गाउँका जिम्मावाल वा मुखियाको छोरासँग मैले मित लगाएको छु भनेर आडम्बर देखाउने व्यक्तिका बारे पहिले–पहिले हामी सुन्थ्यौँ। तर मितको अवधारणाअनुरूप हेर्ने हो भने त्यस्ता क्रियाकलाप नितान्त गलत हुन्।
आज हराएका मेरा मितहरूबारे केही लेख्न बसेको छु। मलाई गधेपच्चिसी उमेरभित्र मेरा नितान्त नजिकका आफन्तले दुई स्थानमा मित लगाई दिए। जसबखत मलाई मित के हो र सो नातालाई कसरी अवलम्बन गर्नुपर्छ भन्नेबारे केही थाहा थिएन।
मेरा पोखरेल थरी मेरा बा र ढकालथरी आमाको जन्म क्रमशः बानेश्वर र दुवाकोटमा भई तत् स्थानमै हुर्काइ बढाइ भएछ। पेटको बराबरको गडबडी हुने समस्याको कारण, मधेशको हावापानीमा ठिक हुन्छ कि भन्ने ठान्दै बा उमेरमा सर्लाहीको मलंगवामा हुलाकको बहिदारमा काम गर्न पुग्नुभएछ। केही समयपछि आमा पनि आफूभन्दा केही वर्ष मात्र कान्छा घिमिरे थरी भानिजको साथ लागेर, थानकोट चित्लाङ हुँदै चिसापानी गढीमा राहदानी रुजु गराउँदै भिमफेदी-हेटौंडा छिचोल्दै मलंगवा जानुभएछ।
राणाशासन र सात सालको प्रजातन्त्र आउनु केही पहिलेको कुरा हुँदा त्यस बखतको बाटोघाटो र यात्रा अत्यन्त कष्टपूर्ण हुन्थे। काठमाडौँबाट अमलेखगन्जसम्म हिँडेरै पुग्ने, रेल चढ्ने, रक्सौल झर्ने, अर्को रेल चढेर सितामढी उत्रेर बयलगाडा आदिमा यात्रा गर्दै मलंगवा पुग्नुपर्ने हुन्थ्यो। यस्तोमा यात्राको सारा अवधि नापजोख गरेर बाटोको बास, बन्दोबस्त र खानेकुराको पूर्व तयारी गर्नुपर्थ्यो। यी सबै व्याख्या आजका पीढीलाई दन्त्य कथा नै लाग्छ। अनि त मेरो जन्म पनि सात साल असोजमा मलंगवामै भएको रहेछ।
"तेरो जन्मको ७/८ महिनामै बाको सरुवा मलंगवाबाट धरान भयो। उतिखेर वर्षा याममा त्यहाँबाट धरानसम्म जानु पर्दाको कथा भनिसाध्ये छैन", मेरी आमा भन्नुहुन्थ्यो। अर्थात् नेपाल जान पुनः मलंगवाबाट दक्षिण हान्निएर भारतको सितामढी पसी रेल चढ्ने, त्यहाँबाट पूर्व लागेर जोगमनी उत्रने, फेरी नेपाल भित्रने अनि गोरुगाडा वा पैदलमार्फत धरान पुग्न उतिखेर कम्तीमा ३ दिन त लाग्थ्यो नै। "गज्जबको समय थियो उस बेला– कठिनाइको त कुरै नगरौँ," मेरी आमाले धेरै पटक यस्ता राख्ने गर्नु हुन्थ्यो।
बालाई पेटले नसहने के रोग थियो, थाहा छैन। "यस्ता मानिसलाई त पहाडी हावापानी पो राम्रो हुन्छ त!" नमागे पनि चिने जानेका आफन्तले यसरी नै चिकित्सकीय सल्लाह उहाँले पनि पक्कै पाउनुभयो। एकाध वर्षभित्रै त्यस्तै सुझाव स्वीकार गर्दै बुबा-आमाको काठमाडौँ फर्किने तारतम्य मिल्छ। नोकरीको ठेगाना गरी समय मिलाएर ९ सालमा हाम्रो परिवार गोर्खास्थित मिलिसियामा बाको राइटरी काममा सँगसँगै हुन पुग्छन्। आफू ३ वर्ष हुँदाताकका कुरा वयस्कले भोगेझैँ दुरुस्त किन पनि सुनाइरहेछु भने सानो समयदेखि आमाका मुखबाट यी यावत् विवरण मैले सुन्न पाएँ।
यो पनि: राणाकालका मिलिसिया र 'राइटर बाजे'
गोर्खादेखि ६/७ दिन लगाएर, छोरा र भर्खर जन्मिएकी छोरीसमेत बोकाएर काठमाडौँ आउन जान कठिन हुन थालेकोले पुनः अलिक नजिकको पहाडी स्थानमा काम पाए केही सुविधा हुने ठानेछन् परिवारले। अतः खोजखबरपछि नुवाकोट मिलिसियामा सोही पद खाली भेटिएर २ वर्षमै गोरखा छाडी हामी नुवाकोट आयौँ, जहाँ १० वर्ष बितायौँ। नुवाकोटस्थित सात तले दरबारमा बाँसको कलमले नेपाली कागजमा कखरा लेख्न सिकेको, भैरवी मन्दिर नजिकको भैरवी मिडिल स्कुलमा पढाई गरेको, बटृार-त्रिसुली-देबीघाट-गेर्खु-बेत्राबती तथा धैबुङ आदि स्थानको भ्रमणमा गएको, त्रिसुलीको चिसो पानीको माछा, हिरा मामा कहाँको सेपिलो माटोको नाङ्लो जत्रो पाते साग वा चामे काकाको बारिका कटहर (सानोमा तरकारी र पछि पाकेको पनि) को स्वाद आदि सबै कुरा मेरा मानसपटलमा नबिर्सने गरी छाप बनेका छन्।
नुवाकोट रहँदाताक, काठमाडौँ–त्रिसुली सडक नबन्दैको अवस्थामा, काठमाडौँ– नुवाकोट– काठमाडौँ आवतजावत गर्न थानसिङ सुविधाजनक बास पर्थ्यो। अहिलेझैँ सडक कहाँ? सबै पैदलय यात्रा। त्यो भन्दा गज्जबको कुरा त हाम्रा दुई जना फुपूहरूको विवाह थानसिङका डिट्ठाको छोराहरूसँग भएको हुँदा हामीलाई जाँदा आउँदा फुपू–फुपाजुको घर थानसिंह त पानी पँधेरो नै हुने गर्थ्यो। यसै अवधिमा, सत्र अठार सालतिर हुनुपर्छ–मेरी कान्छी फुपूले मेरो उमेर मिल्दो र वयको केटोसँग मित लगाई दिनुभयो। मित लगाउँदाको धमिलो स्मरण छ। फुपू र मितकी आमा दुवैले टिका लगाई दिएको र हामी मितले एक अर्कालाई पचास पेसै ढ्याक दिएको सम्म। तर अहिले नाम पनि सम्झन सकिनँ, शायद मेरा मित ढुङ्गाना थरी हुनुपर्छ।
मित लगाउने चलन कहिले र कहाँबाट सुरु भयो, यो अनुसन्धानको विषय हुन सक्छ। भनिन्छ– नेपालको पहाडी क्षेत्रमा मित लगाउने अर्थात् मितेरी प्रथा सयौँ वर्षयता चलिआएको छ। चर्चित गायक/संगीतकारद्वय नारायण गोपाल र गोपाल योन्जनबीचको मितेरी सम्बन्धको बेलाबेला चर्चा हुने नै गर्छ। शायद यस्तो प्रथा नेपालमा मात्रै सीमित होला कि अन्त पनि यस्तो अभ्यास होला?
मित एकै लिंगी र उमेर समूहबीच लगाइन्छ। बालकलाई बालकैसँग, युवकलाई युवकसँग, बालिकालाई बालिकासँगै तथा युवती–युवतीबिच नाता गाँस्नेलाई मित लगाउने भनिन्छ। यस प्रथाको अनुसरण गर्दै नेपालमा संस्था संस्थाबीच पनि मितेरी साइनो गाँस्ने चलन धेरै यता विद्यमान छ। एक्लै भन्दा जोडिएमा शक्ति बढछ भन्ने रणनीति अख्तियार गर्दै पृथ्वीनारायण शाहले भक्तपुरका राजासँग मितेरी साइनो गाँसेका थिए। नेपाल–चीन सीमा नाका तातोपानीको मितेरी पुल अर्को उदाहरण हो। खोजेमा यस्ता उदाहरणहरू धेरै पाइएलान्।
मित, मितिनी वा मितेरी साइनो हामीकहाँ गज्जबले कसिएको हुन्छ। दुई व्यक्तीबीच मितेरी साइनो गाँसिने हो, तथापि यो यति घनिष्ठ पारिवारिक भइदिन्छ कि त्यसको कुरै नगरौँ। मित वा मितिनीले एक अर्काको नाम काढेर बोलाउँदैनन्, केबल अत्यन्त आदर गरेर मितज्यू वा मितिनीज्यू भनी सम्बोधन गर्छन्। मितको घर जाँदा घरवाला मित बा, मितआमा एवं मितले टिका, माला लगाई दक्षिणा वा उपहार दिने प्रचलन छ। मितको घरका पूरै परिवारले अति आदरपूर्वक सश्नेह माया गरेर खुवाउने, आराम गराउने गरिन्छ।
मितको घरका परिवारलाई नाम लिएर सम्बोधन गरिन्न, बरु मित बा, मितआमा, मितिनीज्यू, मित भाइ, मित बहिनी, मित छोरा, मित छोरी आदि भनिन्छ। मित लगाई दिन पनि विभिन्न प्रक्रिया अवलम्बन गरिन्छ। आ–आफ्ना प्रचलन बमोजिम पुरोहित, लामा, ज्योतिषी आदि कोही बोलाएर टिका लगाइ दिएपछि, सिक्का साटासाट गरेर अथवा सामान साटासाट गरेर वा दुवैले पेय पदार्थ उचालेर आदि आदि तरिका अपनाएर एक अर्कालाई मितज्यू या मितिनीज्यू भनिन्छ।
त्यस्तै, कुनै आफन्तले दुबैलाई केवल टिका लगाइदिएर रकम साटासाट गराएर पनि गरिन्छ। साथी अथवा मित्रका परिवारबीच विवाहको लागि आपसमा लेनदेन चल्छ, तर सगोत्री विवाह नचलेझैँ मितेरी परिवारमा विवाह चल्दैन। मितिनीज्यूले मितलाई वात्सल्य दिन्छिन् भने, मितले पनि मितिनीज्यूलाई आदरपूर्वक सम्मान व्यक्त गर्छन्। अर्थात् अत्यन्त पवित्र सम्बन्ध मित–मित र तिनका परिवारमा हुन्छ। बेइमानी यदाकदा हुनु त अपवाद भयो।
कतिपयले व्यापार वृद्धि, राजनीतिक शक्तिसञ्चय र भोट प्राप्तिलगायत स्वार्थ सिद्धिका लागि भनी अथवा कुनै काम सम्पन्न गर्न सहयोग होस् भनी मतलबी चालाले पनि मित लगाउने गरेको देखिन्थ्यो। गाउँका जिम्मावाल वा मुखियाको छोरासँग मैले मित लगाएको छु भनेर आडम्बर देखाउने व्यक्तिका बारे पहिले पहिले हामी सुन्थ्यौँ। तर मितको अवधारणाअनुरूप हेर्ने हो भने त्यस्ता क्रियाकलाप नितान्त गलत हुन्।
हालै सिनेमा जारको सन्दर्भमा वैशाख अन्तिमको कान्तिपुरको कोशेली परिशिष्टांकमा मित प्रथाबारे थोरै पढ्न पाइयो, जसमा ‘...लोपोन्मुख मितेरी साइनो संस्कृतिलाई मसिनोसँग पर्दामा उतारिएको... मितेरी साइनो यस्तो ऊर्जाशील सम्बन्ध हो, जहाँ दुई फरक व्यक्ति, भूगोल, पृष्ठभूमि, परिवार र समाज नै जोडिन्छन् र परस्परमा प्रेम पोख्छन्। यस्तो मूल्यवान् संस्कृति हाम्रो समाजमा एकादेशको कथाजस्तै भइसक्यो’ उल्लेख छ। र त, मित वा मितेरी साइनो बडो स्वच्छ, बराबरीको हैसियत राख्ने, एक आपसमा कठिनाइ पर्दा आर्थिक सहयोगसमेत उपलब्ध गराएर भरथेग गर्ने एउटा अत्यन्त विश्वासिलो नेपाली पद्धति थियो, हो र छ भन्न सकिन्छ। हराउँदै गइरहेको यो अत्यन्त सद्भावपूर्ण चलनलाई सशक्त र सक्रिय बनाउनुमा बुद्धिमानी हुनेछ।
अनलाइनखबर १७ अगस्ट २०२१ मा नेपालको विशिष्ट सम्बन्ध बोकेको मित प्रथा आजको समयमा लोप हुँदै गएको छ भन्ने बोध दिलाउने गरी शसवन्त पन्तले लेखेको कुरा पढ्न पाइन्छ। त्यसमा उनले जोन उप्रेती र समीर महर्जनका दुई परिवार दक्षिणकाली गएर पूजा अर्चना गरी एक अर्काबिच ढाकाटोपी आदान प्रदान गरी मित बनेका कुरा व्यक्त गर्दै, अब त सामाजिक सञ्जालमा जोडिनेजस्ता क्रियाकलापले यो राम्रो प्रथा नै हराउन लागेको छ भनेका छन्।
गनी अन्सारी र रामनारायण (एक मुस्लिम र अको हिन्दू)बीच मितेरी साइनो गाँसिएको बारे गल्फ न्युज (१५ सेप्टेम्बर २०१८) मा पत्रकार करुणा मदनले नेपालीलाई रगतको नातामा बाँध्ने आशयको समाचार लेखेका छन्। गनी र रामनारायणकी हजुरआमाले उनीहरूबीच मितेरी साइनो जोडिदिएका रहेछन् भन्ने त्यसमा उल्लेख छ। दुवै मितले इद वा होलीजस्ता पर्व उल्लासपूर्वक मनाउँछन्, त्यसमा समाचारमा उल्लेख छ।
दुधे बालक हुँदा म पनि मधेशमा थिएँ। तथापि, २७ देखि ३० सालसम्म कलैया तथा वीरगन्जमा जागिरमा रहँदा तराईका रहनसहन, क्रियाकलापमा छपक्कै सहभागी भइएको थियो। गौरदेखि मुजफरपुरसम्म साथीको दाइको विवाहमा जन्त गएकै हो। सितामढीमा ७५ पैसामा केराको पातमा दाल, भात र तरकारी पेटभर खाएकै हो। छठ पर्वमा ठेकुवा आदि मर्काएकै हो। अर्थात् मधेशका रीतिरिवाज र चालचलन आदि थाहा पाएको हो, तापनि मधेशमा चाहिँ मित प्रथा भएजस्तो लागेको थिएन, तर त्यहाँ पनि पुरुषबीच इयार र मितराम अभ्यास हुने कुरा भर्खरै एक मधेशमा जन्मे हुर्केका पत्रकारमार्फत थाहा पाएँ। सम्भवतः मितको जस्तो गहिरो सम्बन्ध बुझ्ने गरी म मधेशमा बस्न पुगेको रहेनछ।
मित प्रथा समाजका अनेकन् समुदायलाई एउटै अँगालोमा समाहित गर्न सक्ने अत्यन्त दरिलो गठबन्धन रहेछ। खोज्दै जाँदा, नेपालको मितेरी खालका नजिक नजिक आउने कुनै न कुनै प्रकारको मित्रता सिक्किम, पञ्जाब, तिब्बत र ल्याटिन अमेरिकामा पाइन्छन् भन्नेसम्म पढ्न पाइयो। यद्यपि, नेपालको जस्तो रगतको नाता बराबरको प्रगाढ सम्बन्ध अन्यत्र कतै छ भनेर पुष्टि गर्न सकिएन।
महिलाबीच हुने मीत सम्बन्धलाई चाहिँ मधेशमा सखी भनिने रहेछ। मधेशमा यस्तो सम्बन्ध प्राय: दही चिउरा खुवाएर सम्बन्ध जोडिने कुरा भर्खरै एक पत्रकारले बताए। तर पहाडमाझैं मधेसमा पनि यस्ता अभ्यास अचेल दुर्लभ रहेछ। ती पत्रकारका अनुसार साहित्यकार गोपाल अश्क र गोरखापत्रको भोजपुरी पृष्ठका संयोजक दिनेश गुप्ता आपसमा इयार (मित) भएको थाहा पाउँदा रोचक लाग्यो।
१८ सालदेखि मेरो पढाइ काठमाडौँमा हुन थाल्यो। २३ साल तिरको कुनै दिन महिना हुनसक्छ, म आफ्नो जेठी फुपूको घर बडीखेल पुगेँ। काठमाडौँको केटोलाई ग्रामीण परिवेशको खेतबारी, कुलो, बन, पाखामा रम्न मन लाग्छ नै र केही दिन उतै बसेँ। कुनै दाइले पहरी बस्ती छिचोल्दै माथि डाँडामा ऐँसेलु तथा काफल खान लग्ने, बाको भानिज अर्थात् मेरा भाइ पर्नेले लेले-सरस्वती पुर्याउने, अर्का दाइले टिका भैरव दर्शनको लागि लग्नेजस्ता गतिविधि भइरहेकै थियो। त्यस्तैमा मलाई माइला भान्दाइसँग एक रात बस्ने गरी अलि पर दक्षिण ललितपुरको टुंगन भन्ने स्थानमा पुग्ने मौका मिल्यो।
पहाडमा उकालो ओरालो नहुने कुरा त हुँदैन। तथापि, यता डाँडाबाट उता डाँडाको पाटोमा बसेका मानिसलाई ठूलो स्वरले बोलाउँदा सुनिन्छझैँ लाग्ने स्थान पुग्न २ घण्टा ओर्लेर चार घण्टा उक्लनु पर्ने गज्जबको स्थान लागेको हो मलाई ‘टुङ्गन’। त्यस बखतको अवस्थामा कोही चिनारु यात्री गाउँमा पुग्दा गरिने स्वागत-सत्कार भनेको दूध, दही, घिउ, मोही, चाम्रे, खटृे र कुरौनी हो। कति खाइयो के को हिसाब? सो समय सम्झेर अहिले पनि मुख मिठ्याइरहेको छु। समवयीका उस्तै उस्तै बालबच्चा देखेपछि आफन्त र अभिभावकले मित लगाइदिन्थे। उस्तै उस्तै सुहाउँदो केटो देखेर होला भान्दाइ सहितले मलाई मित लगाइ दिनुभयो। आफू त तर मार्नमै तल्लीन थिएँ, मित सम्बन्धको गहिराई नाप्ने उमेर थिएन। तर मधुर सम्झना मेरा यताका मितको थर अधिकारी थियो क्यार!
...
२०८२ वैशाखको चौथो साता लाँकुरी भन्ज्याङनजिक बतासे डाँडामा मसहित केही व्यक्ति काम विशेषले बास बस्न पुग्यौँ। विविध प्रशंगमध्ये कताबाट हो मितको कुरो चल्यो। "मेरो दुई जनासँग मितेरी साइनो गाँसिएको छ" भनेर साथीहरूमाझ डुक्रिहालेँ’। तर ती बाल्यकालका मेरा मित कता छन् र कस्तो अवस्थामा छन्, मलाई पत्तो छैन।
त्यहाँ उपस्थितमध्ये सोधखोज गर्न रुचाउने, हिँडडुलमा हिमाल-पहाड गर्न सक्ने, युवा जोस भएका जगदीश र हरिबोलले भुले-बिर्सेका यस्ता मितहरू भेटाइ दिने अभियान थाल्नुपर्छ भन्न थाल्नुभयो। हराइरहेका मितहरूलाई जोडाउने अभियानमा अब जुट्छौँ, तपाइकैबाट सुरु गरौँ, हामीलाई सहयोग मात्र गरे पुग्छ" भनेर तम्सनुभयो।
मितेरी सम्बन्धहरूमाथि खोज अभियान नै थाल्ने भनेपछि म अत्यन्त पुलकित भएँ। यही आलेख यदि कतै सञ्चार माध्यममा प्रसारण भई, मेरो नाम ठेगाना मेरा मितहरूलाई स्मरण भएमा अहिलेको सामाजिक सञ्जालमार्फत छिटै भेट हुनेछ भन्नेसमेत अपेक्षा गरेको छु। मेरा मितहरू भेटिउन्। सबैका हराएका मित र मितिनी भेटिउन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
