समाचार पढ्दै गर्दा ‘पेड न्युज’ पो हो कि भन्ने लाग्छ: सुधीर शर्मा (भिडियोसहित)

‘सम्पादकीय नेतृत्व, लगानीकर्ता, प्रकाशक सबै अलमलमा छन्। यही मौका छोपेर सरकारले विभिन्न कानून ल्याउँदै मिडिया कन्ट्रोल गर्न खोजिरहेको देखिन्छ।’

सक्रिय पत्रकारितामा दुई दशकभन्दा लामो समय बिताएका सुधीर शर्मा पछिल्लो समय लेखक तथा पोडकास्टरका रूपमा छाएका छन्। केही समयअघि एकैसाथ दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ सार्वजनिक गरेका शर्माले ‘अनि, अब’ पोडकास्टमार्फत पनि समाज, राजनीति, सुरक्षा र कूटनीतिक विषयमा निरन्तर बहस चलाइरहेका छन्। दशकअघि उनले ‘प्रयोगशाला’ पुस्तकमार्फत भारतसँगको सम्बन्ध र शंसययुक्त निकटवर्ती साइनोबारे चर्चा गरेका थिए। अहिले भने चीनसँगको सामाजिक, राजनीतिक र कूटनीतिक सम्बन्धको अन्तर्यलाई लिएर नयाँ पुस्तक ल्याएका छन्। लामो समय साप्ताहिक र दैनिक पत्रिकामा जिम्मेवारी सम्हालेका शर्मा अहिले स्वतन्त्र लेखक र विचारकका रूपमा सक्रिय छन्। शर्माका पछिल्ला पुस्तक र पत्रकारिता जगत्‌को चित्रसहित समसामयिक विषयमा उकालोले गरेको अन्तर्वार्ता: 

लामो समय पत्रकारिता जगतको जिम्मेवारीयुक्त काममा जोडिएर अहिले स्वतन्त्र पोडकास्टर, एक्सप्लेनर बन्नुभएको छ। त्यो बन्धन र यो स्वतन्त्रतामा के भिन्नता पाउनुभएको छ ?
स्वतन्त्र त त्यतिबेला पनि थिएँ, अहिले पनि छु भन्ने लाग्छ। त्यतिबेला निश्चित केही जिम्मेवारी हुन्थे, जस्तो टिमको नेतृत्व गर्नुपर्ने हुन्थ्यो। न्युज रुमको नेतृत्वको जिम्मेवारी अलग खालको हुन्छ, त्यसमा अनुशासनका केही कुरा हुन्छन् नै। तर, त्यसलाई पनि स्वतन्त्रतापूर्वक अधिकतम अभ्यास गर्न कति सकिन्छ भन्ने हो, त्यो गरियो पनि। अहिले भने यो पोडकास्ट एक प्रकारले ‘स्टार्ट अप’ जस्तै हो, थोरै जनशक्तिमा तोकिएको फर्म्याट नभएरै पनि चल्ने/चलाइने माध्यम हो यो, एकखालको रमाइलो छ। यतिका वर्ष पत्रकारितामा ‘टेक्स्ट’को (लेख्ने काम) गरेर आएँ। अहिले भने ‘भिजुअल’ माध्यम एकदमै सशक्त बनेर आएको अवस्थामा यो पनि सिक्नुपर्छ भनेर यता लागेको हुँ। 

हातले लेखेर पत्रकारिता शुरू गरिएको थियो, बिस्तारै कम्प्युटर सिक्ने समय आयो र, अहिले एआईको जमाना छ। यसरी हाम्रा माध्यम पनि बिस्तारै फेरिँदै गएका छन्, यो पनि सिक्नैपर्यो। यो आफैमा पारदर्शी माध्यम पनि हो, कसले, कति, कहाँ हेरिरहेको छ वा सुनिरहेको छ भन्ने आफै हेर्न सकिन्छ। 

यो माध्यममा आचारसंहिताको कुरा कत्तिको हुने रहेछ? केसम्म गर्ने वा के नगर्ने भन्ने संहिता कसरी समात्न सकिन्छ? 
सामान्यतया के, कसरी सञ्चालन गर्ने भन्ने आचारसंहिता, नियम त हुन्छ नै। तर, त्योभन्दा बढी पत्रकारले आफ्नै र आफैमा आचारसंहिता तय गर्नुपर्छ। 

यतिखेर पत्रकारिता जगतको पहिचान गुम्दै गएको, पत्रपत्रिका बन्द हुने क्रममा रहेको र पत्रकारले तलब पाउन पनि नसकेको स्थिति देखिन्छ। यसलाई कसरी हेर्नुभएको छ? 
निश्चित रूपमा, अलिक अप्ठ्यारो स्थिति देख्छु। अलिक संक्रमणकालीन अवस्थाबाट हामी गइरहेका कारणले हो कि भन्ने लाग्छ। यसमा केही मुख्य कारण छन्। जस्तो, अर्थ राजनीति होला एउटा कारण। नाफामूलक ढंगले मिडिया चलाउने, नाफा निकाल्ने काम भइरहेको थियो। त्यहाँ समस्या के भयो भने बीचमा विज्ञापनको फ्लो एकदमै घटेको देखियो। त्यसको असर सिधै न्युज रुममा परेको देखियो। न्युज रुममा हामीले जति मानव संसाधनमाथि, समाचार खोज, फिल्ड रिपोर्टिङमाथि लगानी गर्न सक्यो, त्यति नै चिजहरू आउने हो। अब यहाँ खडेरी परेपछि, आम्दानी नै घटेपछि पत्रकार कटौती हुन थाल्यो, समाचारमा लगानी हुन छाड्यो।

खर्च कताबाट कटौती गर्न सकिन्छ भन्ने भयो, कर्मचारीका रूपमा मात्रै न्युज रुममा काममा लगाउने र प्रकाशकले पनि पत्रकारिता व्यवसायभन्दा बाहिर अन्यत्र हात बढाउने कामले गर्दाखेरि हाम्रो समग्र ‘इकोसिस्टम’ नै खलबलिएको अवस्था छ। यसले गर्दा हाम्रा सञ्चार गृहमा हाम्रो पत्रकारिताप्रतिको प्रतिबद्धता धरमराउन थालेको देखिन्छ। यसले गर्दा (पत्रकारितामा) बजार हाबी हुन थालेको हो कि झैँ देखिन्छ। पत्रकारितामा मार्केटिङ र न्युज रुम त अलग कुरा हो तर, यसमा पनि अहिले ‘ब्लर’ देखिन थालेको छ। कहिलेकाहीँ सुनिन्छ र, हेर्दा पनि अचम्म लाग्छ। मैले ठ्याक्कै यही मिडियामा यसरी भइरहेको छ भन्न खोजेको होइन तर, समाचार पढ्दै गर्दा ‘पेड न्युज’ नै हो कि जस्तो लाग्ने धेरै चिज आउन थालेका छन्, यो दुर्भाग्य हो हाम्रो।

null

अर्को चाहिँ अहिले मिडिया जगतमा आएको ‘प्राविधिक रूपान्तरण’ (टेक्नोलोजोकिल सिफ्ट) पनि हो। अब आज जो आफैलाई पत्रकार ठान्दैनन् तर, सानो टिमले पनि राम्रो पत्रकारिता (काम) गरिरहेको देखिन्छ– प्रविधिका कारण। अहिलेको पुस्तामा थपिएको यो स्किल हामी पत्रकारिता गर्छौ भन्नेमै निकै कमी देखिन्छ, बढाउन सकिएको छैन। यसकारण वित्तीय पाटोमा आएको संकट र प्राविधिक बदलावको यो अवस्थालाई कसरी छिचोलेर अघि बढ्ने भन्ने कुरामा हामी अलमलमा छौँ। सम्पादकीय नेतृत्व, लगानीकर्ता, प्रकाशक सबै अलमलमा छन्। यही मौका छोपेर सरकारले विभिन्न कानून ल्याउँदै मिडिया कन्ट्रोल गर्न खोजिरहेको देखिन्छ।

यो घडी, यही पत्रकारिता जगतको नियामक निकाय प्रेस काउन्सिल ,पत्रकार महासंघ आदि पनि बोल्ने ठाउँमा बोल्न त सकिरहेका छैनन् नि? 
यो अलिक ठूलै प्रश्न भयो। हाम्रा पेसागत संस्था र नियमनकारी निकायमा पनि धेरै त राजनीतिकरण भन्दा पनि पार्टीकरण, दलीयकरण, गुटकरण भएको स्थिति छ। यो हुनेबित्तिकै बोल्ने कुरामा सेल्फ–सेन्सरसिपको स्थिति छ नै। बरु पार्टीको लाइन के हो, सरकारको लाइन के हो–  त्यो महत्त्वपूर्ण हुने अवस्था छ, यसले ध्वस्त पारेकै छ। हाम्रो न्युज रुम कमजोर भएको छ, त्यसकारण प्रतिवाद गर्नमा पनि हामी कमजोर भयौँ। इन्डियामा जसरी आज आलोचनात्मक चेत ध्वस्त भएको छ, हामी पनि कताकता त्यही बाटोमा ‘संस्थापनमुखी सोच’ (प्रो–इस्टाब्लिसमेन्ट) लिएर हिँड्न थालेका हौँ कि झैँ लाग्न थालेको छ। हिमचिम मिलाएर हिँड्न थालेपछि यसले अलिकति समस्या त थपेको छ नै। 

अघिल्लो दिनसम्म व्यस्त भएर बाइलाइन लेखिरहेको पत्रकार भोलिपल्ट जब लेखक बन्छ अनि भन्छ— समाचारमा लेख्न नपाएको, छुटेका अंशलाई किताबमा ल्याएको छु, हेरिदिनुहोला। तपाईंको आफ्नो लेखकीय अवस्था यस्तो त नहोला?
यो हो पनि, होइन पनि। जस्तो, पत्रिकामा छुटेका कुरा पनि आएका हुन्। फेरि छुटेका कुराले मात्रै यस्तो किताब आउन मुस्किल हुन्छ। पत्रकारिता त तत्कालको कुरा, चिज लेखिने न हो। किताबले भने त्योभन्दा परको चिजलाई खोजेको हुन्छ। त्यसलाई मैले कोसिस गरेको हुँ। हिजो र भोलिको कुरालाई हेरेर लेख्न खोज्ने हो भने पत्रकारिताको हिसाबले मात्रै पुग्दैन नै। त्यसकारण आफूलाई रूचि भएको चिजमा मैले कोसिस गरेको हुँ। तर, पुस्तक लेखिरहँदा पत्रकारितामा सिकेको र बुझेको कुराले मलाई धेरै मद्दत गरेको छ।

तपाईंले नेपाली लेखकलाई पनि चुनौती दिने गरी एउटै केन्द्रतिर फर्केर दुई वटा पुस्तक ल्याउनुभएको छ। यस्तो प्रयास किन गर्नुभयो?
चुनौती दिएको त होइन नै। लेखकको आफैमा प्रतिस्पर्धा हुँदै हुँदैन, यहाँ त आफू आफूले काम गर्ने हो। बरु पत्रकारितामा न्युज ब्रेक टाइपको प्रतिस्पर्धा रहला। गर्दै जाँदा दुई वटा पुस्तक ल्याउनुपर्ने भयो। जस्तो, २००८ सालअघिको नेपाल–चीन सम्बन्धको कालखण्ड (भिक्षु, व्यापार र विद्रोह) र त्यसपछिको समयको दृष्टिकोणमा आधारित (हिमालपारीको हुरी) शीर्षकमा दुई वटा पुस्तक आएका हुन्। शुरूमा इतिहासमा धेरै नपसौँ भन्ने थियो। तर, इतिहास नबुझी वर्तमान र भविष्यमा जान नसकिने रहेछ।   

तपाईंलाई कहिले भारतविरोधी, कहिले चीनविरोधी अनि कहिले भारतमुखी वा चीनमुखी भन्ने बात लाग्ने गरेको छ नि?
हो, यो लाग्छ सबैलाई। मलाई पनि लागिरहन्छ। मलाई यो ठूलो चिज लाग्दैन। दृढ भएर राम्ररी काम गर्दै गएमा यस्ता बात लाग्ने रहेछ। म आफैलाई शुरूमा अत्तालिने गरी, आफैलाई आफैमाथि आशंका उब्जने गरी बात लाग्ने गरेको थियो। तर, आफ्नो नियत सही छ र आफू सही छु भन्ने लाग्छ भने केही छैन। तथ्यगत गडबडी हुनुभएन, मनसाय ठिक हुनुपर्‍यो– यत्ति हो।