भए। झोछेको कुनै घरको भुईँ तलामा तिनले आफ्नो कोठा देखाए। उनीहरू दुई जना बस्थे क्यारे। उनले एक महिला साथीसँग पनि परिचय गराए। उनको कोठाको भित्तामा मण्डलाका नमिलेका चित्रहरू बनाइएका थिए। अनि एसिड भनेर लेखिएको थियो अनेकौँ ठाउँमा। यो छोटो लेखमा यहाँ खालि एउटा कुरा मात्र राख्न चाहन्छु। कुराकानीको निचोडमा थाहा भयो, अमेरिकाको कुनै ठुलो शहरको घर छोडेर, उनको भनाइमा, मुक्तिको खोजीमा हिँडेका रहेछन् उनी। तर त्यसरी हिँड्नेमा उनका निकै जना साथीहरू पनि रहेछन्। मलाई उनले घर छोडेर हिँडेको कुराले छोयो, किनभने म पनि घर छोडेर हिँडेको थिएँ। तर मैले घर छोड्नु र तिनले छोड्नुका कारण र प्रकृति फरक थिए।

फेरि अर्को अर्थमा ती कारण उस्तै पनि थिए। उनले मुक्तिको लागि घर छोडे अनि सरल जीवन भेटेँ भन्ने विश्वास लिए। मैले शिक्षाको निम्ति घर छोडें तर मेरो खोजी अलिक निश्चित लक्षले बनिएको थियो। मलाई आफ्नो जीवनको केही व्यवस्था मिलाएर पढ्नु थियो। उनलाई व्यवस्था भङ्ग गरेर पढाइजस्ता प्रपञ्च छोड्नु थियो। तिनलाई अरूले हिप्पी भन्थे। म एउटा लेखक थिएँ र छु। मैले तिनको र तिनले मानेका लेखकका केही साहित्य पढेको थिएँ। त्यसमा केही बीच पुस्ताका लेखक थिए। कथा लामो छ। कुरा के भने त्यो बेला विश्वका अनेकौँ ठाउँमा युवाहरूले घर छोडे। अनेकौँ कारणले छोडे, तर छोडे। यस लेखमा मैले घर छोड्नुका केही कुराहरू लेख्न लागेको छु।

राम्ररी उज्यालो भई नसकेको बिहान आँखा मिचेर जुरुक्क उठेँ। तेह्रथुम साबला गाउँको घरको खुला ढोकाबाहिर आकाशको दृश्य हेर्न लायकको थियो। वैलाउँदै जान लागेका तारकहरूका झुन्डहरू देखिए। आधी जूनको उज्यालो निस्तेज भइरहेको थियो। जाडोको याम थियो। तर मलाई अर्कै किसिमको न्यानोको अनुभव भइरहेको थियो। माथि भोटेछापतिरको फैलिँदो पहाडमाथि मेरा आँखा थिए।

मलाई लाग्यो–अब मेरो बाहिरी यात्रा हुनेछ। मेरो महाभिनिष्क्रमण बुद्धको जस्तो हुनेछैन। म मेरो घर परिवेशलाई मायाले नै छोड्ने छु। आमाले नै बिदा दिनुहुनेछ। अनि म त्यही बिहान झोलासोला बोकेर घर छोडेर निस्किन्छु। खोजी थियो उच्च शिक्षाको। म्याट्रिक पास गरेको केही महिना भएको थियो। अठार वर्षको थिएँ। अगाडिको बाटोको एउटा निश्चित आकार थिएन। तर सपना र योजनाको एउटा खजाना भने बोकेको थिएँ। मैले घर छोडें किनभने पढ्ने चाहना भएको, जीवनमा उज्यालोको खोजी गर्नुपर्छ भन्ने सपना बनाएको तेह्रथुम साबला गाउँको त्यो युवकको घर छोड्नु एक मात्र कर्म थियो।

केही वर्षपछि अर्को पटक फेरि त्यही घर छोडें। त्यसै गरी आमाले बिदा दिनुभएको थियो। तर म अर्कै भई सकेको थिएँ अनि मेरो समय र नेपालको राजनीति अर्कै भई सकेको थियो। यहाँ त्यसको छोटो कथा लेख्छु।

सन् साठीको दशकको अन्तिमतिरको कुरा हो। यो सन् १९६७ को वर्ष अथवा विसं २०२४ सालतिर हुनुपर्छ। म काठमाडौँमा अंग्रेजी विषयमा एमए पढ्न आइपुगेको थिएँ। मैले यो भन्दा अगाडि पनि शिक्षाको निम्ति घर छोडेको थिएँ जुन माथि लेखेँ। एसएलसी पास गरेपछि तेह्रथुम लिम्बुवानमा पढ्ने कुनै कलेज थिएन। हिँड्नै पर्थ्यो। आइए र बीए पढ्न विराटनगर र धरानमा कलेजहरू थिए अनि त्यतातिर खर्चबर्चको पायक पर्ने हुनाले आमाको आदेश र योजना अनुसार त्यतैतिर झरेँ। काठमाडौँ र दार्जीलिङ्तिर गएर विज्ञान पढ्ने अर्को पाटो थियो। त्यो मेरो निम्ति थिएन।

मैले विराटनगर र धरानका कलेजमा आइए र बीएको अध्ययन गरेँ। विद्यार्थी राजनीतिमा पनि चाख भएको अनि यी तहमा पढाइने अङ्ग्रेजी र नेपालीका पुस्तक पनि सजिला लाग्ने–यस्तै कुराले मलाई उतैतिर अध्ययन गरेर डिग्री हासिल गर्नु सजिलो थियो। साहित्यमा चाख मात्र होइन, लेख्ने पनि गर्थेँ। काठमाडौँ नै नदेखी उतैबाट राजधानीका साहित्यिक पत्रिका, खास गरी 'रूपरेखा'मा लेख पठाएर प्रकाशित गराउँथे। प्रकाशित भएर पत्रिका म्याङलुङ बजारमा जाँदा आश्चर्य र खुसी लाग्थ्यो। धरानमा कलेजका विद्यार्थी र केही शिक्षकमा विरोधी राजनीति गर्ने प्रवृत्ति थियो। राजा महेन्द्रले प्रतिपादन र लागु गरेको पञ्चायती शासन प्रणाली थियो। त्यसमा व्यवस्थाको विरोधमा अनेकौँ विचार लिएर सक्रिय हुने विद्यार्थी थियौँ हामी।

राजनीतिक दलहरूसँग खासै मतलब थिएन। तर तिनीहरू हामीकोमा आइपुग्थे र आफ्ना प्रचार गर्थे। मैले खास गरी धरानमा पढ्दा विचार र अध्ययनको अनौठो रचना गरेको थिएँ। त्यहाँ एउटा निकै ठुलो ब्रिटिस पुस्तकालय थियो। आफूले कहिल्यै नदेखेका विषय र किसिमका अंग्रेजी भाषाका किताब त्यहाँ आउँथे। अघिल्लो पुस्ताका बीए कृष्णजस्ता वामपन्थीहरूले खोलेको एउटा सानो पब्लिक पुस्तकालय पनि थियो त्यहाँ। त्यहाँ नेपाली साहित्य र पेङ्गुइन् प्रकाशनका किताब राखिएका थिए। म ती पढ्न सक्थेँ। तेह्रथुम सिंहबाहिनी हाइस्कूलमा पढ्दा नै लिम्बुवानमा क्रिस्तानी धर्म प्रचार गर्न सकिन्छ कि भनेर आइपुगेका वा पठाइएका दक्षिणी भारत केरलातिरका दुई वटा युवक र एक जना तामिल साधुको अनौठो संयोगले सात कक्षादेखि नै अंग्रेजी भाषा सिक्ने अवसर पाएको थिएँ। म तिनको नजिकको विद्यार्थी थिएँ।

धरानमा विद्यार्थी राजनीति चर्को थियो। म युनियनमा जेनरल सेक्रेटरी चुनिएको थिएँ। तर मलाई वामपन्थी नेताहरूको निर्देशनमा काम गर्न मन भएन। अनि केही साथीहरू लिएर लियोन ट्राटस्कीका विचार बुझे जति पढेर एउटा समूह बनायौँ। बिपी कोइरालाका लेखहरूमा अराजकतावाद प्रतिको मोह भएका सानातिना व्याख्या पनि पढ्यौँ। यी सबै खोजेर साथीहरूलाई पुर्‍याउने काम मेरो थियो। एक पटक अलि उग्र पनि भयौँ।

गोली र धरपकड छल्न रातभरि हिउँदे जाडोमा चारकोसे झाडी पैदलै हिँडेर बिहानै भुकभुकेमा बिहारको बीरपुर पनि पुग्यौँ। यी सबै कुरा पहिले पनि संस्मरणहरूमा लेखिसकेको छु। पछि बिस्तारै राजनीतिसँग पूरै मोहभङ्ग भयो। बीए पास गरेपछि केही समय तेह्रथुम हाइस्कूलमा पढाएर बस्दा मलाई थाहा भयो–म खोजीको क्रममा निकै लागेछु अनि त्यस क्रममा केही थकित पनि भएछु। आमाको सल्लाहले अब उच्चशिक्षा हासिल गर्न जाने निर्णय गरेर काठमाडौँ आएँ। क्रान्तिकारी, अराजक आदि विचार लिएर हिँड्ने भए पनि ममाथि आमाको प्रभाव धेरै थियो। पिताजीलाई नाबालक हुँदै गुमाइसकेको थिएँ।

त्यो पटक घर छोड्ने सिलसिला मेरो दोस्रो महाभिनिष्क्रमण थियो।

दोस्रो पटक मैले घर छोडेर काठमाडौँ आएको बेला नेपालमा युवाहरूको अवस्था चाखलाग्दो मोडमा थियो। तर म भने पटक पटक घर छोडेर काठमाडौँमा आइपुग्दा पूरै रित्तो भएको थिएँ। मसँग न कुनै क्रान्तिका सपना बाँकी थिए, न कुनै योजना थिए। राजनीतिक वैचारिक सिद्धान्तहरूको ममाथि कुनै प्रभाव थिएन। अराजकताको मोह भने बलियो थियो। धेरै पहिले युवा अवस्थामा योगीहरूको प्रभाव थियो। तर लाग्यो त्यो पनि अब खासै बाँकी थिएन। म एउटा रित्तो मन लिएर हिँड्थेँ। घर छोडेर शिक्षाको खोजीमा हिँडेको म एक विस्थापित जस्तै थिएँ–स्वेच्छा र परिस्थितिले। मजस्तै घर छोडेर हिँड्ने सयौँ युवाहरूको अवस्था त्यस्तै थियो। अब बाँकी खोज्नुपर्ने विषयमा जीवनको एउटा भोग्न लायकको पद्धति थियो। एउटा शिक्षाको मोड र अवस्थाको चित्र अनि केही न केही भविताको आकार पहिल्याउनु पर्ने आवश्यकता थिए मेरा र हामी युवाका। देशमा एकतन्त्री पञ्चायत शासन थियो। तर पनि युवाहरूले राजनीतिमा स्वतन्त्र छौं भन्न छोडेका थिएनन्।

मैले यही मन रित्तिएको, भविताको रूप स्पष्ट नदेखिएको र आफूले पहिले पालेका क्रान्तिकारी र युटोपियाका चेतनाले काम नदेखिएको अवस्थामा काठमाडौँमा माथि भनेको हिप्पी मित्रजस्तै युवायुवतीहरू भेटेको थिएँ। मेरो रित्तिएको मनभरि तिनीहरू चक्रवातजस्तै गरेर पसेका थिए। घर छोडेर हिँड्नेको ऐक्य थियो त्यहाँ। त्यो एक ग्लोबल वा वैश्विक विषय थियो। पछि घर छोडेर हिँड्नेले सङ्गीत, कविता, चित्रकला र दर्शनमा अर्कै किसिमका आफू खुसी हुने आलम्बनका आधारहरूका रचना गरे।

ती त्यस्ता परिवेशमा धेरै अटाउन सक्थे र तिनले वैश्विक कुटुम्बको भावना जगाउन र बनाउन सक्थे। काठमाडौँमा यी पश्चिमी र केही एसियाली देशका युवाहरूको निकै ठुलो उपस्थिति थियो। त्यो बेला क्रमिक रूपमा नयाँ नयाँ चेतना र कारण लिएका युवायुवतीहरू आए यहाँ। म नेपाल उपत्यकाको कुरा गर्दैछु। भियतनाम युद्धबाट निस्केका र मोहभङ्ग भएका युवाहरू आए। अर्को चाखलाग्दो घटनाको चेतना लिएर युवाहरू आए। प्यारिसमा मे महिना २०६८ मा उठेको एक फ्रेन्च क्रान्तिको प्रभाव र तरङ्ग ल्याएका थिए तिनीहरूले।

एक वर्ष पहिले आउने हिप्पी युवाहरूका विचारका तरङ्गसँग ती नयाँ तरङ्गहरूको मेल थियो। यो विषयमा काठमाडौँमै अनेकौँ भेट र सेसनहरूमा हिप्पी कवि क्रिस्टोफ, अर्का कवि, लेखक र पूर्व भेल्भेट समूहका ड्रमर एङ्गस् म्याक्लिस् , चिन्तक माइकल् हलिङ्सेड अनि कवि आइरा कोहेनसँग उक्त फ्रेन्च क्रान्तिको विषयमा छलफल हुन्थ्यो। म विश्वविद्यालयमा अंग्रेजी एमएको विद्यार्थी भएको कारण यी सबै भेटघाट र छलफलले मेरो पश्चिमी विचार र साहित्यको शिक्षामा सार्थक अवसर मिलेको कुरा म आज झन् राम्ररी बोध गर्न सक्छु। अन्तर्राष्ट्रिय युवा आन्दोलनमा वामपन्थी युवाहरूका उछालको अर्को विषय छ। त्यो पनि यहाँ जोडिन्छ। यो सबै अर्कै लेखको विषय हो।

गाउँ छोडेर हिँड्ने युवाहरूको कथाले अब अर्कै मोड लिएको अवस्था छ। म आफ्नो इलाकाको अनुभवसँग जोडेर भन्छु। त्यसरी गाउँका घर छोडेर हिँड्ने युवाहरू सबै पढ्न हिँडेनन्। हिजोका गाउँ र साना बजार इलाकाका घर छोडेर हिँड्ने युवाहरूले नेपालको राजनीतिक चरित्र बनाए। तिनले दलहरूका रचना गरे। त्यसैको आधारमा ती शासन र शक्तिमा आए। नेपालको राजनीतिका रचनाकार र सरकार चलाउनेहरूमा धेरैजसो तिनै हिजोका घर छोडेर हिँड्ने युवाहरू हुन्। अहिले वृद्ध भएका, सत्ता र दल चलाउनेहरूमा तिनै गाउँ छोडेर हिँड्नेहरू छन्। अहिले पनि तिनका इतिहासलाई व्याख्या गर्छन् ती। तर ती व्याख्याहरूमा पहिलेका अलिक धङ्धङे पनि भेटिन्छन्। गाउँ छोडेर हिँडेका हिजोका युवाहरू नै नेपालको पछिल्लो खासगरी राजनीतिक कलेवर रचना गर्नेहरूको रूपमा देखिन्छन्। तर सबै गाउँ छोडेर हिँडेका युवाले राजनीति मात्र गरेनन्। तिनमध्ये कति म र मेरा साथीहरूजस्ता स्वप्नधारी लेखक भए, कोही यथार्थपरक भए। कति ब्युरोक्रेसीमा पसे। कोही वैज्ञानिक र टेक्नोक्रेसीमा पसे। तर काठमाडौँ शहरका युवाहरू पनि त्यसमा छन्। यो चाखलाग्दो विषय छ।

यति सानो लेखले यो विस्तृत विषयको अध्ययन पुग्दैन। अरू देशमा जाने अनि श्रमिक भएर जाने युवाहरूका कथा पनि जोडिन्छन्। ती अहिलेका यथार्थ हुन्। अहिले नेपाल राज्य र समाजले लिएको एउटा बलियो चिन्ता छ––युवा युवतीहरूले ठुलो संख्यामा देश छोडिरहेका छन्। ती अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोपका देशहरूमा गइरहेका छन्। तर आफ्नो जीवन धान्न लाखौँको संख्यामा भारत जाने युवायुवतीहरू टड्कारो गरी कोभिड महामारीको बेला देखिए। युवाहरूले गाउँ छोडे भन्ने तर्कका अनेकौँ पाटा छन्। मैले यहाँ जोडेको कथा आफूले देखेको र भोगेको पद्धतिसँग जोडिएको छ। मैले त्यो पारा र अनुभवको विषयमा बढी सोचेको रहेछु भन्ने प्रस्ट देखिन्छ।

“हिजो र आजका घर छोडेर हिँड्नेहरू” शीर्षकमा छलफल गर्दा घरकै विषयमा सोच्नु पर्ने हुन्छ। हिजोका घर छोडेर हिँड्नेहरूले शहरमा गएर घरकै रचना गर्ने कर्ममा जीवनका अमूल्य समय लगाए। नेपालको राजनीति मात्र होइन, नेपालको शहरीकरणमा पनि तिनको प्रभाव देखियो। शहर संस्कृति पुँजीवादसँग पनि जोडिन्छ, किनभने हिजोको गाउँजनिन सामन्ती आर्थिक र सामाजिक प्रणालीमा परिवर्तन आयो। पुँजीको शक्ति सर्वोत्तम शक्ति भयो। पछिल्लो समयमा घर छोडेर हिँड्ने अनि टाढा जानेहरूले नेपालबाट विदेशी मुद्राको सञ्चितिबाट निकै पैसा लिएर गए भन्ने समाचारहरू आउँछन्। तर आज घर छोडेर हिँड्नेहरूको परिवारको रचना हिजो म र मेरा समकालीनहरूको जस्तो छैन। त्यो बेला छोडेको परिवारको केन्द्रीयता थियो। अहिले त्यो भताभुङ्ग भएको छ।

घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ। घर छ पनि, छैन पनिको अवस्था हो अहिलेको। यो अध्ययनको विषय हो।