चोभार गल्छीको गेग्र्यान सरसफाइ तत्कालका लागि स्थगित

स्थानीयको विरोधपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चोभार गल्छीको गेग्र्यान सरसफाइको निर्णय तत्कालका लागि स्थगित गरेको छ।

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत जेठ १४ गते गरेको ‘चोभार गल्छी’को गेग्र्यान सरसफाइको निर्णय तत्कालका लागि स्थगित गरेको छ।

स्थानीयको विरोध र ललितपुर महानगरपालिका तथा कीर्तिपुर नगरपालिका जस्ता सम्बन्धित स्थानीय तहहरू योजनाबाट पछि हटेपछि यो काम तत्कालका लागि थाँती राखिएको हो।

प्राधिकरणका प्रवक्ता सुरेश सुनारले स्थानीयकै मागमा भएको निर्णयमा पछि स्थानीयबाटै विरोध आएकाले अबका लागि थप काम हुने सम्भावना नरहेको बताएका छन्।

यसैगरी, सम्बन्धित सरोकारवाला निकाय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी उद्धव नेपालले पनि यो योजना हाललाई रोकिएको पुष्टि गरे।

विवाद बढेपछि समितिले ललितपुर महानगर र कीर्तिपुर नगरपालिकालाई सहयोगका लागि औपचारिक पत्राचार गरेको थियो। कीर्तिपुर नगरपालिकाबाट समर्थन नभएको पत्र प्राप्त भएपछि अहिलेका लागि गेग्र्यान हटाउने काम रोकिएको सूचना अधिकारी नेपालले जानकारी दिए।

उनका अनुसार सो योजनाबाट पछि हट्ने वा निरन्तरता दिने भन्ने विषयमा भने समितिले औपचारिक निर्णय गरिसकेको छैन। “अहिले वर्षा पनि शुरू भयो, बाढी पनि आइरहेका छन्, सोही कारण यो कार्य थाँती राखिएको छ,” उनले भने।

यो पनि : चोभार गल्छीमा गर्न खोजिएको के हो?