लिग२: नेदरल्यान्ड्समाथि नेपालको लगातार दोस्रो जित

स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो। 

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग२, त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। जारी शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई लगातार दुई खेलमा हराएको हो।

स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो। 

नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले समान ३/३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा करण केसी र कुशल भुर्तेलका नाममा १/१ विकेट रह्यो। 

नेदरल्यान्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए। स्कट एडवार्डले ३०,  केले केलिनले २५, मिचेल लेभिटले २७, नोहा क्रोएसले २२, तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए। उनी खेलको प्लेयर अफ द म्याचसमेत बने।

यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५/३५ रन बनाए। यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन बनाए। सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए। 

नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले ४ विकेट लिँदा माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए। 

त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले ४ मध्ये ३ खेल जितेको छ। नेपालले स्कटल्यान्डसँगको पछिल्लो खेलमा २ रनको हार बेहोरेको थियो।

नेपाल ८ राष्ट्र सहभागी लिग२ मा १६ खेलमा १२ अंकका साथ सातौँ स्थानमा छ। नेदरल्यान्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ।