दुई वर्षअघि ह्युमपाइप बिछ्याएर पुरिएको खोलालाई गत चैतमा गोदावरी नगरपालिकाले खुला गर्ने निर्णय गरेको थियो। तर खोलै पुरेर बनाइएको सडकको आधा भागबाट मात्र ह्युमपाइप निकालिएको छ।
काठमाडौँ– ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० स्थित फन्टे खोलाको करिब ३०० मिटरमा ह्युमपाइप राखेर दुई वर्षअघि सडक बनाइएको थियो। अहिले त्यसको करिब १५० मिटर ह्युमपाइप निकालेर खोलालाई खुला छाडिएको छ, बाँकी करिब १५० मिटरमा खोला पाइपभित्रै बग्छ।
ह्युमपाइप निकालिएको क्षेत्र कन्टिनेन्टल डेभलपर्स (किया मोटर्सको भातृ संस्था) ले प्लटिङ गरेको जग्गाको सीमामा पर्छ। कन्टिनेन्टल डेभलपर्सको पूर्वतर्फ शुभकामना ल्यान्ड एन्ड हाउजिङको जग्गातर्फ भने खोलामा राखिएको ह्युमपाइप छँदैछ।
खोलामाथि ह्युमपाइप राखेर सडक बनाइएको छ। कन्टिनेन्टल हाउजिङतर्फ ठूलो दुलोबाट आएझैँ पानी हुत्तिएर निस्कन्छ।
२०७५ सालबाट फन्टे खोला ह्युमपाइपले छोप्न थालिएको थियो। २०८० सालमा खोलालाई पूर्णरूपमा ह्युमपाइपभित्र सीमित गरेर सडक बनाइयो। गत चैतमा गोदावरी नगरपालिकाले पुरिएका ह्युमपाइप सबै निकाल्ने निर्णय गर्यो।
अहिले ह्युमपाइप हटाएर खोलालाई प्राकृतिक रूपमै बग्ने दिइएको वडा नंं १० का अध्यक्ष शेखर न्यौपाने बताउँछन्। तर उनले भनेजस्तो, शुभकामना हाउजिङतर्फको खोला अझै प्राकृतिक रूपमा बग्न पाएको छैन।
अख्तियारमा पटकपटक उजुरी
गोदावरी नगरपालिकाको सहयोगमा व्यापारिक घराना कन्टिनेन्टल डेभलपर्स तथा जग्गा व्यवसायी शुभकामना ल्यान्ड एन्ड हाउजिङको मिलेमतोमा खोला पुरिएपछि उकालोले खोजमूलक रिपोर्ट प्रकाशित गरेको थियो। त्यस बेला गोदावरी–१३ झरुवारासीबाट डाँडागाउँ, बोहोराटार, न्यौपाने गाउँ हुँदै टाखेल पुर्याउने सडकका लागि भन्दै फन्टे खोला छोपिएको थियो।
खोला नै अतिक्रमण गरेपछि अख्तियारमा २०८० माघ २९ गते उजुरी परेको थियो। त्यसपछि, अख्तियारले नगरपालिकासँग स्पष्टीकरण मागेको थियो। नगरपालिकाले पठाएको जवाफमा अख्तियारलाई नै गुमराहमा राख्ने प्रयत्न गरिएको थियो। स्थानीयकै सहमतिमा खोला पुरिएको दाबी गर्दै स्थानीयलाई असहज भए पाइप निकालिदिने नगरपालिकाले उल्लेख गरेको थियो।
यसबीच अविरल वर्षाले २०८१ असोज १२ गते त्यहाँ डुबानको समस्या भयो। स्थानीयहरू नगरपालिकासँग असन्तुष्ट थिए। खोला छोपिएपछि स्थानीयलाई परेको समस्यामाथि उकालोले अर्को रिपार्ट तयार पारेको थियो।
नगरपालिकाले २०८१ चैतमा ह्युमपाइप निकाल्ने निर्णय गर्यो। तर निर्णय भएको चार महिना बित्तिसक्दा पनि शुभकामना हाउजिङतर्फ पाइप निकालिएको छैन।
कन्टिनेन्टल डेभलपर्सका प्रतिनिधि मदन झाले आफूहरूको जग्गाबाट पाइप निकालेर खोला अलपत्र छाडेको भन्दै असन्तुष्टि जनाएका छन्। “हाम्रोतर्फको पाइप निकालियो। तर सँगैको हाउजिङको जग्गातर्फको पाइप किन निकालिएन?” उनले उकालोसँग भने, “चैतमै हाम्रोतर्फको पाइप निकालिसकिएको थियो। गत वैशाख २१ गते फेरि अख्तियारमा उजुरी पर्दा हाम्रो कम्पनीको नाम पनि आयो, यो न्यायोचित भएन।”
शुभकामना हाउजिङका प्रतिनिधि राजन तिमिल्सिना ‘टक्र’को ठाउँमा एक महिनाअघि प्रेम मोक्तान नियुक्त भएका छन्। तिमिल्सिनाको घर ह्युमपाइप हालिएको शुभकामनाकै जग्गानजिक छ। अहिले नियुक्त भएका प्रतिनिधि मोक्तानले उकालोसँगको फोनवार्तामा आफ्नो तर्फको ह्युमपाइप निकाल्ने सम्भावना कम रहेको बताए।
त्यहाँ वर्षायाममा समस्या नदेखिएको कारण ह्युमपाइप निकाल्नु नपर्ने मोक्तानको दाबी छ। “ठूलाठूला ह्युमपाइप राखिएका छन्, खोल्साको पानी सहजै बगिरहेको छ,” उनी भन्छन्, “पाइप निकाल्ने अवस्था अहिले छैन। किया (कन्टिनेन्टल डेभलपर्स) तर्फ मुद्दा परेको कारण त्यहाँको पाइप निकालियो भन्ने मैले सुनेको हुँ।”
कन्टिनेन्टल डेभलपर्सको क्षेत्रबाट ३० वटा जति ह्युमपाइप निकालिएको मोक्तान बताउँछन्। आफूहरूको तिर ८–१० वटा मात्र ह्युमपाइप राखिएको उनको दाबी छ।
कन्टिनेन्टलतर्फ ह्युमपाइप बिछ्याउँदा खोलाको २०–२५ फिट सीमा नै मिचिएको उनी बताउँछन्। “खोल्सा दायाँबायाँ गरेर बगेको छ, तर पाइप सीधा राखियो। त्यसो हुँदा सिमानामा किचलो पर्यो,” उनी भन्छन्।
यो पनि- गोदावरीको फन्टेखोला प्लटिङ प्रकरण : छानबिनबाट पन्छिँदै नगरपालिका, गुनासो गर्ने स्थानीयलाई हप्कीदप्की
फन्टे खोला पर्ने वडा नं. १० का अध्यक्ष शेखर न्यौपाने कन्टिनेन्टलतर्फको ह्युमपाइप निकालिसके पनि शुभकामना हाउजिङतर्फ पाइप निकाल्न जटिल भएको बताउँछन्। “त्यहाँ जमिनको लेभल गहिरो भएको कारण ह्युमपाइप निकाल्न मिल्दैन,” उनी भन्छन्, “त्यहाँका ह्युमपाइप निकालियो भने ठूलो तलाउ बन्छ। सोही कारण तत्कालै ननिकाल्ने निर्णय गरेका हौँ।”
वर्षायामको लागि पाइप निकाल्नु जोखिमयुक्त हुने उनको भनाइ छ। “पाइप निकाल्न थालियो भने पनि दुई महिनाभन्दा बढी समय लाग्छ। मेसिन खर्च पनि उत्तिकै लाग्छ,” उनी भन्छन्, “पछि सडकको डिजाइन अनुसार कामअघि बढाउने योजना छ।”
सडकको बहानामा खोलालाई अवरोध
गोदावरी नगरपालिकाले वडा नं. १३ झरुवारासी हुँदै सडक टाखेल निकाल्ने योजना बनाएको छ। यो सडकका लागि प्रदेश सरकारले समेत बजेट छुट्याएको छ।
नगरपालिकाले २०७९ भदौ १० गते सूचना निकालेर झरुवाराशी–डाँडागाउँ–न्यौपाने गाउँ सडक स्तरोन्नति गर्ने जनाएको थियो। उक्त सडकका लागि कात्तिक ६ गते अद्रिया कन्स्ट्रक्सनले ठेक्का पायो।
दोस्रो चरणमा २०७९ कात्तिक २१ गते धापाखेल–झरुवाराशी–डाँडागाउँ सडक स्तरोन्नतिका लागि अभियन्ता नेपाल प्रालिलाई र मंसिर २२ मा नागदह–झरुवाराशी–डाँडागाउँ सडक स्तरोन्नतिका लागि कालीकोट कन्स्ट्रक्सन कम्पनी एन्ड इन्जिनियरिङ कन्सल्टेन्सीलाई ठेक्का दिइयो। त्यसपछि सडक मर्मत गर्ने क्रममा फन्टे खोला अतिक्रिमण गर्दै ह्युमपाइप हालिएको थियो।
टाखेलमा मुख्य सडकसँग जोडिने यो सडक शुभकामना हाउजिङ र कन्टिनेन्टल डेभलपर्सबीच भएर फन्टे खोला बग्छ। यसअघि, शुभकामना हाउजिङका तत्कालीन प्रतिनिधि राजन तिमिल्सिनाले आफूले नै खोला पुरेको कबुल गरेका थिए।
कन्टिनेन्टल डेभलपर्सका प्रतिनिधि मदन झाले भने खोला पुर्न आफूहरू संलग्न नभएको दाबी गर्छन्। उनी भन्छन्, “त्यहाँ बाटो बनेर वा नबनेर हामीलाई केही फाइदा छैन। कारण हाम्रो प्लटिङको फेस अघिल्लो भागमा पर्छ। खोला र बाटोको फेस त शुभकामनाको लागि मात्र हो।”
के हो कन्टिनेन्टलको स्वार्थ?
कन्टिनेन्टल डेभलपर्सका प्रतिनिधि झा ११२ रोपनीमा फैलिएको आफ्नो जग्गाको आकार नमिल्दो भएको बताउँछन्। खोलातर्फ जग्गामा कतै पर्ती, कतै गोरेटो भएको र त्यो कन्टिनेन्टलको नभएको कारण समस्या पैदा गरिरहेको उनी बताउँछन्। “ती जग्गा हाम्रो होइनन्। यदि, हामीले आफ्नो जग्गा केही बाटोका लागि छोड्यौँ भने ती गोरेटो हाम्रो नाममा सट्टापट्टा हुन्छन्,” उनी भन्छन्।
झाका अनुसार, यो प्रक्रियामा कन्टिनेन्टलको ४–५ रोपनी जग्गा जान्छ, तर गोरेटो जग्गा करिब एक रोपनी मात्र कन्टिनेन्टलमा गाभिन्छ। जग्गाको एकरुपता नै आफ्नो मुख्य स्वार्थ भएको उनले स्वीकार गरे।

ह्युमपाइप निकालिए पनि अझै सडक जानसक्ने र आफ्नो जग्गा दिन सकिने सम्भावना भएको झाको भनाइ छ। उनी भन्छन्, “खोलालाई खुला छाडेर आफ्नो हिस्साको जग्गा दिन सक्छौँ। यसमा हामी उदार छौँ।”
भविष्यमा हाउजिङ बनाउने योजना भएको कारण सो क्षेत्र महत्त्वपूर्ण भएको उनको भनाइ छ। यद्यपि, आफूहरूबाट कसैलाई क्षति नपुर्याउने र ठगी नहुने उनी दाबी गर्छन्।
वडाध्यक्ष न्यौपाने अझै पनि त्यही ठाउँबाट सडक लैजानुपर्ने र विकल्प नभएको बताउँछन्। अहिले खोलाभन्दा माथि डाँडागाउँसम्म सडक बनाइ कालोपत्रेसमेत गरिसकिएको छ। खोलामा भने ह्युमपाइप पुरेर कालोपत्रे नगरी छाडिएको छ।
न्यौपाने भन्छन्, “कि त खोलाको मापदण्ड छाडेर पर्खाल लगाएर सडक बनाउनुपर्यो। त्यसो गर्दा खोल्सा (खोला) अन्ततः ढलको रूपमा प्रयोग हुन्छ। यो प्रभावकारी मोडल होइन।”
सडक र पक्की संरचना बन्दै गएपछि हाल खुला रहेको खोला वरपर अतिक्रमण हुने सम्भावना रहेको न्यौपाने बताउँछन्। तर खोलामा कसरी सडक बनाइन्छ भनेर उनले स्पष्ट भन्न सकेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
