एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध नेपाल ८–० गोलले विजयी

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई ८–० को फराकिलो गोल अन्तरले हराएको छ।

काठमाडौँ– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई ८–० को फराकिलो गोल अन्तरले हराएको छ।

नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् भने गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरे।

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा भएको खेलको १२औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीताले गोल गरेकी थिइन्। त्यसैगरी, खेलका खेलको २०औँ मिनेटमा सावित्राले गोल गरेसँगै नेपालले आफ्नो अग्रता दोब्बर बनायो। त्यसपछि खेलको ४२औँ मिनेटमा सावित्राले फ्रि–किकमार्फत टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा सावित्राले गोल गर्दै टोलीलाई ४–० गोलको अग्रता दिलाइन्।

खेलको ५३औँ मिनेटमा श्रीलंकाकी सचिना डि सिल्भाले नेपालकी रश्मिलाई बक्सभित्र लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिइन्। गीताले पेनाल्टीमा गोल गर्न सफल भइन्। ६२औँ मिनेटमा अनिताको कर्नरमा निशा थोकरको हेडर गोलमा परिणत भयो। निशाको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

एकपक्षीय खेलको ७८औँ मिनेटमा सब्स्टिच्युट पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फरवार्ड रेखा पौडेलको हेडरले जाली चुम्यो। नेपालले ७-० को स्पष्ट अग्रता बनायो। खेलको ८९औँ मिनेटमा श्रीलंकाकी माहिस्का कुमुदिनीले राम्रोसँग क्लियर गर्न नसकेको बललाई पूजाले बक्सभित्रबाट उत्कृष्ट गोल गरिन्। योसँगै नेपालले ८-० को सहज जित दर्ज गर्‍यो।

नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। यता श्रीलंका भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो।