डोल्पोको रङ गाढा छ

चित्रकलामा आफ्नो जन्मथलो डोल्पोलाई उतारिरहेका छिरिङ त्यहाँको प्राकृतिक रङ क्यानभासमा निखार्न नसकेको बताउँछन्। डोल्पो गाढा रङ बोकेर बसेको छ, बसाइँ हिँडेकाहरूको स्मृतिमा त्यो भूगोल फिक्का बन्दैछ।

काठमाडौँ– गाढा हरियो पहाड। गाढा रातो बक्खु र दोचा। गाढा नीलो से–फोक्सुन्डो ताल।

से–फोक्सुन्डोभन्दा केही तल ऋकेमा छ छिरिङ गुरुङ (२५) को घर। चित्रकार हुन् छिरिङ, जो रङहरूको सौन्दर्य हेर्दै हुर्किए।

उनी आफ्नै परिवेशका रङ पोतेर चित्र बनाउँछन्। उनले डोल्पोलाई चिनाइरहेका छन्। त्यही डोल्पोलाई अहिले काठमाडौँ ठमेलस्थित छायाँ सेन्टरको छैटौँ तलामा देख्न सकिन्छ।

छिरिङले आर्ट ग्यालरीका भित्तामा आफू हुर्किएको परिवेशलाई टपक्क टिपेर टाँसेका छन्। चित्रकला प्रदर्शनीमा ठूला र साना गरी ३४ वटा क्यानभासमा डोल्पोलाई उतारेका छन्। उकालोसँगको कुराकानीको शुरूआतमै उनले ‘डोल्पा’ र ‘डोल्पो’ बीचको भिन्नतालाई प्रस्ट्याए।

“डोल्पा भन्नाले समग्र भेगलाई जनाउँछ,” उनले भने, “डोल्पाअन्तर्गतकै उच्च हिमाली भाग, जहाँ तिब्बतीयन समुदाय र बोन धर्मावलम्बीको बाक्लो उपस्थिति छ, त्यस क्षेत्रलाई डोल्पो भनिन्छ।”

छिरिङ रङसँग खेल्छन्। रङमार्फत आफ्ना विचार र भावना व्यक्त गर्छन्। नयाँ सिर्जना गर्न वा कुनै प्रतिबिम्ब उतार्न पनि उनलाई रङ नै चाहिन्छ।

प्रदर्शनीमा राखिएको एउटा अमूर्त चित्र छ, त्यसको बाहिरी फेरा चतुर्भुज आकारमा छ। त्यसका लागि गाढा रातो, नीलो, हरियो रङ प्रयोग गरेका छन्। भित्री फेरामा वृत्त आकारमा नीलो गाढा रङ छ। यसरी क्रमश स–सानो हुँदै जाने वृत्ताकारको केन्द्रमा भने ‘टर्कोइस’ (नीलो र हरियो रङको समिश्रण) छ। छेउछाउमा बक्खु झुण्ड्याइएका छन्।

सो चित्रमा डोल्पोको मौलिक पहिरनको अमूर्त चित्रण भएको छिरिङ बताउँछन्। “एउटा मानिसले लगाएको बक्खु र दोचाको मौलिकता मैले बर्ड आई भ्युबाट पत्रपत्रमा देखाउन खोजेको हुँ,” उनी भन्छन्, “चराले माथिबाट हेर्दा मानिसको टाउको देख्छ, अनि उसले लगाएका कपडा। मैले मानिसको टाउको सट्टामा टर्कोइस रङको यु राखेको हुँ। यु हाम्रो क्षेत्रमा घाँटीमा लगाउने एउटा गहना हो।”

छिरिङ गुरुङको गाउँ ऋके।

छिरिङले डोल्पो चिनाउन अनेक रङको प्रयोग गरेका छन्। एकाध क्यानभास छाडेर अधिकांशमा डोल्पोको रङभन्दा आफूले पोतेको रङ केही फिक्का भएको अनुभूति गर्छन् उनी, आफ्नो काम अपूरो ठान्छन्।

“डोल्पोको प्रकृतिदेखि जनजीवनमा पनि हरियो, रातो र नीलो रङ बढी पाइन्छ। यसले गाउँको पहिचान दिन्छ,” उनी भन्छन्, “मेरो क्यान्भासमा गाढा रङको कमी छ। यसका लागि मैले अझै रिसर्च गर्नुपर्ने छ, आफूलाई निखार्नु पर्नेछ।”

जलवायु र बसाइँसराइः डोल्पोको बदलिँदो परिवेश
एउटा क्यानभासमा डोल्पोका मानिसहरूको घुइँचो छ। केन्द्रमा पहेँलो रङको खम्बा छ। खम्बामाथि फाट्टफु्टट मानिस देखिन्छन्, मुनि भिड छ। माथिका मानिस उडिरहेका छन्। सबैका अनेक काम र भावभंगी छ। खम्बा वरिपरि चौरीगाई पनि देखिन्छन्।

पहेँलो खम्बा यार्सागुम्बाको बिम्ब हो। डोल्पोको जीवनशैली, व्यवसाय र जरा छाड्दै गएका मानिस खम्बामाथि उडिरहेका छन्। खम्बा आसपास रहेका मानिस अझै डोल्पोको जीवनशैली पछ्याइरहेका छन्।

चित्रकार छिरिङ गुरुङ (बायाँबाट दोस्रो)

यार्सागुम्बा केन्द्रमा रहनुको कारण बदिलिँदो समय हो। अनि बदलिँदो मौसम परिवर्तनले पारेको प्रभाव पनि हो। कुनै समय डोल्पोबासीको आयको बलियो स्रोत बनेको यार्सागुम्बा संकलनको समयावधि घटबड हुन थालेको छिरिङ बताउँछन्।

“पहिले यार्सा टिप्ने समय एकदेखि दुई महिनासम्म हुन्थ्यो। अहिले एक महिनाभन्दा छोटो हुन्छ। कहिले यार्सा टिप्नुअघि नै बिलाइसकेको हुन्छ। कहिले बढी हिउँको कारण उम्रिएर कुहिरहेको हुन्छ,” उनी भन्छन्।

यसको अप्रत्यक्ष प्रभाव बसाइँसराइमा परेको उनी बताउँछन्। पहिलेको बसाइँसराइ घुमन्ते खालको हुन्थ्यो। ६ महिना लेक र ६ महिना बेसी बस्थे। “अहिले मानिसहरू शहर पसेका छन्। एकपटक शहर पसेपछि गाउँ फर्किन गाह्रो छ,” उनी भन्छन्, “बेसीबाट लेकमा उकालो लाग्ने त झनै कम छ।”

महिलाः पूर्ण सौन्दर्य
एउटा कलाकारले कलाकारितासँगै श्रमको मूल्य खोजिरहेको हुन्छ। तर कलाको भने कुनै मूल्य हुँदैन। आफैले बनाएका कतिपय चित्रलाई छिरिङ मूल्य राख्न सक्दैनन्।

उनले डोल्पोका महिलाको अवस्था झल्किने श्रृंखला नै बनाएका छन्। ती चित्रसँग उनको भावनात्मक साइनो छ। त्यस श्रृंखलाका लागि उनले आफ्नी हजुरआमासहित ६ महिलाको चित्र कोरेका छन्।

उनले ८६ वर्ष पुगेकी हजुरआमा ४० वर्ष हुँदाको कल्पना गरेर चित्र बनाएका छन्। “यो चित्रकला मेरो लागि विशेष छ। यो चित्रकला पैसाभन्दा पनि मनको आनन्दका लागि बनाएको थिएँ। यसमा डोल्पोका महिलाको दैनिकी र कथा छन्,” उनी भन्छन्।

त्यसो त छिरिङ आफ्नो चित्रकलामा बढीजसो महिला पात्रलाई नै कोर्छन्। महिलाका पहिरन, गहना, अनुहार, कपाललगायत विभिन्न पक्षले चित्रलाई पूर्णता दिने, तर पुरूषका चित्र ‘मोनोटोनस’ हुने उनको भनाइ छ।

डोल्पोका पुरूषको चित्र बनाउनु पर्‍यो भने उनीहरूको जुत्ता र बक्खुबाहेक देखाउनलायक केही नहुने छिरिङ बताउँछन्। “पहिले डोल्पोका पुरूषले लामो कपाल पाल्थे। त्यसमाथि रातो रिबन बेर्थे। त्यो कल्चर हराएको छ। विद्यालयमा कपाल छोटो बनाउन भनिन्छ,” उनी भन्छन्, “तर महिलाले आफ्ना रीतिका कुरा छाडिसकेका छैनन्। त्यसैमा पूर्णता देख्छु म।”

छिरिङको चित्रकला प्रदर्शनी असार २७ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ।