मनसुन शुरू हुनै लाग्यो, कस्तो हुनसक्छ जोखिम?

गत वर्षको बाढीपहिरोका कारण धेरै सडक जीर्ण छन्, कतिपय पुनर्निर्माण र विस्तारका क्रममा छन्। त्यसैले यो वर्ष मनसुनमा अझ ठूलो क्षति हुनसक्ने भन्दै विज्ञहरूले सचेत गराइरहँदा सरकारको पूर्वतयारी के छ?

फाइल तस्वीरहरू

काठमाडौँ— नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्ले खोलामा २०८१ असोज १२ गते आएको पहिरोले तीनवटा गाडी पुरिए, ३५ जनाको ज्यान गयो। त्यस बेला मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुनसक्ने भनेर सचेत बनाउँदा बनाउँदै दुर्घटना भएको थियो।

असोजमै आएको बाढीले काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गको चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म आठ किलोमिटर सडक पूरै बगाएको थियो। यो खण्डको बाँकी चार किलोमिटर सडक पनि क्षतिग्रस्त छ। त्यस बेला राजमार्गबाट काठमाडौँ आइरहेका र काठमाडौँबाट बाहिरिरहेका यात्रुले ठूलो सास्ती बेहोर्नु परेको थियो। उक्त सडक पुनर्निर्माणको काम भर्खर शुरू भएको छ।

त्यस बेलाको बाढीपहिरोले क्षति गरेका सडक कुनै पनि सद्दे छैनन्। पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा—मुग्लिङ सडकमा घुम्ती नै पिच्छे पहिरोको जोखिम छ। झ्याप्ले खोला, कृष्णभीरलगायत ठाउँमा पनि जोखिम उस्तै छ। अरनिको राजमार्ग, हेटौँडा जाने कान्ति लोकपथ, त्रिभुवन राजपथ र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने सडक ठाउँ–ठाउँमा क्षतिग्रस्त र मर्मतका लागि भत्काइएको अवस्था छ।

महेन्द्र राजमार्गको पूर्वीखण्ड पनि विस्तारकै क्रममा छ। बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्नेमा सडक विस्तार भइरहँदा यात्रुले छोटो दुरीका लागि पनि घण्टौँ कुर्नुपर्छ। आगामी वर्षातमा सडकको जोखिम तुलनात्मक रूपमा धेरै भएको विज्ञ बताउँछन्। सडकमा सवारी दुर्घटनाका विभिन्न कारणमध्ये मौसम पनि एउटा हो। वर्षा, बाढी र पहिरोका कारण हरेक वर्ष थुप्रै दुर्घटना हुने गर्छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा वर्षाका कारण मात्रै २२ वटा सवारी दुर्घटना भएका थिए। बाढी र पहिरोका कारण दुई वटा दुर्घटना भएका थिए। आर्थिक वर्ष २०७७/७८ मा वर्षाले ३४ वटा र बाढीपहिरोले २३ वटा सवारीसाधन दुर्घटनामा परेका थिए।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा वर्षाका कारण २३ वटा र बाढीपहिरोका कारण ११ वटा दुर्घटना भए। आर्थिक वर्ष २०७९/८० मा वर्षाका कारण १५ र बाढीपहिरोका कारण नौ वटा दुर्घटना भए। आर्थिक वर्ष २०८०/८१ मा वर्षाले २८ र बाढीपहिरोले १३ वटा दुर्घटना भए। आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म वर्षाका कारण १८ र बाढीपहिरोका कारण पाँच वटा दुर्घटना भएका थिए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रि–मनसुन चलिरहेको छ। अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्रि–मनसुनको अवधि मानिन्छ। यो अवधिमा पनि देशैभर पानी परिरहेको छ। प्रि—मनसुनको शुरूआतमा पानी नपरे पनि अप्रिलको बीचदेखि पानी परिरहेको छ। अहिले भइरहेको वर्षाका कारण कतिपय सडकमा दुर्घटनाको जोखिम छ भने, घन्टौँसम्म जाम हुने गरेको छ।

आगामी मनसुनमा सडकको अवस्थाका कारण दुर्घटनाको जोखिम धेरै भएको सडक सुरक्षाविज्ञ आशिष गजुरेल बताउँछन्। उनी भन्छिन्, “गत वर्ष वर्षाका कारण धेरै सडकमा क्षति भयो। थुप्रैले ज्यान गुमाए। सडकको अहिलेकै अवस्था रहने हो भने आगामी मनसुनमा अझ धेरै क्षति हुने सम्भावना छ।”

कहिले शुरू हुन्छ मनसुन, सुरक्षा तयारी के छ ?
सामान्यतः मनसुन नेपालमा जुन १३ मा भित्रिन्छ र अक्टोबर २ मा बाहिरिन्छ। यो अवधिमा वर्षाको सम्भावना अन्य सिजनभन्दा ज्यादा हुन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतः मनसुनमा वर्षभरि पर्नेको ८० प्रतिशत पानी पर्छ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्याल आगामी मनसुनको अवस्थाबारे अहिले नै पूर्वानुमान गर्न नसकिने बताउँछन्। उनी भन्छन्, “मनसुन शुरू हुन अझै केही समय बाँकी छ। त्यसैले अहिले नै मनसुनको अवस्थाबारे पूर्वानुमान गर्न सकिँदैन। वैशाख अन्तिम हप्तातिर हामी यसपालि मनसुनमा कतिको वर्षा हुन्छ भन्ने बुलेटिन जारी गर्छौं।”

मौसमविद् अर्यालका अनुसार यसपटक धेरै ठाउँमा सडकको अवस्था राम्रो नभएकाले मनसुन शुरू हुनुपूर्व नै सुरक्षा तयारी थाल्नुपर्छ। तर प्रायः धेरै राजमार्ग पुनर्निमाण र विस्तारकै क्रममा छन्। ती सडकमा जोखिम अझ बढ्छ।

नागढुंगा–मुग्लिन सडक विस्तार सकिएको छैन। यस सडकमा पहिरोको जोखिम धेरै छ। पहिरोको धेरै जोखिम भएको कृष्णभीरलगायत ठाउँ पनि यही सडकखण्डमा पर्छ। बीपी राजमार्ग त आगामी बर्खामा चलाउन नसकिने अवस्थामा रहेको विज्ञ बताउँछन्।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय प्रमुख शुभोराज न्यौपाने सडक विभागले मनसुनका लागि पूर्वतयारी थालिसकेको बताउँछन्। “हाम्रो साइटमा मेसिनहरू र जनशक्ति तयारी अवस्थामा छ। आवश्यकताअनुसार मेसिनहरू जता पनि पठाउन सक्छौँ। अहिले प्रि–मनसुनमा पनि बाटोहरू कतै पनि ब्लक छैन।”

पहिरोको जोखिम भएका ठाउँमा धेरै समय काम गरेर मनसुन शुरू हुनुपूर्व सुरक्षा तयारी पूरा गरिने न्यौपाने बताउँछन्। प्रि–मनसुनमै पनि सडक बन्द भए खुलाउन जनशक्ति र मेसिन तयारी अवस्थामा रहेको उनको भनाइ छ। “धेरै ठाउँमा कन्ट्रेक्टरले काम गरिरहेको छ,” उनी भन्छन्, “हामी मनसुनका लागि पनि तयारी गरिरहेका छौँ। झ्याप्लेखोला, कृष्णभीरलगायत सम्भावित जोखिमका ठाउँमा ट्रिटमेन्ट शुरू भएको छ। मनसुन शुरू हुनअगावै पहिरोको जोखिम कम गर्नेगरी काम गर्छौं।”

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनको सम्भावित जोखिमको तयारी गरिरहेको प्रवक्ता रामबहादुर केसी बताउँछन्। “हरेक वर्ष मनसुनपूर्व तयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउने गर्छौं,” उनी भन्छन्, “चैत १७ गतेदेखि हामीले यो काम थालिरहेका छौँ। समिति गठन गरेर योजना बनाइरहेका छौँ।”

मौसम विभागले पूर्वानुमान बुलेटिन जारी गरेपछि त्यसअनुसार पूर्वतयारीको कार्ययोजना बनाउने केसीको भनाइ छ। “मनसुन शुरू भएको पूर्वानुमान महाशाखले बुलेटिन निकालेपछि त्यहीअनुसार कार्ययोजना बनाउँछौँ। हाम्रो कमाण्ड टोली तैनाथ हुन्छ। प्रदेश र स्थानीय तहमा पनि समन्वय गर्ने काम गर्छौं।”

बाढीपहिरो प्रभावितको उद्धार र प्रतिकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत निकायसँग समन्वय गरेर काम गर्ने उनले जानकारी दिए। प्राधिकारणले विपत् प्रभावितको खोज तथा उद्धारका लागि सुरक्षा निकाय, स्थानीय समुदाय, नेपाल रेडक्रस सोसाइटीलगायत प्राविधिक र संस्थाहरूलाई परिचालन गर्छ।