'क्रान्तिको कोख'बाट जन्मिएका कतिपय सन्ततिले समेत म समाज बदल्न लडेका उदाहरणीय जोडीबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति छैन।
०६८/६९ सालताकको त्यस घटनाले आज पनि झस्काइरहन्छ। त्यस बेला तत्कालीन जनमुक्ति सेना नेपाल र नेपाली सेनाबीच समायोजन प्रक्रिया तीव्र गतिमा अगाडि बढ्यो। सामूहिकतामा बाँचिरहेका जनमुक्ति सेनाको जीवन एक्कासि भत्ताभुंग भयो। कतिपयले भटाभट समायोजन रोजे। स्वैच्छिक अवकाश लिने चाहनेले एकमुष्ट रकम लिएर अवकाश रोजे। मैले पनि एउटा मेजरको हैसियतले पाउनुपर्ने एकमुष्ट रकम लिएर स्वैच्छिक अवकाश रोजेँ। आफूहरू राजनीतिक-वैचारिक सेना भएको र जागिर खानका लागि काम गरेको होइन भन्दै धेरैजसोले स्वैच्छिक अवकाश रोजे। अवकाश त लिएँ, तर समाजलाई नै परिवर्तनको चुनौती दिएर हिँडेको मान्छे कसरी त्यही समाजमा पुनर्स्थापित हुने भन्ने अन्योल थियो।
सबै कुरा बाँडेर खानुपर्छ भनेर १० वर्षको अनुभवले सिकायो, 'यो अन्तिम लडाई' हो भनेर जीवन उत्सर्ग गर्न हामीलाई अभिप्रेरित गरिरह्यो। अंशको घर जग्गादेखि श्रीमतीका गरगहनासम्म बेचेर आन्दोलनमा लगाउन कार्यकर्तालाई अह्रायो। तर अवकाशपछि भने मुनाफाको बाँकी जीवन धान्न नै मुस्किल पर्यो।
मधेश आन्दोलनपछि मधेशी–पहाडीबीच रोपिएको द्वन्द्व र तिक्तता उस्तै थियो। मधेशमा जयकृष्ण गोइत र ज्वालासिंहहरूको हिंसात्मक गतिविधि उस्तै थियो। अवकाश रोजेर आफ्नै गाउँ फिर्दा सो ठाउँ अरू कुनै विद्रोहीको आधार इलाका बनिसकेको हेक्कै भएन। कतिपय साथीहरू गाउँ फर्किँदै गर्दा उनीहरूको कब्जामा समेत परेका थिए। म आफै परेको क्षण अहिले पनि भुल्न सकेको छैन। गाउँभन्दा सहर थोरै भए पनि सुरक्षित हुने ठानेर सिराहाको लहानमा बस्ने निधो गरियो। शहीदको छोरीसँग केही अघि मात्रै अस्थायी क्याम्पमा हुँदा अन्तर्जातीय-जनवादी विवाह गरेको थिएँ। त्यस हिसाबले पनि पुनर्स्थापनाका लागि त्यहीँ पनि निकै संघर्ष गर्नुपर्यो। सामान्य परिवारमा जन्मेको कारण पुर्ख्यौली सम्पत्ति पनि खासै थिएन। अहिले पनि उस्तै छ।
अवकाशबाट आएको पैसाले लहानमा थोरै जमिन किनेर सानो झुपडीमा मुनाफाको जीवन बिताउने संकल्प गरियो। उपयुक्त ठाउँ र जग्गाको खोजबिनमा लागेँ, ताकि सुरक्षा सहितको पारिवारिक पुनर्स्थापना सजिलो होस्। यस क्रममा एक जना जनयुद्धका शहीदका भाइसँग संगत भयो। उनलाई जग्गा खोजिदिन आग्रह गरें। उनले आफ्नै घर छेउको आफ्नो पाँच धुर नम्बरी जग्गा दिने कुरा गरे। यसका लागि उनले साठी हजार मागे। उनका कुराले सार्है खुसी भएँ। अरू साथीहरूलाई पनि उनले जग्गा बेच्न लागेको सुनाएँ। हातमा पैसा थियो, तत्कालै २५ हजार बैना थमाएँ। जग्गा दिने बेला भने उनले आनाकानी गर्न थाले। परिवारमा दाजुभाइले मानेनन् भनेर थप एक लाख थप्न लगाए। मलाई आफ्नो पुनर्स्थापनाको चटारो थियो, थपेँ। फेरी अन्य ठाउँमा त्यति पैसामा यति जमिन आउने अवस्था पनि थिएन।
मेरो बाध्यता नै लुट्ने धन्दा बनेछ उसलाई। दोस्रो पटक पनि उनले जग्गा दिएन। आफूहरू दुई आमाका नौ दाजुभाइ भएकाले त्यो जग्गा अरूलाई नै छोड्नुपर्ने भयो भने। यसको साटो छेउमै आफूले ओगटेर राखेको खुट्टी खोलाको सार्वजनिक जग्गा 'दिने' कुरा गरे। पैसा फिर्ता नआउने भएपछि मसँग उनको प्रस्ताव मान्नुको विकल्पै रहेन। भर्खर क्याम्पबाट आएकाले समाजमा त्यति परिचित पनि थिइनँ। नयाँ सिरानीबाट जीवनको शुरूआत गर्नुपर्ने बाध्यता थियो। जस्तो मान्छेसँग संगत हुन्थ्यो उसैलाई स्विकार्नुपर्ने बाध्यता थियो, विकल्प थिएन।
मिलेर बस्ने, बाँडेर खाने र जनताको सेवा गर्ने बानी पारेकै थियो। तर यहाँ त म ठगिएँ, तर ठग्नेलाई होइन कि ठगिनेलाई नै लाज हुने अवस्था भयो। केही स्थानीय कमरेडहरूसँग यसबारे बताएँ। उनीहरूले आफूहरू पनि ठगीमा परेको बताए। त्यसपछि भने झसङ्ग भएँ। जीवनमा पहिलो पटक जग्गा किन्न खोज्दै थिएँ तर पैसा किन्ने पैसा नै ठगले खाइदिए। बुझ्दै जाँदा त्यति पैसामा अर्को ठाउँमा चार कट्ठै जग्गा आउने रहेछ। तर गर्ने के ? पछुतो मान्नु सिवाय केही बाँकी रहेन।
साथीहरूले उनीसँग पैसा फिर्ता माग्ने सल्लाह दिए। अर्को जग्गा किनाई दिने कुरा पनि सुनाए। उनीहरूले भनेको जग्गा केही टाढा भए पनि राम्रै थियो। त्यो जग्गा लिन पाउँथे भने पनि आज त्यसको राम्रो मोल आउँथ्यो। तर पैसा लिनेले फिर्ता गर्न नसकिने बताएपछि उसले जे दिन्छ, जे भन्छ त्यही स्विकार्नुको विकल्प रहेन। सार्वजनिक जग्गामै चित्त बुझाउनुपर्यो। शहीद परिवारबाट यतिसम्म बेइमानी हुन्छ भन्ने कहिल्यै कल्पना गरेको थिइनँ।
अर्को पटक फेरि उनै शहीदका भाइसँग चलनचल्तीको दरभाउ भन्दा दोब्बर पैसा लिनुपर्ने अवस्था आइपर्यो। एउटालाई चेक बाउन्स मुद्दा समेत चलाउनुपर्यो। यसरी लहानमै केही ‘कामरेड’हरूको ठगीमा परेर अवकाशको पैसा सकियो। त्यसपछिको पारिवारिक जीवन यहाँसम्म कसरी चलाउँदै आएको छु, त्यो रामकहानी आफ्नै मनको डायरीमा सुरक्षित छन्। तर म एक प्रतिनिधि पात्र हुँ। शायद यस्ता हजारौँ कथा होलान्।
मधेश आन्दोलनको उद्गमस्थल लहानमा मेरो पारिवारिक पुनर्स्थापना सुखद रहेन। मैथिलीमा एउटा कथन छ, ‘कलालक बेटा भुखे मरै त दारु पिके मातल कहै’ अर्थात् कलालको छोरो खानै नपाएर भोकै मर्यो भने पनि रक्सी खाएर मातेको ठान्छन् अरूले उसलाई। (मधेशमा रक्सी बनाएर बेच्ने र त्यसैले जीविका चलाउने जाति हो कलाल। त्यस जातिलाई लक्षित गरी बनेको हो यो उखान। यसले कुनै जातिगत आत्मसम्मानमा ठेस पुगेमा क्षमाप्रार्थी छु। केबल सन्दर्भ प्रस्ट्याउन यो कथन उल्लेख गरिएको हो।) माओवादी आन्दोलनमा आबद्ध इमानदार नेता कार्यकर्ताको हालत पछिल्लो समय यस्तै छ। उनीहरू समस्याग्रस्त छन्। कोही उति बेलादेखि बिग्रिएको घरबार व्यवस्थापन गर्न विदेशमा गई पसिना बगाउँदै छन्। समाजको नजर भने फेरिएको छैन। पसिना बगाएर आर्जेको सम्पत्ति पनि माओवादी कालमा लुटेको निकाल्दैछ भनिदिन्छन्।
निहित मनोकांक्षासहित माओवादी आन्दोलनमा लागेकाहरूको जीवन आन्दोलनको समय र अहिले पनि ऐश्वर्यमय छ, तर परिवर्तनको भावनाले निस्वार्थ आन्दोलनमा होमिएकाहरूको जीवन उतिखेर र अहिले पनि उस्तै कष्टकर छ। आमूल परिवर्तनका लागि जुन परिवार र समाजसँग उनीहरूले विद्रोह गरे, आज पुरानै अवस्थामा फर्किनु पर्दा पुनर्स्थापनाको समस्या ज्यूँकात्यू छ।
मुक्ति योद्धाहरूप्रति जनताको अपेक्षा फेरिएको छैन। आज पनि कुनै अन्याय पर्यो भने माओवादी नै खोज्दै आइपुग्छन् कतिपय मान्छे, तर माओवादी फेरिइसकेको कुरो कतिपयलाई थाहा छैन। मुक्तिका खातिर परिवार र समाजसँग सम्बन्ध विच्छेद हुन पुगेका हिजोका जनयुद्धका लडाकुहरूको पछिल्लो समय पार्टी राजनीतिसँग समेत सम्बन्ध विच्छेद बढेको छ। जनयुद्धले जुराइदिएका जनवादी विवाहहरूमा पनि सम्बन्ध विच्छेदको दर बढ्दो छ। 'क्रान्तिको कोख'बाट जन्मेका कतिपय सन्ततिले समेत म समाज बदल्न लडेका उदाहरणीय जोडीबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति छैन।
समाजको रूढीवाद र अन्धविश्वासविरुद्ध पनि थियो जनयुद्ध, तर अहिले पनि जात र धर्मको तराजुले जोख्दै मान्छेमाथि फरक व्यवहार गरिन्छ। ज्ञान तथा मानवता दृष्टि दुर्लभ छ। केही बदलाव पक्कै आएको छ, तर विभेदका अनेकन् स्वरूप जिउँदै छन्।
द्वन्द्वकालमा मात्र होइन, शान्ति कालमा समेत एउटा समाज र परिवारमा पुनर्स्थापित हुन् पटक पटक भागिदौड गर्नुपर्यो, मृत्युसँग भिड्नुपर्यो। दुई दिनको जीवनमा जीवनमा कसैले आफूमाथि र आफूले कसैमाथि मुद्दा मामिला गर्न नपरोस् भन्ने लाग्थ्यो, तर जीवनको उत्तरार्द्धमा आइपुग्दा त्यसमा कायम रहन सकिएन।
कसैसँगको बदला भावले वा सम्पत्ति कमाउने नियतले हिजो माओवादीमा लागेकाहरूको सिकार यति बेला असल माओवादीहरू भएका छन् र मूल्य चुकाइरहेका छन्। जनताले हिजो डरको कारण र आज पैसाको कारण भोट दिई आफूलाई असली ठान्ने नक्कली माओवादीहरूलाई सत्ताको मालिक बनाइरहेका छन्। आरोप भने इमानदार माओवादीहरूले झेलिरहेका छन्। निहित स्वार्थ बोकेर माओवादीमा लागेका र पछिल्लो समयका असारे माओवादीहरू यति बेला सत्ता र शक्तिको दाउ हान्न अग्रपंक्तिमा छन्। यति बेलाका खाँटी माओवादी उनीहरू नै देखिएका छन्। उनीहरूको अगाडि हिजोका इमानदार माओवादीको कुनै अर्थ र मूल्य छैन।
आज आफ्नै कमरेडले ठगेको जीवन बाँच्न मुस्किल परिरहेको छ। जनमुक्ति सेनाहरू आज विदेशमा पसिना बगाउन अभिशप्त छन्। गणतन्त्र ल्याउने घाइते अपांगहरूले उपचार पाएका छैनन् भने गणतन्त्रकै हुर्मत लिनेहरूले देश चलाइरहेका छन्। त्यसो हुँदा पनि हामी अझै तिनको खोल त्याग्न सकिरहेका छैनौ। चुनावमा उनैलाई भोट दिन मरिहत्ते गरिरहेका छौँ। चाहे माओवादी होस् वा मधेशवादी, एमाले होस् वा कांग्रेस वा राजावादी। यस्तो लाग्छ–यी दलमा लाग्ने नेता कार्यकर्ता र जनता अझै पनि भ्रममा छन्। त्यसो होइन भने आफ्नो नेतृत्व र दललाई युगसापेक्ष बनाउन र बदल्न साहस गर्नुपर्यो।
पुराना दलमा साँच्चै संकट देखिएको छ। 'कम्युनिस्टहरू'को वर्ग उत्थान भइसकेको छ। नयाँ भनिनेहरूमाथि आरम्भमै प्रश्न तेर्सिएका छन्। कतिले यो बुझ्न सकेका छैनन्, कतिले बुझेर पनि यिनै पार्टीको आड लागेर बसिरहेका छन्। कतिपय जनता र समीक्षक भन्छन्–यो व्यवस्था नै गलत छ। तर होइन, हाम्रा नेता नै गलत छन्। नेताहरू र पार्टीहरूबीचको गलत प्रतिस्पर्धाको कारण राजनीतिक व्यवस्था बदनाम हुँदै गएको छ। त्यसैले खबरदारी जरुरी छ, चुनावमा भोट परिवर्तन जरुरी छ। पुरानो विरुद्ध नयाँ जन्माउन जरुरी छ। र, जरुरी छ नयाँ बादशाहलाई घोडाबाट खसाल्न। पुराना राजा फ्याँकेर हामीले गजबै गर्यौँ, तर फेरि राजा हुन खोज्ने यिनीहरूलाई सबक सिकाउन जरुरी छ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री व्यक्तिका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
