सडकमा असुरक्षित बालबच्चा, अभिभावक नै बनाइरहेछन् दुर्घटनाको ‘पासो’

बर्सेनि सडकमा हुने दुर्घटनामा कलिला बालबालिकाको मृत्यु र घाइतेको आँकडा झट्ट हेर्दा भवितव्य जस्तो लाग्छ, तर यसका पछाडि अभिभावकको लापरबाही सबैभन्दा डरलाग्दो छ।

काठमाडौँ– दरबारमार्ग, काठमाडौँस्थित चर्चित रेस्टुराँ केएफसी अगाडि रातो रङको एउटा स्कुटर रोकिन्छ। समय, गत बुधबार दिउँसो ३ बजे। स्कुटरमा सवार शंखमूल बस्ने शिखा लिम्बूले ८ वर्षीया छोरीलाई पछाडि राखेकी छन्। ‘फ्राइड चिकेन’ किन्न यहाँ आएकी शिखाले छोरीलाई सिटबेल्ट लगाइदिएकी छन्। त्यो बेल्ट आफ्नो कम्मरमा टमक्क बाँधेकी छिन्। आमाछोरीकै टाउकोमा हेल्मेट छ। स्कुटरबाट सुस्तरी ओरालेर उनी छोरीलाई केएफसी किन्न पठाउँछिन्।

स्कुटरमा कतै लैजानुपरे उनी छोरीलाई हेल्मेट र सिटबेल्ट लगाइदिन भुल्दिनन्। “बच्चाका निम्ति यस्ता सिटबेल्ट जतासुकै किन्न पाइन्छ। तर पनि कसैले लगाएको देख्दिनँ। दुर्घटना नभई नचेत्ने हुन् कि?” शिखाले भनिन्, “मलाई त छोरीको माया लाग्छ। म अरूले जस्तो लापरबाही गर्न सक्दिनँ।”

शिखा अपवाद हुन्। सडक सवारीमा यस्ता अभिभावक कमै भेटिन्छन् जसले आफ्ना बालबच्चाको सुरक्षालाई प्रथम महत्त्व दिएका हुन्छन्। बरु धेरैजसोले आफूसँगै बच्चाको ज्यानसमेत जोखिममा राखेर सवारी चलाएको देखिन्छ। 

जस्तो, गत चैत १४ गते साँझ ७ बजेको एउटा दृश्य हेरौँ। सडकमा सवारीको चाप छ। चालकहरू एक अर्कालाई उछिन्दै बेस्सरी हुइँकिएका छन्। कोटेश्वरबाट जडीबुटी नपुग्दै ट्राफिक लाइटमा रातो बत्ती बल्छ। सबै रोकिन्छन्, त्यहीँ रोकिएको छ एउटा कालो रङको मोटरसाइकल।

मोटरसाइकल पछाडि सानो बच्चा छ, हेर्दा लगभग दुई वर्ष जतिको देखिने। न त्यो बच्चाको टाउकोमा हेल्मेट छ, न ज्यानमा सिटबेल्ट छ। रातो टोपी, कालो ज्याकेट, खरानी रङको ट्राउजर लगाएको बच्चा असजिलो गरी कोल्टे परेर बसेको छ। मोटरसाइकल चलाउनेलाई दह्रोसँग समाउन उसको हात पुगेका छैनन्। उबडखाबड सडकमा ऊ जतिबेला पनि खस्न सक्छ। बतासिएर चल्ने सवारीसाधनको चापमा ऊ हुत्तिन सक्छ। मोटरसाइकलमै निदाउन सक्छ, निदाएको बेला जे पनि हुनसक्छ।

जडीबुटीको जाम खुल्छ, त्यो मोटरसाइकल रफ्तारमा दौडन्छ।

त्यही दिन बेलुकी लोकन्थलीबाट कौशलटारतर्फ जाँदै गरेको निलो रङको मोटरसाइकलमा तीन जना सवार छन्। मोटरसाइकलको गति करिब ४० किलोमिटर प्रतिघण्टा हाराहारी छ। चालकको पछाडि एक वयस्क महिला छिन्। दुई जनाको बीचमा एउटा निलो रङको ठूलो ‘लगेज’ (सुटकेस) राखिएको छ। त्यही सुटकेसमाथि करिब ३ वर्षको बच्चा बसेको छ। महिलाले एउटा हातले बच्चा र अर्कोले सुटकेस समाएकी छन्। लाग्छ, उनीहरू तीनै जना जोखिमको सवारी गरिरहेछन्। 

बालबच्चाको सुरक्षामा बेपरवाह अभिभावक
काठमाडौँका सडकमा यस्ता दृश्य जहिल्यै, जताततै देखिन्छन्। दुईपांग्रेमा चार जना (बुवाआमा र दुई बच्चा)सम्म बसेको देख्नु सामान्यझैँ लाग्छ। मोटरसाइकलको बीचमा र पछाडि बसाउने ठाउँ नभएर कतिपयले बच्चालाई तेलको ट्यांकीमाथि समेत राखेर यात्रा गरेको देखिन्छ। कतिपयको बाध्यता हुनसक्छ, तर यस्ता दृश्य काठमाडौँसँगै राजमार्गदेखि अरू जिल्लामा समेत देखिइरहन्छन्।

भक्तपुरको सिरुटारमा बस्ने रामेछापका शेखर खड्काको एक छोरी र एक छोरा छन्। कतै जानुपरे चार जनाको परिवार एउटै मोटरसाइकलमा चढ्ने उनी भन्छन्, “अलिकति कोचिएपछि सबै जना अटिहाल्छौँ। आफ्नै साधन हुँदा सजिलो पनि हुन्छ।”

नेपाल प्रहरीको आँकडाअनुसार सडकमा यसरी असुरक्षित तवरले यात्रा गर्दा हुने दुर्घटनामा प्रत्येक वर्ष धेरै बालबालिकाको ज्यान गइरहेको छ। त्यसमा घाइते र अंगभंग हुनेको संख्या अझ धेरै छ। विगत पाँच वर्षको आँकडा केलाउँदा सडकमा यसरी भएका दुर्घटनामा ६ वर्षभन्दा कम उमेरका करिब साढे तीन सय बालबालिकाको मृत्यु भएको छ।

यो पनि : मोटरसाइकल दुर्घटनाको भयावह चित्रः संसदमा पुग्यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको आँकडाअनुसार २०८०/८१ मा भएका दुर्घटनामा ६ वर्षमुनिका ८० जना बालबालिकाको मृत्यु भयो जसमध्ये ४४ बालक र ३६ बालिका थिए। २०७९/८० मा यसरी मृत्यु भएका ६ वर्षमुनिका बालबालिका ८९ थिए भने २०७८/७९ मा ८७, २०७७/७८ मा ८३ र २०७६/७७ मा ९५ जना थिए। 

दुर्घटनामा घाइते ६ वर्षमुनिका बालबालिकाको संख्या अझ डरलाग्दो छ। २०८०/८१ मा मात्र एक हजार ४०० भन्दा धेरै बालबालिका घाइते भएका छन्। २०७९/८० मा यो संख्या एक हजार ३०० थियो भने २०७८/७९ मा एक हजार २५०। 

दुर्घटनामा मृत्यु र घाइते हुने ६ देखि १६ वर्ष उमेरका बालबालिकाको संख्याले यो अवस्था अझ गम्भीर देखाउँछ। प्रहरीको आँकडाअनुसार पछिल्लो पाँच वर्षमा यो उमेरका साढे पाँच सय बालबालिकाले दुर्घटनामा ज्यान गुमाएका छन् भने करिब साढे आठ हजार घाइते भएका छन्। २०८०/८१ मा मात्र यो उमेरका ८५ जनाको दुर्घटनामा मृत्यु भएको थियो भने २ हजारभन्दा धेरै घाइते भएका थिए।

सडक सुरक्षाविज्ञ आशिष गजुरेल मुख्यतः लापरबाहीले भइरहेको यो क्षति रोक्न सरकारले प्रभावकारी पहल गर्न नसकेको बताउँछन्। “बच्चालाई लापरबाहीपूर्वक यात्रा गराइएको छ। उनीहरूलाई सडकमा निस्फिक्री छाडिएको छ,” उनले भने, “त्यसलाई रोक्न न सरकारले केही पहल गरेको छ, न ट्राफिक प्रहरीले नियम पालना गराउन सकेको छ।” 

बालबालिका दुर्घटनामा पर्नुमा अभिभावककै प्रमुख दोष देख्छन् गजुरेल। अभिभावकले बच्चालाई रातो बत्तीमै सडक पार गराउने, एउटा मोटरसाइकलमा तीन जनासम्म बच्चा कोचेर हिँड्ने, फुटपाथ छाडेर सडकमा हिँडाउने, सडकमा खेलाउने कारणले पनि दुर्घटना बढाएको उनको निष्कर्ष छ।

सडकको डिजाइन पनि दुर्घटनाको प्रमुख कारण
संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले यही वर्ष (सन् २०२५ मा) प्रकाशन गरेको एक रिपोर्टअनुसार बर्सेनि १९ वर्षमुनिका एक लाख ८१ हजार ४५३ बालबालिकाले सडकमा हुने दुर्घटनामा ज्यान गुमाउँछन्। दुर्घटनाको जोखिम मानिसको उमेरमा निर्भर रहने भन्दै रिपोर्टमा लेखिएको छ, “१ देखि ९ वर्ष उमेरका बालबालिकाका धेरैजसो सडकमा हिँड्दा दुर्घटनामा पर्छन्। ठूला बालबालिका र किशोरकिशोरी भने साइकल वा मोटरसाइकल चलाउँदा घाइते वा मृत्यु हुने सम्भावना धेरै हुन्छ।” 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को आँकडाअनुसार विश्वभर ५ देखि २९ वर्ष उमेरका बालबालिका र युवाको मृत्युको प्रमुख कारण सडकमा हुने दुर्घटना हो। बालबालिकाको बाँच्ने सम्भावना अहिले पनि उनीहरू कहाँ जन्मिएका छन् भन्नेमा धेरै निर्भर हुन्छ। उच्च आय भएका देशको तुलनामा मध्यम आय भएका देशका बालबालिका दुर्घटनामा पर्ने र मृत्यु हुने सम्भावना लगभग तीन गुणा धेरै हुने डब्लूएचओको निचोड छ।

डब्लूएचओका अनुसार बालबालिका दुर्घटनामा पर्ने थुप्रै कारण छन्। जस्तो, साना केटाकेटीलाई सडकका दृश्य र आवाज ठम्याउन कठिन हुने हुँदा उनीहरूले गाडी कति छिटो वा कति नजिक छ भनेर अनुमान गर्न सक्दैनन्। चञ्चल हुने र धैर्य गर्न नसक्ने हुँदा उनीहरूलाई एकैचोटि धेरै चुनौती सामना गर्न पनि गाह्रो हुन्छ। जोखिम लिने सम्भावना बढी हुने हुँदा उनीहरू किशोरावस्थामा पुग्दै गर्दा पनि दुर्घटनामा पर्ने सम्भावना उच्च हुन्छ। 

यो पनि : गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने

डब्लूएचओले सडकको डिजाइनलाई पनि दुर्घटनाको प्रमुख कारण मान्दै लेखेको छ, “सामान्यतया सडकहरू बालबालिकाको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएका हुँदैनन्।”

नेपालमा पनि सडक बालबालिकालाई सुरक्षित देखिँदैनन्। कतिपय सडक छेउछाउमा हिँड्नलाई फुटपाथसम्म छैनन्। फुटपाथ भएका ठाउँ साँघुरा छन्। धेरै ठाउँमा फुटपाथ नै भत्काइएको वा खनेको कारणले पैदलयात्री मूल सडकबाट हिँड्नुपर्ने बाध्यता छ जसले दुर्घटनाको जोखिम स्वतः बढाउँछ। 

विद्यालय क्षेत्र वा आवासीय क्षेत्रमा पनि सवारीसाधनको गति सीमित गर्ने अभ्यास छैन। ठूल्ठूलो आवाजमा तिनै ठाउँमा पनि चालकले मोटरसाइकल, ट्याक्सी, टिपर आदि तीव्र गतिमा हुइँक्याइरहेका हुन्छन्। यसले स्वतः बालबालिकालाई जोखिममा पारेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरी अभिभावक र चालकको लापरबाहीले बालबालिका दुर्घटनामा परिरहेको बताउँछन्। “अभिभावकहरू आफू सडकको भित्तातिर र बच्चालाई सडकतिर राखेर हिँड्छन्, यसले जोखिम बढाउँछ,” उनले भने, “चालकले सानो बच्चा नदेख्दा पनि सवारीले हानेका उदाहरण छन्। सार्वजनिक बसका चालकले लापरबाहीपूर्वक चढाउँदा र ओराल्दा पनि बच्चाहरू दुर्घटनामा पर्छन्।”

बालबच्चा दुर्घटनामा पर्ने प्रमुख कारण भने मोटरसाइकल नै रहेको एसपी गिरीको निष्कर्ष छ। अन्य सवारीसाधनको तुलनामा उनी मोटरसाइकललाई नै जोखिमपूर्ण देख्छन्। 

बालबालिकाको ज्यानमाथि खतरा बनेका सडकमा हुने यस्ता दुर्घटना घटाउन डब्लूएचओले विभिन्न रणनीति पनि बनाएको छ। तिनमा गति नियन्त्रण, मदिरा सेवन गरी गाडी नचलाउने, साइकल चालक र मोटरसाइकल चालकहरूले हेल्मेट प्रयोग गर्ने, बालबालिकाको हेर्ने र हेर्न सक्ने क्षमतामा सुधार गर्ने, सडक पूर्वाधार बढाउने, सवारी साधनको डिजाइन अनुकूलन बनाउने, चालक अनुमतिपत्र कार्यान्वयन गर्नेलगायत छन्।

नेपालमा यस्ता रणनीति प्रभावकारी रूपमा कार्यान्वयन हुने नसकेको सडक सुरक्षाविज्ञ गजुरेल बताउँछन्। बालबालिका दुर्घटनामा पर्ने दर घटाउन सरकारले दुर्घटनाबारे सबैलाई बुझाउने पहल गर्नुपर्ने, ट्राफिक नियम पालना गराउन पनि भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। 

यो पनि : सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, एसपी गिरी भने प्रहरीले समुदाय–प्रहरी सचेतना कार्यक्रममार्फत दुर्घटनाबारे जनचेतना फैलाउने काम नियमित गरिरहेको दाबी गर्छन्। उनी भन्छन्, “बाइकमा दुई जनाभन्दा बढी चढाउन नमिल्ने भए पनि दुई अभिभावकको बीचमा सानो बच्चा भए हामी धेरै कडाइ गर्दैनौँ। तर तीन—चार जना बच्चा भए सम्झाउँछौँ र कारबाही पनि गर्छौं। यो कुरा अभिभावकले बुझ्नुपर्‍यो।” 

दुई तीन जना बालबालिका राखेर चलाइएका मोटरसाइकल नियन्त्रणमा लिँदा कतिपय अभिभावक प्रहरीसँग झगडा गर्न आउने गरेको उल्लेख गर्दै उनले सुनाए, “परिवारमा चार जना छौँ, बच्चालाई कहाँ पठाइदिऊँ त भनेर पनि झगडा गर्नुहुन्छ।”