थ्रीडी प्रिन्टिङबाटै मानव अंगदेखि रकेटसम्म, नेपालमा कसरी बढ्दैछ प्रयोग?

थ्रीडी प्रिन्टिङबाट खानेकुरा, मानव अंग र अन्तरिक्ष यानका भागसमेत बन्न थालेका छन्। नेपालमा र्‍यान र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाले सफल परियोजना सञ्चालन गर्दै औद्योगिक उत्पादनको सम्भावना देखाएका छन्।

काठमाडौँ– कल्पना गर्नुहोस्, तपाईंको भारवहन क्षमता ५० केजी मात्र छ, तर एउटा यस्तो उपकरणको सहायताले १००–१५० केजीको भार पनि सजिलै उठाउन सक्नुहुन्छ। सुन्दा अपत्यारिलो लाग्न सक्छ, विश्वका विभिन्न देशमा सफल परीक्षण भइसकेको यो उपकरण नेपालमा पनि निकट भविष्यमा उपलब्ध नहोला भन्न सकिन्न।

यसरी आफ्नो क्षमताभन्दा कैयौँ गुणा भार बहन गर्न सघाउने तथा शरीरका कुनै कमजोर भागलाई सहज जीवनयापनका लागि सहयोग गर्ने साधन हो- एक्जोस्केलेटन। यस्तो उन्नत उपकरणलाई थ्रीडी प्रिन्टिङ प्रविधिको माध्यमले तयार गर्ने जमर्कोमा केही नेपाली युवा जुटेका छन्।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान)मा ओमकार जैशवाल र उनको समूह थ्रीडी प्रिन्टिङको सहायताले नेपालमै एक्जोस्केलेटन तयार गर्ने योजनामा छन। र्यानको सचिवका रूपमा कार्यरत जैशवाल भन्छन्, “एक्जोस्केलेटन थ्रीडी प्रिन्ट गर्ने डिजाइन तयार भइसक्यो, तर लगानी अभावले गर्दा रोकिइरहेका छौँ।”

थ्रीडी प्रिन्टिङ आविष्कार भएको करिब पाँच दशक भए पनि नेपालको सन्दर्भमा भने अझै नौलो र धेरैले आफ्नो हबीको रूपमा मात्रै प्रयोग गर्दै आएको प्रविधि हो।

के हो थ्रीडी प्रिन्टिङ?
थ्रीडी प्रिन्टिङ एउटा यस्तो प्रविधि हो, जसले कम्प्युटरमा बनाइएको डिजिटल डिजाइनलाई ठोस भौतिक वस्तुमा परिणत गर्छ। यसलाई ‘एडिटिभ म्यानुफ्याक्चरिङ’ पनि भनिन्छ। किनकि, यसमा परम्परागत निर्माण विधिजस्तो कुनै वस्तुलाई काटेर वा खोपेर आकार दिइँदैन, बरु विभिन्न पदार्थको एक पत्रमाथि अर्को पत्र खप्ट्याउँदै वस्तु निर्माण गरिन्छ। जसरी सामान्य प्रिन्टरले कागजमा मसीका थोपा राखेर अक्षर वा चित्र बनाउँछ, त्यसरी नै थ्रीडी प्रिन्टरले प्लास्टिक, धातु, रेजिन वा अन्य पदार्थका सूक्ष्म पत्र एकपछि अर्को थप्दै त्रि-आयामिक (थ्रीडी) वस्तु तयार गर्छ।

थ्रीडी प्रिन्टिङबाट कुनै पनि वस्तु तयार गर्न सबैभन्दा पहिला डिजिटल डिजाइन फाइल तयार गरिन्छ। यो डिजाइनलाई कम्प्युटरमा विशेष सफ्टवेयरको सहायताले बनाइन्छ। उक्त डिजाइनलाई थ्रीडी प्रिन्टरले 'रिड' गर्छ र प्रिन्टिङका लागि प्रयुक्त वस्तुको एक तहमाथि अर्को तह थप्दै भौतिक वस्तु तयार हुन्छ। यो प्रक्रियाले परम्परागत निर्माण विधिको तुलनामा जटिलभन्दा जटिल आकारका वस्तु पनि सहजै र कम समयमा उत्पादन गर्नसक्छ।null

सन् १९८३ मा चक हुलले विश्वकै पहिलो थ्रीडी प्रिन्टरको आविष्कार गरी एउटा सानो प्लास्टिकको कप बनाएका थिए। उनको यही आविष्कारबाट शुरू भएको थ्रीडी प्रिन्टर, सन् १९९० को दशकदेखि साना उद्योग तथा उपभोक्ताका लागि उपलब्ध हुन थाल्यो। सन् २००० को शुरूआतबाट औद्योगिक रूपमै प्रयोग भयो।

पछिल्लो समय थ्रीडी प्रिन्टिङको प्रविधि थप विकसित हुँदै छिटो, अझ सटिक र बहुउपयोगी भएको छ। यसबाट सामान निर्माण गर्न प्रयोग गरिने पदार्थको दायरा पनि फराकिलो बन्दै गएको छ। पहिले, सामान्यतया प्लास्टिकमा सीमित रहेको यो प्रविधिमा अब धातु, सेरामिक, रेजिन्स, कार्बन फाइबरका साथै फरक गुण भएका दुई वा सोभन्दा बढी पदार्थको मिश्रणबाट तयार गरिने ‘कम्पोजिट्स’ आदिको प्रयोग हुन थालेको छ।

यसले गर्दा घर, गाडी, पुल, रकेटजस्ता ठूला र जटिल वस्तु पनि थ्रीडी प्रिन्टिङबाटै बनाउन सम्भव भएको छ। अझ विभिन्न जैविक पदार्थको प्रयोग गर्दै यो प्रविधिबाटै खानेकुरा, मानव कोषिका तथा अंगप्रत्यांगसमेत बनाउन सकिने भएको छ। एरोस्पेसको क्षेत्रमा पनि थ्रीडी प्रिन्टिङकै प्रयोगबाट हवाईजहाज तथा स्पेसक्राफ्टका हलुका तथा जटिल भागसमेत बनाउने गरिएको छ।

यी क्षेत्रमा थ्रीडी प्रिन्टिङको प्रयोग
थ्रीडी प्रिन्टिङले उत्पादन र निर्माणको परम्परागत धारणालाई नै परिवर्तन गरिरहेको छ। यसको उपयोगिता एउटा वा दुइटा क्षेत्रमा मात्र सीमित छैन, बरु यसले विविध उद्योगमा नयाँ सम्भावना खोलिदिएको छ।

चिकित्सा क्षेत्रमा थ्रीडी प्रिन्टिङले नयाँ सम्भावनाको ढोका खोलेको छ। बिरामीको विशिष्ट आवश्यकताअनुसार व्यक्तिगतकृत औषधि र उपकरण बनाउन मद्दत गर्ने भएकाले यसको सहयोगमा उपचारलाई अझ प्रभावकारी बनाउँछ। सन् २००२ मै वेक फरेस्ट इन्स्टिच्युट फर रिजेनेरेटिभ मेडिसिनका डा. एन्थोनी अटालाले थ्रीडी प्रिन्टिङको प्रयोगबाट पहिलोपटक काम गर्ने मूत्राशय नै तयार गरिसकेका थिए।

बिरामीको कोष र बायोडिग्रेडेबल स्काफोल्डको प्रयोग गरी करिब दुई महिना समय लगाएर तयार गरिएको उक्त मूत्राशय, ल्युक मास्सेल्ला नाम गरेका बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो। यसरी आफ्नै कोषको प्रयोगबाट तयार अंग, प्रत्यारोपण गर्दा शरीरले रिजेक्ट गर्ने सम्भावना अत्यन्त न्यून हुने चिकित्कसको भनाइ छ।

सन् २०१७ मा, नर्थवेस्टर्न विश्वविद्यालयका वैज्ञानिकले बाँझोपन भएको मुसामा थ्रीडी प्रिन्टिङबाट तयार गरिएको डिम्बाशय प्रत्यारोपण गरिएको थियो भने मुसाले स्वस्थ बच्चा जन्माएको थियो। यो प्रविधिमा थप अनुसन्धान भएमा भविष्यमा क्यान्सरको उपचार वा अन्य कारणले प्रजनन प्रणालीको समस्या भएका महिलालाई कृत्रिम डिम्बासय प्रत्यारोपण गरी समस्याको समाधान गर्न सकिन्छ।

सन् २०२१ मा लन्डनस्थित मुरफील्डस आई हस्पिटलमा स्टिभ भर्ज नाम गरेका व्यक्तिमा पहिलोपटक थ्रीडी प्रिन्टिङबाट तयार गरिएको प्रोस्थेटिक आँखा प्रत्यारोपण गरिएको थियो। परम्परागत एक्रेलिक प्रोस्थेटिक आँखा बनाउन करिब ६ हप्ता लाग्ने गरेकोमा, थ्रीडी प्रिन्टिङबाट तीन दिनमै तयार गरिएको थियो।

यातायात क्षेत्रमा: यातायात क्षेत्रमा पनि थ्रीडी प्रिन्टिङको प्रयोग बढ्दो छ। यसले हलुका, बलियो र इन्धन कुशल सवारीसाधनको निर्माणमा मद्दत गर्छ। सन् २०१० मै इन्जिनियरिङ फर्म कोर इकोलोजिकले थ्रीडी प्रिन्टेड कार उर्बी तयार गरेको भए पनि विश्वको पहिलो थ्रीडी प्रिन्टेड कारको उपाधि भने सन् २०१४ मा निर्माण गरिएको ‘स्ट्रेटी’को नाममा छ। उर्बीको बडी मात्र थ्रीडी प्रिन्ट गरिएको थियो भने स्ट्रेटीको भने च्यासिसका साथै बडी पनि थ्रीडी प्रिन्ट गरी पाँच दिनमै तयार गरिएको थियो। यसबाहेक अन्य थुप्रै कम्पनी पनि थ्रीडी प्रिन्टेड कार निर्माणमा सक्रिय छन्।

यस्तै, सन् २०१९ मा युनिभर्सिटी अफ मेनका अनुसन्धानकर्ताको टोलीले २५ फिट लामो, पाँच हजार पाउन्ड तौल भएको थ्रीडी प्रिन्टेड डुंगा तयार गरेका थिए। थ्रीडीरिगो नाम दिइएको उक्त डुंगा जम्मा ७२ घन्टामा तयार गरिएको थियो।null

यस्तै, बिग रिप म्यानुफ्याक्चरिङ कम्पनीले सार्वजनिक गरेको ‘नेरा’ मोटरसाइकलको इन्जिन र इलेक्ट्रिकल पार्ट्सबाहेक सबै थ्रीडी प्रिन्ट गरेर नै तयार गरिएको थियो। करिब तीन दिन लगाएर तयार गरिएको उक्त मोटरसाइकल विश्वकै पहिलो थ्रीडी प्रिन्टेड मोटरसाइकल हो।

भवन निर्माण क्षेत्रमा पनि थ्रीडी प्रिन्टिङले लागत घटाउन र निर्माण समय कम गर्न मद्दत गरिरहेको छ। सन् २०१७ मा टेक स्टार्टअप कम्पनी एपिस कोरले रशियामा विश्वकै पहिलो थ्रीडी प्रिन्टेड आवासीय घर निर्माण गरेको थियो। निर्माणस्थलमै थ्रीडी प्रिन्टर राखेर, एक दिनमै निर्माण सम्पन्न गरिएको उक्त घर करिब ११ हजार डलरको लागतमा तयार भएको हो।

सन् २०२० मा इटालियन आर्किटेक्ट मारियो कुसिनेलाले थ्रीडी प्रिन्टिङ प्रविधिबाट विश्वमै पहिलोपटक क्ले हाउस बनाए। टेक्ला नाम दिइएको, ६० मिटर स्क्वायरको उक्त घर जम्मा २०० घण्टामा तयार गरिएको थियो। सन् २०२१ मा नेदरल्यान्ड्सको एम्स्टर्डममा विश्वकै पहिलो थ्रीडी प्रिन्टेड पुल प्रयोगमा ल्याइएको थियो।

यस्तै, दुबई फ्युचर फाउन्डेसनले दुबईमा विश्वकै पहिलो थ्रीडी प्रिन्टेड कमर्सियल बिल्डिङ तयार गरेको छ। २० फिट उचाइ, १२० फिट लम्बाइ अनि ४० फिट चौडाइ भएको एउटा थ्रीडी प्रिन्टरको सहायताबाट निर्माण गरिएको उक्त बिल्डिङ करिब १७ दिनमा प्रिन्ट भई तयार भएको हो। ‘अफिस अफ दी फ्युचर’ नाम दिइएको भवन निर्माण गर्दा परम्परागत भवन निर्माण पद्धतिभन्दा ५० प्रतिशत कम जनशक्ति अनि ६० प्रतिशत कम कन्स्ट्रक्सन वेस्ट निस्किएको दुबई फ्युचर फाउन्डेसनको दाबी छ।

विश्वका अन्य देशमा पनि प्रोटोटाइपका रूपमा थ्रीडी प्रिन्टिङबाट भवन तयार हुँदै आएको छ। छिमेकी देश भारतमा पनि सन् २०२१ मा, आईआईटी मद्रासको स्टार्टअप कम्पनी त्वष्टाले भारतकै पहिलो थ्रीडी प्रिन्टेड घर तयार गरेको छ। बेडरुम, हल, किचेनसहित ६०० स्क्वायर फुट क्षेत्रफलको उक्त घर करिब हप्ता दिनमा तयार गरिएको हो। यस्तै आईसीओएन नाम गरेको कम्पनीले त व्यावसायिक रूपमा नै थ्रीडी प्रिन्टेड घर निर्माण थालेको छ।

थ्रीडी प्रिन्टिङले खाद्य उद्योगमा पनि नयाँ आयाम थपेको छ। सन् २०१७ मा केएफसीले रसियन थ्रीडी प्रिन्टिङ स्टार्टअप कम्पनीसँगको सहकार्यमा चिकेन र प्लान्ट सेलबाट तयार गरेको थ्रीडी प्रिन्टेड चिकेन नगेट बनाएको थियो।

लन्डनमा रहेको फुड इन्क विश्वकै पहिलो थ्रीडी प्रिन्टेड रेस्टुरेन्ट हो। फुड इन्कले त्यहाँ प्रयोग भएका फर्निचर तथा उपलब्ध सबै खाना थ्रीडी प्रिन्टिङबाट नै निर्माण गरिएको बताएको छ।

सन् २०२१ मा इजरायली कम्पनी एलेफ फार्म्सले थ्रीडी प्रिन्टबाटै ल्याबमा मासु तयार गरेको थियो। वास्तविक मासुको जस्तै स्वाद र टेक्चर रहेको मासु ल्याबमै तयार गरेको उक्त कम्पनीले यसरी तयार हुने मासु जापान सप्लाई गर्ने गरी मित्सुबिसी कर्पोरेसनसँग सम्झौता गरेको छ।

थ्रीडी प्रिन्टिङ अन्तरिक्षमा आवश्यक पर्ने उपकरण र सामग्री निर्माण गर्न सहयोग पुर्‍याएको छ। अहिले रकेटका विभिन्न भाग थ्रीडी प्रिन्टिङबाटै तयार गरिँदै आएको छ भने भविष्यमा अन्तरिक्षमा नै थ्रीडी प्रिन्टिङबाट खाना तयार गर्ने उद्देश्यका साथ नासाले पनि थ्रीडी प्रिन्टेड फुड टेक्नोलोजीमा लगानी गरेको छ।

सन् २०२३ मार्चमा क्यालिफोर्निया अवस्थित स्टार्टअप, रिलेटीभिटी स्पेसले थ्रीडी प्रिन्टेड टेरान वान रकेट लन्च गर्‍यो। १०० फुट लामो अनि ७.५ फुट चौडा टेरान वान रकेटको ८५ प्रतिशत भाग थ्रीडी प्रिन्टिङबाट तयार गरिएको हो। स्पेसमा लन्च गरिएको यो विश्वकै पहिलो थ्रीडी प्रिन्टेड रकेट हो।

थ्रीडी प्रिन्टिङ प्रविधि यही गतिमै विकसित हुँदै जाँदा, यसले निकट भविष्यमा उत्पादन, निर्माण, खाद्य, यातायात, स्पेस एक्स्प्लोरेसन्स, मेडिकल लगायतका क्षेत्रमा ठूलै क्रान्ति ल्याउने निश्चित नै छ।

नेपालमा के छ थ्रीडी प्रिन्टिङको अवस्था?
नेपालमा थ्रीडी प्रिन्टिङको प्रयोग र विकासले भर्खरै गति लिँदैछ। केही युवा आविष्कारकले यस प्रविधिलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिरहेका छन्। सन् २०१२ बाटै थ्रीडी प्रिन्टिङसम्बन्धी काम गर्दै आएको र्यान (रोबोटिक्स एसोसिएसन अफ नेपाल)ले विभिन्न प्रोजेक्ट अनि प्रोटोटाइप निर्माणका लागि थ्रीडी प्रिन्टिङ प्रयोग गर्दै आएको छ। सन् २०१३–२०१४ तिरै थ्रीडी प्रिन्टर प्रयोग गरेर ड्रोन तयार गरेको र्यानले हालसम्म २५० भन्दा ज्यादा सामग्री तयार पारेको छ।

र्यानका सचिव ओमकार जैशवालको समूहले थ्रीडी प्रिन्टिङकै सहायताले पहिरो गएको ठाउँमा, बोटबिरुवाको बिउ छर्ने ‘सिड बम्बिंग ड्रोन’ पनि तयार गर्न सफल भएको थियो। उनका अनुसार, अहिले विदेशका विभिन्न कम्पनीले पनि उक्त प्रविधिमा रुची देखाउँदै आएका छन्।

null

र्यानले थ्रीडी प्रिन्टरबाटै बाढीसम्बन्धी पूर्वसूचना दिने ‘अर्ली वार्निङ सिस्टम’ पनि तयार गरेको छ। उसले विभिन्न उपकरणको केसिङ, कभर बनाउनका लागि पनि थ्रीडी प्रिन्टिङ उपयोग गर्दै आएको छ। केही वर्षअघि मात्र जापान सरकारले ट्याक्सीमा जडान गर्न लागेको सेन्सरका लागि चाहिने डेढ लाख थान केसिङ यहीँबाट तयार गरेर पठाएको जैशवाल बताउँछन्। यसबाहेक, र्यानले थ्रीडी प्रिन्टिङकै सहायताले प्रोस्थेटिक हात पनि निर्माण गर्दै आएको छ।

देशभरका करिब दुई दर्जनभन्दा बढी स्कुलसँग पार्टनरसिप गरेर थ्रीडी प्रिन्टिङ अनि रोबोटिक्ससम्बन्धी कार्यशाला पनि र्यानले गर्दै आएको छ। “पहिला इन्जिनियरिङ पढ्दै गरेकाले मात्र गर्ने थ्रीडी डिजाइनिङ, तालिमपछि कक्षा ४–५ का विद्यार्थीले समेत गर्दै आएका छन्,” जैशवाल बताउँछन्। ह्युमानोइड रोबोट तयार गर्ने लक्ष्यमा पनि काम गर्दै आएको र्यानले यसका लागि चाहिने पाटपुर्जा थ्रीडी प्रिन्टिङबाटै तयार गर्दैछ। “छिट्टै नै नेपालमा पनि सोफिया जस्तै ह्युमानोइड रोबोट देख्न पाउनुहुन्छ तपाईंहरूले,” जैशवालले बताए, जसले नेपालमा रोबोटिक्सको भविष्यप्रति आशा जगाउँछ।

यस्तै, राष्ट्रिय आविष्कार केन्द्रले पनि नयाँ डिजाइन, अनि इनोभेसनका लागि थ्रीडी प्रिन्टर प्रयोग गर्दै आएको छ। आविष्कार केन्द्रले हाल ड्रोनका लागि आवश्यक पार्टपुर्जा थ्रीडी प्रिन्टरकै प्रयोगबाट तयार गर्दै आएको छ। केन्द्रले आविष्कारक, प्राध्यापक, रिसर्चर अनि विद्यार्थीलाई चाहिने स-साना भाग निःशुल्क थ्रीडी प्रिन्ट गर्दै आएको छ भने, अलिक ठूला भाग पनि सामग्रीको शुल्क लिएर बनाइदिने गरेको छ।

राष्ट्रिय आविष्कार केन्द्रको सफल उत्पादनमध्ये एक ‘न्यानो नानी’का लागि आवश्यक केही भाग पनि थ्रीडी प्रिन्टरकै प्रयोग गरी तयार गरिएको थियो। भर्खर जन्मिएका शिशुलाई न्यानो राख्दै हाइपोथर्मियाबाट बचाउने बायोमेडिकल इक्विपमेन्ट न्यानो नानी १०० थानभन्दा बढी उत्पादन गरी देशका विभिन्न अस्पतालमा प्रयोग हुँदै आएको छ।

“अहिले यहाँ भएको थ्रीडी प्रिन्टर त हबीका लागि प्रयोग गर्ने किसिमको हो, अलिक महँगो पर्ने इन्डस्ट्रियल थ्रीडी प्रिन्टर उपलब्ध भएको खण्डमा भोलिको दिनमा सिधै बजारमा जान सक्ने प्रोडक्ट पनि उत्पादन गर्न सक्षम छौँ,” राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर सन्दीप गौतमले भने।

कोभिडको समयमा केन्द्रले एउटै अक्सिजन सिलिन्डरबाट दुई जना बिरामीले अक्सिजन लिन सक्ने गरी थ्रीडी प्रिन्टेड भल्भ बनाउँदै गर्दा, अभिषेक भण्डारी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनियरिङ पढ्दै थिए। आविष्कार केन्द्रको उक्त काम देखेर उनमा पनि थ्रीडी प्रिन्टिङसम्बन्धी रुची बढ्दै गयो। इन्जिनियरिङको औपचारिक अध्ययन सक्किनासाथ उनले ‘आरा टेक थ्रीडी’ नामक कम्पनी शुरू गरे।

इटहरीमा उत्पादन अनि काठमाडौँको बसुन्धरास्थित आउटलेटबाट, आफ्नो उत्पादन बिक्री गर्दै आएको आरा टेकले थ्रीडी प्रिन्टिङकै प्रयोगबाट सयभन्दा बढी प्रोडक्ट ट्रायल गरिसकेको छ। आरा टेक थ्रीडीको सफल उत्पादनमध्ये एक हो मुन ल्याम्प। २०७९ सालदेखि उत्पादन शुरू गरेको मुन ल्याम्प अहिले भर्सन ६ पुगेको छ। उपभोक्ताले आफ्नो इच्छाअनुसार कस्टमाइज गर्नसक्ने प्रेस्टिज नेमप्लेट, मुनल्याम्प लगायतका अन्य सामान गिफ्ट आइटमको रूपमा बिक्री हुँदै आएको छ। आरा टेक थ्रीडीले महिनाको करिब एक लाख ५० हजार बराबरको गिफ्ट आइटम मात्रै बिक्री गरेको जनाएको छ।nullदुरुपयोगको डर पनि उस्तै
हरेक प्रविधिजस्तै थ्रीडी प्रिन्टिङका पनि नकारात्मक पक्ष छन् जसलाई नजरअन्दाज गर्न सकिँदैन। अमेरिकन ल इन्फोर्समेन्ट एजेन्सी (एफबीआई)ले ल इन्फोर्समेन्ट बुलेटिनमा उल्लेख गरेअनुसार विभिन्न देशका थुप्रै व्यक्तिले थ्रीडी प्रिन्टिङको दुरुपयोग गर्दै बन्दुक बनाएको, बन्दुक बनाउने ब्लू प्रिन्ट तथा तरिका अनलाइनमा सार्वजनिक गर्ने गरेको उल्लेख गरेको छ। यी बन्दुक प्रायः प्लास्टिकको प्रयोग गरी तयार गरिने भएकाले मेटल डिटेक्टरजस्ता उपकरणले पत्ता लगाउन सकिँदैन। त्यसैले यसले विशेषगरी एयरपोर्ट र सुरक्षा संवेदनशील स्थलमा सुरक्षा चुनौती थप्छ।

सन् २०१६ को अगस्टमा अमेरिकाको नाभाडास्थित रिनो ताहोई एयरपोर्टमा एक व्यक्तिको क्यारी अन लगेजमा थ्रीडी प्रिन्टेड प्लास्टिकको रिभल्वर भेटिएको थियो। रिभल्वरमा गोली राखिएको भएकाले मात्र उक्त रिभल्वर पत्ता लागेको थियो। यसबाहेक लागूऔषध तस्करीका लागि पनि यो प्रविधि दुरुपयोग हुँदै आएका घटना सार्वजनिक भएका छन्। तस्करले जटिल वा लुकाउन मिल्ने भाँडा बनाउन थ्रीडी प्रिन्टिङको प्रयोग एफबीआईको बुलेटिनमा उल्लेख छ।

null

सन् २०१६ मै मिसिगन स्टेट युनिभर्सिटीको रिसर्च टिम थ्रीडी प्रिन्टेड फिंगरप्रिन्टको प्रयोग गरी स्मार्टफोन अनलक गर्न सफल भएको थियो। प्लास्टिककै हात थ्रीडी प्रिन्ट गरेर फिंगरप्रिन्ट स्क्यानर बाइपास गर्न पनि सकिने पनि उक्त अनुसन्धानले देखाएको थियो। यसले बायोमेट्रिक सुरक्षा प्रणालीमाथि पनि प्रश्न उठाएको पनि बुलेटिनमा जनाइएको छ।

आफ्नो खोपडीमा एन्टेना जडान गरी रङलाई आवाजको रूपमा सुन्ने क्षमता राख्ने सम्भवतः विश्वकै एक मात्र व्यक्ति, साइबोर्ग एक्टिभिस्ट तथा कलाकार निल हार्बिसनले भनेका छन्, “थ्रीडी प्रिन्टिङले उत्पादनको लोकतान्त्रिकीकरणलाई प्रतिनिधित्व गर्दछ। यसले जो कोहीलाई पनि, जहाँसुकै, कुनै पनि समयमा जे पनि सिर्जना गर्न अनुमति दिन्छ।”