विपिन जोशी जीवित रहेकामा इजरायली अधिकारीहरूको आशंका

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएका २१ जना जीवित रहेको र अन्य तीन जना बन्धक जीवित रहेकोमा शंका रहेको बताएका थिए। 

काठमाडौँ– हमासको कब्जामा रहेका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले आशंका व्यक्त गरेका छन्। 

अहिलेसम्म विपिनसहित तीन जना बन्धकहरू जीवित रहेको संकेत प्राप्त नभएको उनीहरूको भनाइ छ। टाइम्स अफ इजरायलले एक सरकारी अधिकारीलाई उद्धृत् गर्दै लेखेको छ, “युद्ध शुरू भएको केही समय पछिदेखि तीन जना बन्धकको जीवनको कुनै संकेत प्राप्त भएको छैन।” ती अधिकारीका अनुसार तीन बन्धकमध्ये दुई जना विदेशी र एक जना इजरायली नागरिक हुन्। 

बुधबार मात्रै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएका २१ जना जीवित रहेको र अन्य तीन जना बन्धक जीवित रहेकोमा शंका रहेको बताएका थिए। 

विदेशी बन्धकमा नेपालका विपिन जोशी र थाइल्यान्डका पिन्टा नट्टापोङ रहेका छन्। जीवित रहेको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकलाई मृत घोषित भने नगरिएको समाचारमा जनाइएको छ।