‘राइटर’को राजीनामा

विमानस्थलमा तीर्थको नेतृत्वमा चलाइएको असुलीधन्दाबारे गृहमन्त्री जानकार थिए भन्ने त अख्तियारले हान्दै गरेको सूचना लिक हुनासाथ तीर्थसहित टिमैलाई त्यहाँबाट सरुवा गर्न चालेको कदमले नै देखाउँछ।

‘म रमेश लेखकको ठूलो प्रशंसक मान्छे, राजीनामा सही बाटो हो भनिरहेँ।
अत्यन्त दुःखी छु, उहाँले पत्रकार सम्मेलन पो गर्नुभयो।
लाग्यो, भोलिका नेता आजै...’

पञ्चायतविरुद्ध संघर्षमा जेल/नेल भोगेका अनि गुल्मी कांग्रेसको सभापति र प्रतिनिधिसभा उम्मेदवार भइसकेका त्रैलोक्यप्रताप सेनले गृहमन्त्री लेखकले जेठ १४ गते पत्रकार सम्मेलन गरी राजीनामा गरिहाल्न नपर्ने तर्क गरेपछि फेसबुकमा टिप्पणी गरेका थिए। प्रजातन्त्र आएपछि सत्ताको फोहोर आहालमा डुबुल्की मारेर विगतको संघर्षको व्याज अनि स्याज सेवनबाट जोगिएको एउटा निष्ठावान कांग्रेसीको चित्त दुःखाइ हो, उपरोक्त पोस्ट।

कांग्रेसका शुभचिन्तक मात्र होइन गैरकांग्रेसहरूमा पनि गृहमन्त्री लेखकको छवि आशलाग्दो ‘युवा नेता’कै थियो। उनी विवादमा तानिँदा आशलाग्दो नेता मानिरहेका कतिपयमा चिन्ता छाएको छ। बरु, राजीनामा गरी अनुसन्धानलाई सघाइदिँदा भोलि उनको संलग्नता पुष्टि भएन भने छवि बरकरार रहन्थ्यो भन्ने लाग्नु अन्यथा होइन।

राजीनामा गर्ने मनस्थितिमा पुगेको सुनिएको पनि थियो, उनकै वरिपरिका मान्छेबाट। प्रतिनिधिसभामा बोल्न समय लिएका उनले आफ्नो असंलग्नताको जिकिर गर्दै रोष्ट्रमबाटै राजीनामा गर्नेसम्म बताएका थिए।

तर जेठ १३ गते कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा गर्न नपर्ने घोषणा गरिदिए, अरूले पनि तत्कालै राजीनामा आवश्यक नरहेको बताए। आफ्नै मन्त्रालयअन्तर्गतको कुनै अड्डाले नभई स्वायत्त संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको अवस्थामा अनुसन्धानको डोरीले गृहमन्त्रीलाई नै नलपेटेसम्म राजीनामा गरिहाल्न पर्दैन भन्ने तर्क हावादारी पनि होइन।

नेताहरूले नै राजीनामा गर्न पर्दैन भन्दिएपछि उत्साहित गृहमन्त्रीले भोलिपल्ट प्रतिनिधिसभामा बोल्न नपाउँदा संसद् भवनमै पत्रकार सम्मेलन गरी आफ्नो पक्ष राखे। ‘मातहतका कर्मचारी अनुसन्धानको दायरामा पर्नासाथ मन्त्रीले राजीनामा गर्न थाले कहाँ पुगिएला’ भनेर बलियै तर्क पनि गरे। हुन पनि महोत्तरी मालपोत कार्यालयमा मुखियाले घूस खाएकोमा भूमि व्यवस्था मन्त्रीको राजीनामा माग्न थाले कस्तो सुनिएला? अथवा चितवनको चौकीमा पुलिसले घूस खाएकोमा गृहमन्त्रीकै राजीनामा मागिए के होला? 

कुरा यस्तै हो त? बिल्कुल होइन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखका रूपमा गृहमन्त्रीले रोजेका तीर्थराज भट्टराई कर्मचारीतन्त्रमै ‘नोटोरिअस’ भनेर चिनिन्थे। भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि पनि मति नसुध्रिएका भट्टराईलाई रोजेपछि मानव तस्करहरूले भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा पठाउँदा विमानस्थलमा अध्यागमनले असुल्ने घूसको रेट तेब्बर (स्रोतले बताएअनुसार खाडीमा पुरुषको जनही २० र महिलाको ३० हजार रहेकोमा एकैचोटि ६० र ९० हजार रूपैयाँ) भएको थियो।

तीर्थकै मति सुहाउँदो कर्मचारीहरूको जत्था अध्यागमन पठाइएको थियो नै, तदनुरूपका कर्मचारी उनको सचिवालयसम्मै छाएका थिए। र १८ वर्षदेखि कहिले मन्द त कहिले प्रचण्ड, कहिले सुस्त त कहिले चुस्त गतिमा अनवरत चलिरहेको भिजिट भिसामार्फत मानव तस्करी र असुली धन्दालाई ‘नेक्स्ट लेभल’मा पुर्‍याइएको थियो।

चर्को व्याजमा ऋण लिई वैदेशिक रोजगारीमा हिँडेका, आर्थिकरूपले पिँधमा रहेका युवाउपर भएको यस्तो ‘जुल्म’ अनदेखा भएकै हो। पत्रकार सम्मेलनमा गृहमन्त्रीले ‘मुद्दामा सफाइ पाएको अधिकारीलाई जिम्मेवारी दिन कानूनीरूपमै बाध्य थिएँ’ भनेर तर्क गरे। जिम्मेवारी भनेको सबैभन्दा मलाइदार ठाउँमा पठाई घूसको रेट नै तेब्बर बनाएर असुलीधन्दा चलाउन दिनु त होइन। म्यानपावर वा ट्राभल एजेन्सीमार्पmत असुलिए पनि आखिरमा त्यो पैसा विपन्न परिवारको युवाले चर्को व्याजमा लिएको ऋण नै हो।

विमानस्थलमा तीर्थको नेतृत्वमा चलाइएको असुलीधन्दाबारे गृहमन्त्री जानकार थिए भन्ने त अख्तियारले हान्दै गरेको सूचना लिक हुनासाथ तीर्थसहित टिमैलाई त्यहाँबाट सरुवा गर्न चालेको कदमले नै देखाउँछ। अख्तियारबाट असमयमै नायब महानिरीक्षक (डीआईजी) हिमालय श्रेष्ठको सरुवा र मिडियादेखि सामाजिक सञ्जालमा आलोचना शुरू भएपछि थमौतीको निर्णयले पनि उनी अत्तालिएको संकेत गर्छ।

“रमेश लेखक भन्ने गृहमन्त्री पत्तासाफ हुने लाइनमा रहेछन्। नक्कली लाइसेन्स काण्डमा अख्तियारले डामेका सहसचिवहरूको भण्डारा बनाएछन् गृहलाई,” लेखक गृहमन्त्री भएको केही समयपछि नै गृहमा विवादास्पद (घुस्याहा) सहसचिवहरूको जत्था भित्र्याएको भन्ने समाचारको लिंक ‘एक्स’ मा राख्दै पत्रकार अनिल गिरीले पोस्ट गरेका थिए।

त्यसैताका मैले पनि ‘विगतमा कञ्चटमा पेस्तोल तेस्र्याएर पैसा असुल्न मात्र बाँकी राखेका सहसचिवहरू’ पनि गृहमा भित्रिएको एक्समा लेखेको थिएँ। बालकृष्ण खाँडको कार्यकालमा पर्साको सीडीओ बनाइएका एक सहसचिवबारे अहिले पनि वीरगन्जमा ‘त्यस्तो सीडीओ त देखिएकै थिएन’ भनेर टिप्पणी गर्नेहरू भेटिन्छन्। ‘ब्लेकिया’ (सीमा वारपार तस्करी गर्नेहरूका लागि स्थानीयस्तरमा प्रचलित शब्द) सँग रेष्टुरेन्टमै बसेर बार्गेनिङ गरेको देखेको पनि सुनाएका थिए।

त्यसअघि र पछि पनि ब्लेकियाको नोट चले पनि सीडीओसा’पहरूले सार्वजनिकस्थलमै उठबस गरेको नदेखेका स्थानीयहरू चकित खाएका थिए। वीरगन्जबाट ‘फिर्ती सवारी’ पछि गृहबाटै धपाइएका ती सहसचिवलाई लेखक गृहमन्त्री बनेपछि पहिलो चरणमै रातो कार्पेट ओछ्याई मलाइदार जिल्लाको सीडीओ बनाइएको थियो।

राजस्व अनुसन्धान विभागको महानिर्देशक छँदा उस्तैगरी व्यापारीका कञ्चटमै पेस्तोल तेर्स्याएर पैसा असुल्छन् कि क्याहो जस्तो पारेका सहसचिव पनि पर्साको सीडीओ भई जानेगरी गृहमा भित्रिएका थिए। पर्सामा जान नपाएपछि उनले गृहबाटै बाहिरिने भनेर धम्क्याएका थिए।

झन्डै ११ महिनामा गृहमन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो होइन। तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा भएको हिंसालगायतका घटनामार्फत उनको कमजोरी छताछुल्ल भइसकेकै हो।

एउटा विषयमा गृहमन्त्रीप्रति सहानुभूति राख्न नसकिने होइन। गृहमन्त्री भए पनि उनी शक्तिकेन्द्रहरूले अह्राएका कामहरू संयोजन गरिदिने संयोजकको भूमिकामै करिब–करिब सीमित थिए र छन्। बुढानीलकण्ठ दरबार, जाउलाखेल दरबार आदि इत्यादिको हालीमुहाली थियो गृहको टिम निर्माणमा।

गृहसचिवमै कि सुदूरपश्चिमका विनोद सिंह कि सुदूरपश्चिमका ज्वाइँ कृष्णहरि पुष्कर भनेर दौड चलिरहेकै बेला दौड सकिने बेलामा एक्कासि देखापरेका गोकर्णमणि दवाडीले दौड जित्दा दुई सचिव हेरेको हेर्‍यै भएका थिए। गृह प्रशासनका चल्तापूर्जाहरूले उतिखेरै जाउलाखेल दरबारको धावकले जितेको निचोड निकालेका थिए। गृहमन्त्रीको सचिवालयमै उनले रोजेका मान्छे को–को, अनि दलालहरूले जवाफदेही हुन नपर्ने दरबारहरूमार्फत छिराएका मान्छे को–को छन् निफन्न पर्ने अवस्था छ।

कांग्रेसले गृह मन्त्रालय पाउँदा सचिवसहित उच्चपदस्थ कर्मचारी घूसपैठ गराई अन्तैबाट समानान्तर गृहप्रशासन चलाउने अभ्यास २०७३ सालमा विमलेन्द्र निधिले उपप्रधानमन्त्री भएर गृह सम्हाल्दा नै शुरू भएको थियो। देउवा गुटका तारणहार नै ठानिने निधिको मन्त्रालयमा बुढानीलकण्ठको रोजाइका लोकदर्शन रेग्मीलाई सचिव पठाइएको थियो।

त्यसअघिको सरकारमा विष्णु पौडेलले अर्थसचिव बनाएका रेग्मीलाई कांग्रेसले गृहसचिव बनाउनु नै अस्वभाविक सुनिन्थ्यो। रेग्मीबाट ब्रिफिङ लिई गृहमा समानान्तर सत्ताको अभ्यास शुरू गरिएको थियो। त्यहीबाट चिसिएको देउवा–निधि सम्बन्ध पछि कट्टीमै पुग्यो। पूर्वसहमति अनुसार १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार हुने इच्छा जाहेर गर्नासाथ बहानाको खोजीमा रहेको देउवा परिवारले निधिलाई दूधबाट तर निकालेर फालेजस्तै गर्‍यो।

बालकृष्ण खाँड गृहमन्त्री हुँदा सचिवसहित कतिपय पदाधिकारी त्यही बाटोबाट गृहमा भित्रिएका थिए, जुन बाटोबाट लेखकको पालामा सचिवसहितका पदाधिकारी भित्रिए। गृह प्रशासनै नबुझेका टेकनारायण पाण्डेको कारण खाँड राजनीतिक भविष्य नै अन्धकारमा पुग्ने हर्कत गर्न पुगेका थिए। टेकनारायणजस्तो ‘यसम्यान’को ठाउँमा गृह प्रशासन बुझेको सचिव मात्रै भएको भए मन्त्रीले लोभिएर गरौँ भने पनि सचिवले मन्त्रालय नै ‘कबूतरबाजी’मा संलग्न हुने काम हुन दिन्थेनन्।

देउवा परिवारकै कारण गृहमा टेकनारायण भित्रिए, अनि खाँडलाई अँध्यारोतर्फ धकेलिदिए। उनै देउवा बालकृष्ण खाँडलाई पनि फसाइयो भन्छन्, लेखकलाई पनि राजीनामा दिनुपर्दैन भन्छन्।

लेखकसम्म आइपुग्दा सचिव मात्रै होइन मन्त्रीको सचिवालय नै कतै जवाफदेही हुन नपर्ने शक्तिकेन्द्रहरूको नियन्त्रणमा पुगेको देखिन्छ। गृहको पछिल्लो विवादास्पद निर्णय सशस्त्रको अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिसमा जाउलाखेल दरबारतिर ‘दाम चढाइएको’ समाचारहरू नै प्रकाशित भएका छन्। वरीयताका साथै कार्यसम्पादनमा पनि अघि रहेका कमल गिरीलाई पन्छाई गणेश ठाडालाई भविष्यमा आईजीपी सुनिश्चित गर्नेगरी बढुवा सिफारिस गरेपछि यसअघि नेपाल प्रहरीको बढुवामा वरीयताक्रम अनुसार बढुवा सिफारिस गरी विवादबाट जोगिँदै आएका लेखकले विवादास्पद काम गरेका छन्।

राजा वीरेन्द्रले परिवार मिलाउन भाइहरूलाई राजकाजका महत्त्वपूर्ण जिम्मेवारी भागबण्डा गर्दा नेपाल प्रहरीचाहिँ कान्छो भाई धीरेन्द्रको भागमा थियो। अब पार्टी सभापतिले पनि त्यही शैलीमा पुलिससहित गृह प्रशासन नै नातेदारलाई भागबण्डा नै गरिदिइसकेको भएचाहिँ रमेश लेखकले पदमा बसिरहनु हुँदैन नै, अरूले पनि गृहमन्त्री बन्न दर्जनचोटी सोच्नुपर्छ। कतै जवाफदेही हुन नपर्नेहरूको धन्दाको संयोजकजस्तो भई बस्ने लोभमा कोही फस्नु हुँदैन।

फेरि, उनले राजीनामा गर्दा संसदीय छानबिनजस्तो अहिलेका लागि सर्वथा अनुपयुक्त माग विपक्षीहरूले राखेका छन्। स्वायत्त र सर्वाधिकारसम्पन्न संवैधानिक निकायले अनुसन्धान गरिरहेको मुद्दामा अरू कुनै छानबिन समिति बन्नु जायज हुँदैन। यो त अरू कसैले खुलासा गरिदिएपछि अख्तियारले अनुसन्धान थालेको केस नभई स्वयं अख्तियारले खुलासा गरेको हो। यसमा अर्को छानबिन समिति भनेको अनुसन्धान भाँड्ने हर्कत पनि हुनसक्छ।

अन्तमा दयानिधी भट्टको पोस्ट, “रमेश लेखकसँग दोहोरो चिनजान भएको वर्षौं भयो। शालीनता, तर्कशीलता, गाम्भीर्य र सरलता कमै नेतामा हुने गुण उनमा थियो र छ। विगतमा शायदै मन्त्रीहरू चोखै फर्किएका भौतिक र श्रमजस्ता मन्त्रालयको नेतृत्व गर्दा पनि दाग नलागेको विगतबारे जगत जानकार छ। युवालाई पर्यटक भिसामा विदेश पठाएर दिनमै कम्तीमा ५० लाख ‘सेन्ट्रल कलेक्सन’ गर्ने गरिएको प्रकरणमा उनले पत्याएका कर्मचारी र सचिवालयका सहयोगी मुछिएका छन्। धेरै मानिसहरूको जस्तै मेरो पनि हामीले प्रेमपूर्वक भन्ने गरेका राइटर दाजु यस्तो घृणित कर्ममा सामेल भएनन् होला भन्ने झिनो विश्वास कायमै छ। गत वर्षको बाढीपहिरोमा जस्तै यो हदको अपराध कर्म देख्न ‘भिजिबिलिटी’ले साथ नदिएको हो कि, स्वार्थ समूहको चंगुलमा फस्नुभयो राइटर दाजु? एक शुभचिन्तकको नाताले नमागेको सुझाव मान्नुहुन्छ भने, एक सेकेण्ड विलम्ब नगरी राजीनामा दिनुस्। बालकोट, बुढानीलकण्ठ, बा, दाइ, भाउजू कसैको नक्कली र स्वार्थ केन्द्रित ढाडसको पछि नलाग्नुस्। कम्तीमा गोकुल बाँसकोटाबाट सिक्नुस्। जयनेपाल।”