कार्ल मार्क्स भन्छन्–मानिसले इतिहास निर्माण गर्छन्, तर तिनको रोजाई अनुसार इतिहास बन्दैन। लेखक जर्ज अर्वेलका अनुसार त जसको नियन्त्रणमा वर्तमान हुन्छ, उसैका अनुसार विगत (इतिहास) को भाष्य निर्माण गरिन्छ।
फागुन २१ को साँझतिर झापा र इलामको सीमामा पर्ने सुखानीमा 'भुइँमान्छे' पुस्तक विमोचन गरियोl ५२ वर्ष पहिले पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा संलग्न पाँच जना झापाली क्रान्तिकारीको हत्या गरिएको सुखानीमा पञ्चायती आन्दोलनबारेको महत्त्वपूर्ण पुस्तकको विमोचन समाचार मात्रै नभई आफैमा इतिहास थियो। ठूलाबडाको मपाईँ लेखिने/लेखाइने मौसममा भुइँमान्छे (पुस्तक पात्रहरू) को खोजी र तारे होटेलमा पुस्तक विमोचनको साटो शहीदको शहादतस्थलतिरै पुस्तक विमोचन समय-सङ्गत होइन/थिएन।
इतिहास निर्माणबारे कार्ल मार्क्सको भनाइ छ– इतिहास मानिसले निर्माण गर्छन्, तर उनीहरूको रोजाई अनुसार इतिहास बन्दैन। प्रसिद्ध बेलायती लेखक जर्ज अर्वेलका अनुसार त जसको नियन्त्रणमा वर्तमान हुन्छ, उसैका अनुसार विगत (इतिहास) को भाष्य निर्माण गरिन्छ। यसको अर्थ इतिहासमा प्रस्तुत गरिएका तथ्यहरू सत्ता र शक्तिसापेक्ष हुन्छन्। जीवन-मरणको दोसाँधमा इतिहासको जग हाल्ने सर्वसाधारणहरू इतिहासको धुरीमा शायदै भेटिन्छन्।
'भुइँमान्छे' ले सङ्केत गरेको नेपालको बाम आन्दोलनको इतिहास परम्परामुक्त छैन। सयौँ इतिहास-सर्जक गुमनाम छन्, बेखबर छन्। पञ्चायतकालीन अधिनायकत्वताका वर्गीय मुक्ति, समानता र सम्मानको कुरा गर्ने 'क्रान्तिकारी'हरूलाई आश्रय दिने, बालबच्चाको गाँस काटेर भरणपोषण गर्ने र तिनको सुरक्षाका लागि ज्यानको पहरा दिने सर्वसाधारणहरू प्रजातन्त्रको उदयसँगै समयको विस्मृतिमा धकेलिए। आफूले लालनपालन गरेका क्रान्तिकारीहरू नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बने। हेर्दाहेर्दै सुनिने तर नदेखिने नयाँ वर्गका अधिपति बने।
हिजोका क्रान्तिकारीहरूको लय र भेषभूषा फेरिएको देख्दा भुइँमान्छेहरूको मन खिन्न छ। तर सम्मानित समाज निर्माण गर्ने साहसमा कुनै कमी आएको छैन। सत्कर्मको कसम खाएर निष्ठाको यात्रामा निस्केका कर्मठहरूको लक्ष-यात्रा अमर्त्य हुन्छ। सानातिना ओझेल/अन्धकार, हुरी/बतासले तिनको आशाको राँको निभाउन सक्दैन, सपना मार्न सक्दैन। कोही हात्ती चढ्यो भन्दैमा तिनलाई धुरी चढ्नु छैन। सर्व शक्तिमान पञ्चायती सामन्तवादसँग खाली हात लडेर जोगाएको तिनको राजनीतिक निष्ठा नम्बरी सुनजस्तै अविचलित छ। 'भुइँमान्छे' भित्रका हरेक भुइँमान्छेको जीवन-गाथा यसको दसी हो।
भुइँमान्छे को हुन्?
हिजो पञ्चायती व्यवस्थाद्वारा प्रतिबन्धित पार्टीहरू मध्येको एक अहिलेको नेपाल कम्युनिस्ट पार्टी एमाले (नेकपा, एमाले) को उद्भाव, विकास र विस्तारका सारथि हुन् यस आलेखमा चर्चा गरिएका भुइँमान्छे। यिनले एमालेको जग बसाउन आफ्नो गाँस काटेर नेताहरूको भोक टारे, कपडा दिएर तिनको चिसो छेके, नेता-कार्यकर्ताको दिशा-पिसाबसम्म सोहोरे, तिनको जीवन रक्षाका लागि प्रहरीसँग जुधे। महाभारतमा वर्णित अर्जुनका सारथि कृष्णझैं 'भुइँमान्छे' का भुइँमान्छे अनेक थिए: अभिभावक, संरक्षक, पथप्रदर्शक, जन्ती र सुँडेनी आदि। नेताहरूमा दिशाभ्रम भएका बेला, 'नीति-मुटाव' बढेका बेला, पञ्चायतले खेदेर लखतरान पारेका कारण कर्तव्य संकटले थिचिएका बेला भुइँमान्छेहरू अदम्य ऊर्जा-स्रोत बने, यस्तो स्रोत जसले आन्दोलनकारीमा थकान र पलायनको झार उम्रन दिएन।
समयसँगै भुइँमान्छेले बनाएका नेताहरू बदलिएका छन्। बदलाव आफैमा अनौठो होइन, मार्क्सवादी साहित्य र दर्शनका अनुसार बदलाव या परिवर्तन अवश्यम्भावी यथार्थ हो। परिवर्तनकै लागि भुइँमान्छे र नेताहरू एकीकृत र एकाकार भएका थिए। परिवर्तनकै लागि भुइँमान्छेले गाँस काटे, पसिनाको थोपाथोपा जम्मा गरे, कष्टका दिन आँसु रोकेर नेताको भौतिक र मनोवैज्ञानिक संरक्षणमा सतिसाल बने। यही आधा गाँस, पसिना र दबाइएको आँसुमा एमालेको जग बस्यो। अहिले एमाले अरबौँ 'दान' लिन सक्ने एक मात्र राष्ट्रिय पार्टीमा रूपान्तरित छ। मार्क्सले परिकल्पना गरेको परिवर्तन वर्गीय परिवर्तन थियो, जग र धुरीबिचको बेमेल थिएन। पसिनाको जगमा उभिएको पार्टीले अरबौँको धुरीको भार थाम्ला र?
एमाले फुटको पूर्वसन्ध्यामा –२०७८ वैशाखको मध्यतिर – नेता माधव नेपाल र केपी ओलीबिच एमालेलाई अक्षुण्ण राख्न म्यारिएट होटेलमा भएको असफल वार्ताबाट भुइँमान्छे खोजीको पृष्ठभूमि सुरु हुन्छ। वार्ताको असफलताबारे, यस पुस्तककी सर्जक एमाले नेता डा. विन्दा पाण्डेलाई एक टेलिभिजन बहसका प्रस्तोता प्रश्न गर्छन्, “नेताहरूबीच वार्ता त मिलेन नि, के भन्नुहुन्छ?” पाण्डेको स्वतःस्फूर्त जवाफ हुन्छ, “झुपडीमा बसेर बनाएको पार्टीको समस्या, पाँचतारे होटेलको वार्ताले किन मिल्थ्यो?” उनको जवाफले धेरै श्रोताको मन छुन्छ।
दुई नेताबीच पार्टी नै फुट्ने तहको “कि तँ, कि म” प्रकारको झगडाले हैरान एमाले नेता-कार्यकर्ताहरूले डा. पाण्डेलाई “तँतँ मम” गर्ने नेताहरूको हैसियत बनाउने झुपडीहरूको इतिहास खोजी गर्न प्रेरित गर्छन्। धुरीमा बस्नेहरूको गाँड कोराकोरले सिर्जना गरेको जगको खोज-यात्राका क्रममा थुप्रै आमाबुबा भेटिनु भयो। पार्टी निर्माणमा सर्वस्व समर्पणपछि झुप्रा-छाप्राको रूपान्तरण पर्खिरहनु भएका तिनै आमा-बुबा हुनुहुन्छ भुइँमान्छे, जसको सम्मानमा यो पुस्तकको शीर्षक समर्पित छ। नेपाल-ओलीबिच “तँ तँ मम” नभएको भए यो पुस्तक यही रूप र समयमा शायदै सार्वजनिक हुन्थ्यो।
अहिले माधव नेपाल एमालेमा छैनन्; ओली-नेपालबिच वादविवाद र “तँतँ, मम” को अवस्था छैन। बरु, माधव नेपालपछिको एमाले नेतृत्व एकात्मक शुद्धताको अभियानमा छ। एक व्यक्ति, एक चिन्तन, एक सोच, एक अभिव्यक्ति, एक प्रस्ताव र एक निर्णयको यो अभियान पार्टीको राजनीतिक कार्यक्रम–जनताको बहुदलीय जनवाद–सँग मेल खाँदैन। एकात्मक शुद्धताले बहुलता स्वीकार गर्दैन, बिना बहुलता बहुदलीय जनवादको कल्पना गर्नै सकिन्न। बहुदलीय जनवाद राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, पहिचानगत र वैचारिक अनेकता र विविधता मथेर एकताको नौनी निकाल्ने राजनीतिक कार्यक्रम हो। अनेकता र विविधता मथ्ने मदानी हो, प्रश्न। प्रश्नले एकात्मकताको प्राधिकार स्वीकार गर्दैन, बहुलतालाई उम्रन, फुल्न र फक्रन मलजल गर्छ। बिना प्रश्न न बहुदलीयता सम्भव छ, न बहुलता। अहिले एमालेभित्रको राजनीतिमा प्रश्न वर्जित छ l
बहुलताको नीति र एकात्मक शुद्धताको नेतृत्व अभ्यासको सह-उत्पादन हेर्दा/सुन्दा 'भुइँमान्छे' भित्रका सबै पात्र निराश देखिन्छन्। टुक्राटुक्रामा विभाजित कम्युनिस्ट समूहहरूलाई एकीकृत गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने पहलका आश्रयदाता भक्तबहादुर आले–जसको व्यवस्थापनमा २०३२ जेठमा अखिल नेपाल क्रान्तिकारी कम्युनिस्ट कोअर्डिनेसन केन्द्र (कोके) बन्यो–एमाले नेतृत्वमा आएको विचलनप्रति चिन्तित छन्। “पार्टी बनाउने, क्रान्ति गर्ने र आम नागरिकको जीवन सुधार्ने अपेक्षामा” गरिएको त्यागप्रति उनलाई पछुतो छैन तर “हुँदा खानेको वर्गबाट टाढिएर हुनेखाने वर्ग” प्रति पार्टी लहसिएको देख्दा उनको मन चिन्तित छ।
नेकपा माले निर्माणका लागि छत दिने मोरङका टेकबहादुर राईको चिन्ता यस्तै छ। राईको घर भूमिगत क्रान्तिकारीहरूको सुरक्षित आश्रयस्थल थियो। २०३५ पुसमा राईको घरमा बसेको एक साता लामो बैठकले जन्माएको थियो नेकपा माले। यो त्यही पार्टी हो जसले एकलवादी शास्त्रीय चिन्तनको जडताबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्यो, नेपाली समाज र संस्कृतिको प्रजातान्त्रीकरणमा अहम् भूमिका खेल्यो र नेकपा (एमाले) निर्माणका लागि दार्शनिक र राजनीतिक मार्गचित्र तयार गर्यो।
भुइँमान्छे खोजीको क्रममा २०७९ जेठ ६ गते भेटिएका टेक बहादुरको विगत र वर्तमानको विश्लेषण यस्तो छ, “मुलुकमा धेरै परिवर्तन भयो। आफ्नो घरमा गठन भएको पार्टीले धेरै उतारचढाव पार गरिसकेको छ। हाम्रो व्यक्तिगत जीवन पहिला जसरी नै चलेकै छ। तर, त्यतिखेर देखे-देखाएको सपना र वर्तमानको भोगाइबारे भने अनुभूति सुखद छैन।”
यही क्रममा धनुषाको ठेराकचुरी, मकवानपुरको राजदेवी, रुपन्देहीको सीतापुर (छाउनी टोल), महोत्तरीको कालापानी, कास्कीको हंसपुर, झापाको गौरादह, चितवनको नेपाल टोल र सिन्धुपाल्चोकको पिस्करलगायत ठाउँमा भेटिएका सबै 'भुइँमान्छे'हरू न्यायिक समाज निर्माणको उद्देश्य पूरा गर्न ज्यान हत्केलामा राखेर निर्माण गरेको पार्टी विगतको उद्देश्य र बाचाप्रति बेखबर देख्दा चिन्तित छन्। विगत बिर्सेर वर्तमानको भुलभुलैयामा हराइरहेको नेतृत्वले भविष्यका सम्भावनाहरूको गोडमेल गर्ला भन्नेमा उनीहरू आश्वस्त देखिन्नन्।
तर, यसको अर्थ एमालेको जगका भुइँमान्छेहरू एमालेको विकल्पको खोजीमा छन् भन्ने चाहिँ होइन। कोके निर्माणका मूल व्यवस्थापक भक्तबहादुरको मन यसको प्रमाण हो। भन्छन्, “पार्टी नेतृत्वले पटक पटक अपमान गरे पनि आफैले बनाएको पार्टीभन्दा अन्यत्र जान मान्दैन .. अझै आशा छ, कुनै विन्दुमा पुगेर नेतृत्व सुध्रने छ।” पुस्तकमा समेटिएका अधिकांश भुइँमान्छेहरूको आशय यस्तै छ। एमालेको धुरीमा बस्नेहरूले जग बसाउनेहरूको इस्पाती आदर्श गहिरोसँग पढुन्, पढ्लान्!
'भुइँमान्छे' मा त्यस्तो के छ?
“हारे अन्यायका बन्धनहरू चुँडिनेछन्, जिते दुनियाँ आफ्नो हुनेछ” भन्ने कम्युनिस्ट घोषणापत्रको हौसला बोकेर पार्टी निर्माणका लागि कठिन योगदान गरेका समाजको सबैभन्दा तल्लो तहका मानिसको अनुभव-सङ्ग्रह हो, 'भुइँमान्छे'। यो पुस्तकमा त्यागको गाथा छ, समर्पणको कथा छ। भोलिको सम्भावनाका लागि आजको बलिदानीको वृत्तान्त छ। सत्ता र शक्तिले सम्झन अप्ठ्यारो मान्ने इतिहास निर्माताको इतिहास छ पुस्तकमा।
अन्याय र असमानताको प्रतिरोध नगरे न्यायपूर्ण समाजको स्थापना हुन सक्दैन भन्ने गुन्जन छ पुस्तकमा। निराशाको राजनीति च्यापेर आशाको सपना देखाइने बेइमानी नगर्न चेतावनी पनि छ पुस्तकमा। मूलतः यो एमालेप्रति लक्षित चेतावनी हो। तर यसप्रति सबै दल चनाखो भएको राम्रो।
पसिनाको जगमा निर्मित पार्टीको धुरीमा 'सुकिला-मुकिला'ले 'दान' दिने अत्तरको बास्ना उपयुक्त हुँदैन भन्ने मत राख्ने–र त्यसबापत, पार्टी कारबाही भोगिरहेकी–लेखक पाण्डेले इतिहासका निर्माताहरूलाई विस्मरणमा जान नदिन गरेको पहल ज्यादै स्तुत्य छ। नेपालको सामाजिक-राजनीतिक रूपान्तरणको इतिहासप्रति चासो राख्ने प्रत्येक जिज्ञासुको टेबलमा पुग्नु पर्ने खालको छ पुस्तक।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
