भोटेकोशीको बाढी: पूर्वाधारमा ठूलो क्षति, उद्धारमा प्रतिकूल मौसम अवरोध

बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले तटीय क्षेत्रमा मंलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

तस्वीर: रासस।

काठमाडौँ– भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नाका क्षेत्र अस्तव्यस्त बनाएको छ। बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। 

बाढीमा परेर १८ जना बेपत्ता भएको, ९ जनाको उद्धार गरिएको र २५ जनाभन्दा बढी उद्धारको पर्खाइमा रहेको उनले बताए। “यहाँ पानी परेको छैन। बाढी माथि (तिब्बत)बाटै आएको हो।  एकाबिहानै आएको बाढीले ठूलो क्षति गरेको छ,” उनले उकालोसँग भने, “हामी उद्धार र खोजीमा केन्द्रित छौँ। यती नै क्षति भयो भन्ने अवस्था छैन।”

बाढीले विभिन्न स्थानमा सडक र बाटो बगाउँदा उद्धार कार्यमा कठिनाइ भएको छ। उद्धारका लागि हेलिकप्टर पुगे पनि बादलले ढाकेका कारण समस्या भइरहेको अध्यक्ष तामाङले बताए। “बस्तीमा बाढी नपसे पनि नदी किनारमा रहेका जलविद्युत आयोजना र सुक्खा बन्दरगाहका संरचनामा ठूलो क्षति भएको छ,” उनले भने, “धेरै ठाउँमा सडा/बाटो भत्किएको छ। यसले एकातिर सम्पर्कमा आएकाहरूको उद्धार गर्न सकिएको छैन। अर्कातिर कति बेपत्ता छन् भनेर खोजी गर्न पनि समस्या भएको छ,” उनले भने।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। ऐतिहासिक रसुवागढीको पर्खालसहित एक दर्जनभन्दा बढी स्थानमा सडक, टिमुरेस्थित विद्युतीय गाडी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी र भन्सार कार्यालय यार्डमा रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बासमेत बगाएको प्रहरीले जनाएको छ। बढीले रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुर्‍याएको छ। 

तस्वीर: सामाजिक सञ्जाल।

रसुवागढी र टिमुरे क्षेत्रमा १८ जना सम्पर्कविहीन भएका छन्। जसमध्ये ३ जना प्रहरी, भन्सार यार्डका काम गर्ने ९ जना र ६ जना चिनियाँ नागरिक रहेका छन्। इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन्। 

उद्धारका लागि नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीसहित ९४ जनाको टोली खटिएको छ। गोसाईंकुण्ड गाउँपालिकाले जोखिम अझै रहेकोले सुरक्षित स्थानमा रहन स्थानीयलाई आग्रह गरेको छ। “खोला किनारका संरचना र बस्तीमा बाढीको जोखिम कायम नै रहेकाले स्थानीयलाई सतर्क रहन भनेका छौँ,” गाउँपालिका अध्यक्ष तामाङले भने।

उता, त्रिशूली नदीको उच्च बहावमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको उद्धार गरिएको हो। उनीहरू त्रिशूली नदीको किनारामा दाउरा काट्न गएको बेला एक्कासि आएको बाढीमा फसेका थिए। 

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा कटान र पहिरोका कारण सडक अवरुद्ध भएको छ। बाढीले कारण उक्त नदी करिडोरमा रहेका नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका परियोजनामा ठूलो क्षति पुर्‍याएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। उनका अनुसार केही आयोजनामा क्षति पुगेर र केहीमा क्षति नपुगे पनि बाढीका कारण उत्पादन  बन्द गरिएको हो। 

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको गेट बाढीले बगाएको छ। आयोजनाको पावरहाउसमा भने क्षति पुगेको छैन। २०० मेगावाटको चिलिमे प्लान्टमा पनि क्षति पुगेको छ। त्रिशूली थ्री–ए, त्रिशूली, देवीघाटलगायत आयोजना बाढीका कारण ठप्प रहेको ढकालले जानकारी दिए। 

त्रिशूली ३ 'बी' को हब सबस्टेसन पनि बाढी पसेपछि बन्द गरिएको प्राधिकरणले जनाएको छ। चिलिमे २२ मेगावाट, त्रिशूली ३ 'ए' ६० र त्रिशूली ३ बी ३७ मेगावाटका परियोजना हुन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तिब्बतमा भएको अविरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आएको हो। रसुवागढी क्षेत्रमा मंगलबार बिहान साढे ३ बजे बाढी पुगेको थियो।  त्यसपछि बाढी त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोटको बेत्रावती केन्द्र जलमापन केन्द्रसम्म पुगेको थियो।  बेत्रावती केन्द्रमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र पछिल्लो समय केही घट्दो क्रममा रहेको विभागले जनाएको छ। 

बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले तटीय क्षेत्रमा मंलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।