कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

गोरखाको आरुघाट गाउँपालिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गोरखा– विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

आरुघाट गाउँपालिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए। 

“सुरजकी जेठी श्रीमती रिता गुरुङले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो,” उनले भने, “लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि पक्राउ गरिएको हो।”

सुरजकी जेठी श्रीमती रिताले आफू हुँदाहुँदै श्रीमान्‌ले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएकी थिइन्। 

“उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर सोही दिन पक्राउ गरी गोरखा ल्याइएको हो,” श्रेष्ठले भने।