फल्चा होइन, फल्चाजस्तै

काठमाडौँको कोर क्षेत्रमा देखिने परम्परागत फल्चा कलात्मक काठ र दाची अप्पाबाट बनेका दुई तलासम्मका छन्। काठमाडौँ महानगरले त्यस्तै सामग्री राखेर फल्चाजस्तै संरचना बनाउने अभियान नै चलाएको छ।

बागमती करिडोरस्थि सर्वेश्वर मन्दिर नजिक बनाइएको फल्चा शैलीको विश्रामस्थल। तस्वीरहरू: प्रबिता/उकालो

काठमाडौँ– हाँडीगाउँस्थित ढल्कु चोकमा कल्पना सुवेदीले लत्ताकपडा पसल गरेको करिब एक दशक भयो। तर पछिल्लो एक महिना उनी व्यापार घट्ने तनावमा छिन्। पसलअगाडि फल्चा ठड्याइएको छ, जसलाई पार गरेपछि मात्र भित्र पुगिन्छ। 

फल्चा बनेको स्थान सरकारी जग्गा नै हो। तर पसल पुग्न फल्चाबाट भित्र जानुपर्ने हुँदा ग्राहक घट्न थालेका छन्। “शुरूमा पुरानो शैलीमा (तीन ठाउँमा पर्खाल लगाएर) बनाउने भनिएको थियो। घरबेटीले आफूलाई पर्ने मर्का वडा कार्यालयमा सुनाएपछि थाम मात्र राखेर ओपन (खुला) शैलीमा बनाइदिनु भयो,” सुवेदी भन्छिन्, “नत्र पसल नै छोपिन्थ्यो, बन्द गर्नुको उपाय हुन्थेन।”

व्यापारमा घटबड भए पनि सार्वजनिक सवारी चढ्नेलाई सहज भएको हुँदा उनी खुशी नै छन्। पहिला यात्रुहरूले घामपानी सहेर सवारी पर्खनु पर्थ्यो। “परम्परागत शैलीमा बनेका फल्चाले बसस्टपमा सहज बनाउनुका साथै सांस्कृतिक प्रवर्द्धन पनि हुन्छ, यसरी पनि सोच्नुपर्छ,” उनी भन्छिन्।

ढल्कुमा बनाइएको प्रतीक्षालय।सुवेदीको पसलबाट पूर्वतर्फ नजिकै हाँडीगाउँमा काठमाडौँ वडा नं. ५ को कार्यालय छ। वडा कार्यालय नजिकैको भीमसेन मन्दिर परिसरमा अर्को ठूलो फल्चा बन्दैछ। दुईतले फल्चाको माथिल्लो भागमा पुस्तकालय हुने त्यहाँको सूचना पाटीमा उल्लेख छ। फल्चा चैत मसान्तसम्ममा बनाइसक्ने वडाको योजना छ। 

हाँडीगाउँमा यस्ता फल्चा गत वर्ष पनि बनेका थिए। यद्यपि, फल्चाजस्ता देखिने यी सबै संरचनालाई फल्चा भन्न नमिल्ने काठमाडौँ–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति बताउँछन्। 

ढल्कुको संरचनालाई पनि प्रतीक्षालय मात्र भन्न मिल्ने प्रजापति बताउँछन्। फल्चा शैलीका प्रतीक्षालय ओम अस्पतालबाट चाबहिल चोकतर्फ दुई वटा छन्। यी संरचनामा बुट्टेदार चार वटा काठको थाम र माथिल्लो भागमा दाची अप्पाको छानो हुन्छ।

काठमाडौँ महानगरले आठौँ नगरसभामा मौलिक शैलीका प्रतीक्षालय बनाउने निर्णय गरेको थियो। गौरीघाटदेखि बागमती करिडोर हुँदै शिवचोकसम्म यस्ता प्रतीक्षालय बनाइएका छन्। प्रायः नेवार बस्तीमा मठमन्दिर र हिटी (ढुंगेधारा)सँगै देखिने फल्चाको मौलिक स्वरूप नक्कल गर्दै सडक छेउछाउ प्रतीक्षालय बनाइएका हुन्।

न परम्परागत, न त आधुनिक!
सार्वजनिक प्रयोगका लागि नेवाः परम्पराअनुसार बनाइने एक अथवा दुईतले संरचनालाई स्थानीय भाषामा फल्चा भनिन्छ। विगतमा महाराजादेखि आममानिसले समेत परोपकारका लागि फल्चा बनाएको र अहिले पनि जोसुकैले बनाउन सक्ने सम्पदा अध्येता तथा अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्।

बस्तीभित्र र बाहिर पनि बनाइने फल्चालाई ‘द प्लेस अफ कमन’ अर्थात् साझा ठाउँ भन्न सकिने तुलाधरको भनाइ छ। फल्चालाई घाम ताप्न, भेटघाट गर्न र समय बिताउन प्रयोग गरिन्छ। बिहानर बेलुकी दफा (भजन) पनि गाउँछन्। 

nullकुनै समय काँठ क्षेत्रबाट बजार आएका मानिस हिटीमा पानी पिएर फल्चामा सुस्ताउँथे। टाढाबाट फर्केका व्यापारी शहर छिर्नुअघि हप्ता दिनसम्म दुईतले फल्चा (सत्तल पनि भनिने) मा बस्थे। हालको अभ्यासमा ‘क्वारेन्टिन’ सरह थियो। 

हेनेरी एम्ब्रोस ओल्डफिल्डको पुस्तक ‘स्केचेज अफ निपाल’मा पुरानो स्केच राख्दै फल्चा काठमाडौँको कोर क्षेत्रबाहिर रहेको देखाइएको छ। विभिन्न थान्कामा पनि फल्चाका चित्र भेटिन्छन्।
तर पछिल्लो समय बनाइएका संरचनालाई फल्चा भनिहाल्न नहुने काठमाडौँ महानगर–८ का वडाध्यक्ष आशामान संगत बताउँछन्। दाची इँटा र कलात्मक काठ राख्दैमा फल्चा नहुने उनको भनाइ छ।

काठमाडौँ उपत्यकाका परम्परागत संरचनामा दाची अप्पा र कला कुँदिएका काठको प्रयोग भएको पाइन्छ। “बसस्पट भएको ठाउँमा फल्चाको प्रकृतिमा संरचना बनाएका हौँ, फल्चा होइन। फल्चाको पूर्ण मापदण्डमा यस्ता संरचना बनेका हुँदैनन् र (भन्न) मिल्दैन पनि,” उनी भन्छन्।

वडाध्यक्ष संगतका अनुसार, व्यस्त सडकमा कम्पन धेरै हुन्छ। सोही कारण प्रतीक्षालयको जग बलियो चाहिन्छ। त्यसका लागि आरसीसी ढलान गर्नुपर्छ। फल्चाजस्ता सम्पदामा सिमेन्टको प्रयोग गर्न मिल्दैन। त्यसैले, अहिले बनाइएका संरचनालाई प्रतीक्षालयकै रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

काठमाडौँ-५ वडा कार्यालय नजिक निर्माणाधीन फल्चा।यी संरचना बनाउँदा सांस्कृतिक र सामाजिक पक्षबाट सोचिए पनि पैदलयात्रीका पक्षबाट सोचविचार नपुगेको शहरी व्यवस्थापन अभियन्ता सौरभ ढकाल बताउँछन्। “फुटपाथ क्षेत्रमा फल्चा र प्रतीक्षालय बनिरहँदा त्यो कतिको पैदलयात्रु र अपांगमैत्री छ?” उनी भन्छन्, “गाडीमा सरर गुड्दा सडक छेउछाउका फल्चा राम्रो लाग्छन्। तर हिँड्दाखेरी फल्चा भएका ठाउँ अपांगता भएका व्यक्तिलाई कति सकसपूर्ण छ भन्ने थाहा हुन्छ।”

यस्ता संरचना बन्दा मापदण्डको ख्याल राख्नु पर्ने ढकाल बताउँछन्। पहिलो पटक माइतीघर–बानेश्वर सडकमा पर्ने बिजुलीबजारमा बनाइएको फल्चालाई महानगरको गम्भीर त्रुटि मान्छन् उनी। त्यहाँ महानगरले फुटपाथ मात्र नभई साइकल लेनसमेत मिचेको उनको भनाइ छ। ती फल्चा निर्माण भइसकेपछि मेयर शाहले आफ्नो सामाजिक सञ्जालमा तस्वीर राखेका थिए।

महानगरकी सम्पदा तथा पर्यटन शाखा प्रमुख कुमारी राई र वडा नंं ८ का वडाध्यक्ष संगत भने यी संरचना फुटपाथलाई ध्यानमा राखेरै बनाइएको दाबी गर्छन्। सडकमा बिछ्याइएका टाइल हुँदै प्रतीक्षालयको बीचबाट ‘ह्विल चेयर’ जान सक्ने राईको दाबी छ।

कहाँ र कसरी बन्दै छन्?
काठमाडौँ महानगरले फल्चाजस्तै २२ वटा संरचना बनाउने योजना बनाएको छ। त्यसका लागि ८ करोड रुपैयाँ खर्च हुनेछ। तीमध्ये १६ वटा बनिसकेको महानगर सम्पदा तथा पर्यटन शाखा प्रमुख राई बताउँछिन्।

फल्चा निर्माणको योजना आर्थिक वर्ष २०७९/८० बाट शुरू भएको थियो। “कलंकीदेखि कोटेश्वरको क्षेत्र र चाबहिल तथा बालुवाटारमा सम्पन्न हुन बाँकी छ। कतिपय ठाउँमा बत्ती राख्ने, बुट्टा कुद्ने लगायत फिनिसिङका काम बाँकी छन्,” राई भन्छिन्।

nullमहानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यको पालामा पनि फल्चा निर्माण भएका थिए। त्यस बेला सोह्रखुट्टेलगायत पुराना फल्चाका अवशेष भएको स्थानमा पुनर्निर्माण गरिएको थियो।

बालेन शाहले भने मेयरको उम्मेदवार बनेपछि घोषणापत्रमै काठमाडौँलाई सांस्कृतिक शहरको रूपमा प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरेका थिए। हाल, यस्ता फल्चा बसस्टप तथा पार्क भएका स्थान कलंकी, बानेश्वर, कोटेश्वर, चाबहिल, अनामनगरलगायत क्षेत्रमा बनाइएका छन्। वडास्तरमा भएका फल्चा निर्माणमा पनि महानगरले समन्वय गरिरहेको सम्पदा तथा पर्यटन शाखा प्रमुख राई बताउँछिन्। 

जयबागेश्वरीदेखि सिफल चौरबीचको नवाली टोलमा रहेका ६ वटा फल्चाको पुर्निर्माण गरिएको छ। २०७२ सालको भूकम्पमा जयबागेश्वरी मन्दिर र त्यहाँका फल्चामा क्षति पुगेको थियो। भूकम्पको एक दशकमा जय बागेश्वरी मन्दिर र फल्चा पुनर्निर्माण भएका हुन्।

जयबागेश्वरीस्थित श्रीलंका रावण पाटी (फल्चा)।नवाली टोलका ६ वटामध्ये एउटा महानगर र पाँच वटा वडाले बनाएको वडा नं. ८ का वडाध्यक्ष संगत बताउँछन्। यहाँको श्रीलंका रावण फल्चा पुनर्निर्माण भएका ६ वटामध्येको हो। दुई तलाको यो फल्चाबारे फरक किंवदन्ती छन्। हनुमान सन्जीवनी बुटीको खोजीमा आउँदा थकाइ मारेको एउटा र रावणले थकाइ मारेको अर्को किंवदन्ती प्रचलित छन्।

पुरातन शैलीका यी नेपाली ‘आर्किटेक्ट’ अहिले सौन्दर्यको रूपमा ठडिएका छन्। यस्ता फल्चा बनाउन माग आइरहेको सम्पदा तथा पर्यटन शाखा प्रमुख राई बताउँछिन्। यी संरचना बनाउन चालु आर्थिक वर्षमा १० करोडको बजेट छुट्याइएको उनको भनाइ छ। अब पार्क तथा खाली स्थानमा बनाउने महानगरको योजना छ।

काठमाडौँ महानगरको सम्पदा तथा पर्यटन समिति संयोजकसमेत रहेका वडाध्यक्ष संगत आधुनिक शहरमा बनेका परम्परागत संरचना जनताले मन पराएको बताउँछन्। उनी भन्छन्, “काठमाडौँ विकसित र आधुनिकतातर्फ धकेलिएको शहर हो। यहाँ परम्परागत शैलीमा यस खालका संरचना जनताले मन पराउनु हामी जनप्रतिनिधिका लागि पनि सन्तुष्टिको विषय हो।”