लिग–२ र टी२० शृंखला खेलेर स्वदेश फर्कियो नेपाली टोली

एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किएको छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किएको छ।

स्वदेश फर्केपछि राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले शृंखला एकदमै राम्रो भएको र आउने दिनहरूमा अझ बढी आत्मविश्वासका साथ खेल्ने बताए। उनले स्कटल्यान्ड जानुअघि टोलीले राखेका लगभग सबै लक्ष्य पूरा भएको भन्दै खुशी व्यक्त गरे। 

“सिरिज एकदमै राम्रो भयो। जानुभन्दा अगाडि जुन लक्ष्य राखेका थियौँ, त्यो पूरा भयो जस्तो लाग्छ। जुन हिसाबले खेलेका थियौँ, त्यसमा म खुशी छु। आउने दिनहरूमा अझ बढी आत्मविश्वासका साथ खेल्ने छौँ," पौडेलले भने।

स्कटल्यान्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य (युके)मा अन्तिम तयारी गरेको थियो। तयारीका क्रममा नेपाली टोलीले युकेमा खेलिएका पाँच वटै अभ्यास खेलमा विजयी हासिल गरेको थियो।

स्कटल्यान्डमा लिग–२ का खेलअघि नेपाली टोलीले स्कटल्यान्ड ‘ए’सँग दुई अभ्यास खेल खेलेको थियो। पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

त्यसपछि भएको नेदरल्यान्ड्स र घरेलु टोली रहेको लिग–२ का चारमध्ये तीन खेलमा नेपाल विजयी भएको थियो।

लिग–२ अन्तर्गतको शृंखलापश्चात् भएको टी२० आई सिरिजमा नेपाल दोस्रो भयो।

तीन देश सम्मिलित त्रिकोणात्मक टी२० आई शृखलामा दुई जितका साथ नेपाल दोस्रो स्थानमा रह्यो। अब टी२० विश्वकपको तयारीका लागि नेपाली टोलीको भारत, अस्ट्रेलिया र श्रीलंका भ्रमण रहेको छ।