इजरायल–इरानबीचको युद्ध रोकिए पनि पूर्णरूपमा जोखिम टरेको छैन। छिमेकी देशसँग इजरायलको शत्रुतापूर्ण सम्बन्ध भएकाले युद्ध कहिले भड्कन्छ थाहा हुन्न। तर त्यहाँका नेपाली युद्धकै अवस्थामा पनि फर्कन चाहँदैनन्।
काठमाडौँ– गत महिना इजरायल र इरानबीच चलेको युद्ध १२ दिनमा रोकियो। तर इजरायल अझै युद्धैमै छ। इजरायली सेनाले प्यालेस्टाइनमा पर्ने गाजाक्षेत्र अझै छाडेको छैन। वैदेशिक रोजगारीका लागि इजरायल गएका नेपाली भने फर्किने मनस्थितिमा छैनन्।
इजरायलस्थित नेपाली दूतावासका अनुसार त्यहाँ करिब साढे ५ हजार नेपाली छन्। त्यसमा करिब एक हजार अवैध रूपमा बसोबास गरिरहेका छन्। इजरायलमा अधिकांश नेपाली ‘केयर गिभर’मा जान्छन्। करिब ३०० जना कृषि क्षेत्रमा छन्।
इजरायलले गरेको आक्रमणको बदलामा गत असार ७ गतेदेखि इरानले पनि शक्तिशाली क्षेप्यास्त्रहरू प्रहार गरेको थियो। इजरालय पुगेका केही नेपालीले क्षेप्यास्त्र आक्रमणबाट भएको क्षति र बंकरमा लुकेको भिडियो तथा फोटोहरू सामाजिक सञ्जालमा राखेका थिए। उनीहरू त्रसित थिए।
युद्ध शुरू भएपछि इजरायलबाट एक जना डाक्टर र इरानबाट सात जना गरी आठ नेपालीको उद्धार गरिएको थियो। परराष्ट्र मन्त्रालयले तत्काल उद्धार चाहने नेपालीका लागि अनलाइन फारमसमेत खुला गरेको थियो, जसमा करिब एक हजारले फर्कने इच्छा गरेका थिए।
इरान र इजरायलबीचको युद्ध टुंगिएपछि उनीहरू आएका छैनन्। तर इजरायलमा पूर्णरूपमा युद्ध टुंगिएको छैन। प्यालेस्टाइनको गाजा क्षेत्रमा हमाससँग युद्ध जारी छ।
इजरालयमा एक वर्षदेखि केयर गिभरका रूपमा बसिरहेका एक नेपालीका अनुसार त्यहाँ हमास र लेबनानबाट साना हवाई आक्रमण जारी छन्। उनी भन्छन्, “यहाँको प्रतिरक्षा प्रणाली बलियो भएकाले ठूलो असर परेको छैन। यहाँको दैनिकी सामान्य छ, डराउनुपर्ने स्थिति छैन।”
छिमेकी मुलुकहरूसँग इजरायलको राम्रो सम्बन्ध नभएकाले त्यहाँ युद्धको जोखिम सधैँ भइरहन्छ। लेबनानबाट सशस्त्र समूह हिजबुल्लाह र इरान समर्थित विभिन्न समूहले इजरायलमा आक्रमणको प्रयास गरिरहन्छन्। त्यसैले ढुक्क भएर बस्न भने नसकिने उनी बताउँछन्।
इजरायलमा नेपाली प्रायः तेलअभिव, रमात गान, हाइफा, अस्केलोन, जेरुसेलमजस्ता शहरमा बस्छन्। त्यसबाहेक सीमा क्षेत्रमा पनि केही नेपाली बस्न्। यीमध्ये अस्केलोन, असदोद र स्देरोत युद्धको जोखिम क्षेत्र हुन्।
हमासले २०२३ अक्टुबर ७ मा इजरायलमा आक्रमण गर्दा करिब १२ सय जना मारिएका थिए। जसमा १० नेपाली विद्यार्थी पनि थिए। नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात छ। हमासको उक्त आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही शुरू गरेको थियो।
हमास र इजरायलबीचको युद्ध पूर्णरूपमा रोकिएको छैन। गत असार १९ गते मात्रै इजरायले प्यालेस्टाइनमा हवाई आक्रमण गरेको छ। त्यसमा कम्तीमा ११८ प्यालेस्टिनीको मृत्यु भएको र ५८१ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गाजा क्षेत्रमा खानाको लाइनमा लागेका प्यालेस्टिनीलाई बारम्बार गोली हानेर हत्या गरिएको समाचार पनि आउने गरका छन्।
युद्ध नरोकिए पनि त्यहाँ रहेका नेपाली फर्किने योजनामा छैनन्। आफूहरू धेरै दुःख झेलेर आएको र नेपाल गएपछि रोजगारीकै समस्या हुने हुँदा समयअघि नै नफर्किने उकालोसँग सम्पर्कमा आएका त्यहाँका नेपालीको भनाइ छ।
राजन दुवाडी १८ महिनादेखि इजरायलको कृषि क्षेत्रमा कार्यरत छन्। उनी पहिलो पटक सन् २०१३ मा ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत् त्यहाँ पुगेका थिए।
पहिले अवस्था तनावपूर्ण भए पनि अहिले सामान्य रहेको राजन बताउँछन्। “इराजनसँग युद्ध रोकिएपछि अहिले क्षेप्यास्त्र प्रहार भएको छैन, साइरनको आवाज पनि सुनिएको छैन,” उनी भन्छन्, “नियमित काममा गइरहेका छौँ।”
तर अन्य देशसँग इजरायलको युद्ध पूर्णरूपमा अन्त्य नभएकाले आफू सचेत भएको उनी बताउँछन्। “एउटा युद्ध रोकिएपछि पनि पूरा ढुक्क हुने सक्ने अवस्था छैन,” उनी भन्छन्।
एनआरएनए इजराइलका महासचिव अलि मियाँ पनि इरानसँग युद्धविरामले जोखिम टरेको बताउँछन्। त्यही कारण इजरायलबाट नेपाल फर्किहाल्नु पर्ने स्थिति नभएको उनको भनाइ छ। “अहिलेसम्मकै ठूलो हमला भएकाले सबैजना अत्तालिएको अवस्था थियो,” उनी भन्छन्, “त्यो बेला अवस्था फरक थियो, अहिले साम्य छ।”
आर्कषक तलब भएकाले पनि जटिल अवस्थामा समेत नेपालीहरू इजरायल छोड्न तयार नभएको मियाँ बताउँछन्। “नेपालमा योबेला भनेजस्तो रोजगारी छैन। महिनाको कम्तीमा २ लाख कमाएर पठाइरहेको अवस्था छ,” उनी भन्छन्।
इजरायलका लागि नेपाली राजदूत डा. धनप्रसाद पण्डितले अहिले अवस्था सामान्य बनेको बताए। त्यही कारण नेपाली तत्काल फर्कन नचाहेको उनको भनाइ छ। “इजरायलको प्रतिरक्षा प्रणाली र बंकरको सुरक्षाले आत्तिहाल्नु पर्ने अवस्था छैन,” उनी भन्छन्, “यद्यपि, घर फर्कन चाहेका नेपाली फर्काउन सकिएला। तर कोही पनि नेपाली घर फर्कन भनेर आएका छैनन्।”
इजरायलमा कहिले युद्ध हुन्छ भनेर भन्न नसकिने राजदूत पण्डित बताउँछन्। सबै छिमेकीसँग इजरायलको शत्रुपूर्ण व्यवहार भएकाले पनि कुनै पनि बेला जोखिम हुने उनको भनाइ छ।
“यहाँको युद्धसँग पनि नेपालीहरू अभ्यस्त भइसकेका छन्,” उनी भन्छन्, “युद्ध हुँदा के गर्ने, कसरी सुरक्षित हुने भन्ने सबैले बुझिसकेका छन्। त्यसकारण आत्तिनु पर्ने अवस्था होइन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
