बेचन पक्राउका मूल ‘साक्षी’लाई दिइएन बकपत्रको मौका

नक्कली शरणार्थी प्रकरणका जाहेरीवाला र साक्षी समेतको बकपत्र वैशाख ९ यता जारी छ। जिल्लामा रहेका र बकपत्रबारे सूचना नपाउने ३० भन्दा बढी साक्षी अझै काठमाडौँ जिल्ला अदालत आएका छैनन्।

काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा जोडिएका प्रमुख पात्र बेचन झालाई पक्राउ गर्न आवश्यक ‘प्रमाण र साक्षी’ जुटाउने रामशरण केसीलाई सरकारी वकिल कार्यालयले बकपत्रसमेत नगराउने प्रपञ्च शुरू गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी रहेका केसीले अदालतमा बुझाएका अडियो–रेकर्ड, भिडिओ तथा बैंकिङ चेकका आधारमा झालाई २०८१ असार १४ मा नेपाल–भारत सीमावर्ती बिन्दुबाट पक्राउ गरिएको थियो। झा जगन्नाथदेवलस्थित केन्द्रीय कारागार(भद्र)मा पुर्पक्षका लागि थुनामा छन्। झाका तर्फबाट बन्दी प्रत्यक्षीकरणसहित जिल्ला, उच्च, सर्वोच्च तीनै तहबाट मुद्दा हारेकै स्थितिमा पनि अझै प्रमुख साक्षीलाई बकपत्र बयानमा उपस्थित नगराउन सरकारी वकिल कार्यालयले जोडबल गर्दै आएको छ।

“बेचन झालाई पक्राउ गर्ने र अनुसन्धानमा लैजाने प्रमुख कारण मैले उनलाई बुझाएको २ करोड रुपैयाँको चेक तथा कुराकानी रेकर्ड हो भन्ने स्पष्ट भइसकेको छ, तैपनि कहीँकतै प्रभावमा परेर हुन सक्छ, मलाई बकपत्र दिनमा वञ्चित गराइएको स्थिति छ,” केसीले उकालोसँग भने। केसी स्वयं पनि नक्कली शरणार्थी प्रकरणमा २०८० असार १ देखि मंसिर १९ सम्म पुर्पक्षका लागि थुनामा थिए। केसीले नक्कली शरणार्थी मुख्य योजनाकार केशव दुलाल, सानु भण्डारी तथा प्रतीक थापासहितलाई आफूसहित ३४ जनाका नाममा ३ करोड ४० लाख रुपैयाँ बुझाएको बयान अदालतसमक्ष दिइसकेका छन्।

उनी अदालत तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा धरौटी बुझाएर रिहा भएका हुन्। केसीसँगै बकपत्रमा पहिलो चरणमा जोडिएका जाहेरीवाला रामकुमार रेग्मीले भने अदालतमा साक्षी बकपत्र दिइसकेका छन्। नक्कली शरणार्थी प्रकरणका जाहेरीवाला र साक्षी समेतको बकपत्र वैशाख ९ यता जारी छ। जिल्लामा रहेका र बकपत्रबारे सूचना नपाउने ३० भन्दा बढी साक्षी अझै काठमाडौँ जिल्ला अदालत आएका छैनन्।

यसैबीच, न्यायाधीश कपिलमणि गौतमको गत मंगलबारको इजलासले प्रतिवादी रामशरण केसीले दिएको निवेदन खारेज गर्दै ‘आफैलाई साक्षीका रूपमा उपस्थित हुन पाउने’ माग बदर गरिदिएको छ। “ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर मुद्दामा प्रतिवादी रही मुद्दा पुर्पक्षका लागि धरौटी तारेखमा रहेकोसमेत देखिँदा निजको मागबमोजिम साक्षीको रूपमा बकपत्र गर्न मौका प्रदान गर्न मिलेन,” आदेशमा भनिएको छ।

आदेशमा नक्कली शरणार्थी मुद्दा जाहेरवाला मनिला रायमाझी, कुन्दन देवान, कुमार खड्का, गोकुल भट्टराई, रवीन्द्र कार्की, दिलीप गौतम, भुवनसिंह लिम्बू, खगेन्द्र थेबे, डम्बरबहादुर खत्री, पदमसिंह खत्री, शोभाराम खत्री, सन्दीप ओली, सुस्मा चन्द, मनबहादुर खत्री, समीर सिवाकोटी, रोमन सिवाकोटी र सन्तोष भट्टराईलाई अन्तिम पटकका लागि बकपत्रमा उपस्थित गराउन पनि आदेश दिइएको छ।

चेक बुझाउँदाको त्यो ‘प्रमाण’
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले दिएको बयानअनुसार, बेचन झाका कारण नक्कली शरणार्थी प्रकरण एउटा ‘राजनीतिक परियोजना’का रूपमा अघि बढिसकेको थियो। यही प्रकरणमा २०८० वैशाख २० मा पक्राउ परेका सचिव पाण्डे र असार १ मा पक्राउ परेका रामशरण केसीको बयानमा दोहोरिँदै बेचन झाको नाम आउनुका साथै अन्य आवश्यक कागजी र भिडिओ प्रमाणसमेत फेला परेपछि झाको खोजबिन शुरू भएको थियो।

प्रहरी अनुसन्धानका क्रममा केसीले २०७८ मंसिर ८ गते राती झालाई २ करोड रुपैयाँको चेक बुझाउँदै गर्दाको भिडियो क्लिप र अरू रेकर्ड पनि फोला पारेको थियो। शरणार्थीलाई अमेरिका लैजानेबारे निर्णय मन्त्रिपरिषद्ले तत्कालै गर्ने र यसका लागि रकम बुझाउनुपर्ने भनेपछि चेक बुझाएको बयान केसीले दिइसकेका छन्।

‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषद्‌बाटै झाले केही निर्णय गराउन सक्छन्, उक्त निर्णयका आधारमा अमेरिका तथा तेस्रो मुलुकमा सुकुमबासी पठाउन सजिलो हुन्छ भनेर सानु भण्डारीले भनेकाले उक्त रकम मैले चेकमार्फत दिएको हुँ,” केसीले बयानमा भनेका थिए।