रेशम चाैधरीलाई पक्राउ गर्न भनिएको पत्र अनधिकृत, थुनामुक्त गर्न सर्वोच्चले पठायो अर्को पत्र

अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र शंकास्पद र कानूनसम्मत नभएपछि सर्वोच्चले चाैधरीलाई थुनामुक्त गर्न भन्दै कारागारलाई नयाँ पत्र काटेको छ। विष्ट भने प्रहरी हिरासतमा छन्।

काठमाडाैँ– केहीबेरअघि पक्राउ परेर डिल्लीबजार कारागार पुर्‍याइएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले नयाँ पत्र पठाएको छ।

यसअघि सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा चाैधरी पक्राउ परेका थिए। विष्टले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पत्रमा चाैधरीलाई पक्राउ गरेर कारागार पठाउन भनिएको थियो।

यो पनि: नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

तर विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानूनसम्मत नभएपछि सर्वोच्चले चाैधरीलाई थुनामुक्त गर्न भन्दै कारागारलाई नयाँ पत्र काटेको छ। 

"कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम ....लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल थुनामुक्त गरिदिनुहुन अनुरोध छ," सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलद्वारा लेखिएको पत्रमा भनिएको छ।

साथै, विष्टले लेखेको पत्र अदालतको आधिकारिक पत्र नभएको भन्दै सर्वोच्चले विज्ञप्ति नै जारी गरेको छ।

"यस अदालतको शाखा अधिकृतले चनं १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौँलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त पत्रमाथि उल्लेखित चनं र मितिको अनुरोधपत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानूनबमोजिमको कारबाहीको प्रक्रिया शुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ," विज्ञप्तिमा उल्लेख छ।

अधिकृत विष्ट पक्राउ परिसकेका छन्। सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली लगिएको छ। अहिले उनीसँग सोधपुछको तयारी भइरहेको छ।