१८ तले भ्यु टावरबाट तल... (तस्वीर–कथा)

दमकमा बनेको भ्यु टावर पुग्न अझै पक्की सडक पुगेको छैन। खानेपानीको सुविधा नहुँदा आसपासका स्थानीय कल पेलेर पानी चलाउँछन्। ढल र नहरको ‘कागजी योजना’ मात्रै बनेको छ।

झापा– सरकारी लगानीमा बनेको दमक–३ दापागाछीको भ्यु टावर (बिजिनेश टावर) संचालनमा आउन सकेको छैन। दापागाछीको ग्रामीण खेतखलियानमा उभिएको १८ तले टावर १ अर्ब ७० करोड लगानीमा बनेको हो।

दमक नगरपालिकासमेत समेटिएको चुनावी क्षेत्रबाट प्रतिनिधिसभामा लगातार प्रतिनिधित्व गरिरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा यो टावर बनेको हो। ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा भ्यु टावर बनाउने घोषणा गरेका थिए। दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७६ असार २७ गते टावरको शिलान्यास गरेका थिए ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको टावरको निर्माणमा चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष् ओम साइराम निर्माण कम्पनी जेभी खटिएका छन्। टावरमा बिजिनेश कम्प्लेक्स, बैंक, वित्तीय अड्डा, मनोरञ्जन स्थल, होटल, रेष्टुरेन्ट, कृषि तथा औद्योगिक सामग्री बिक्री केन्द्र आदि रहने भनिएको छ। तर यहाँ बस्ने संस्था तथा कम्पनीलाई के–कस्ता सेवासुविधा दिइने र कुन मोडलमा सञ्चालन गर्ने भन्ने टुंगो लागिसकेको छैन।

भ्यु टावर आसपासमा अझै पनि पक्की सडक पुगेको छैन। खानेपानीको सुविधा नहुँदा आसपासका स्थानीय कल पेलेर पानी चलाउँछन्। ढल र नहरको ‘कागजी योजना’ मात्रै बनेको छ।

भ्यु टावर परियोजना अन्तर्गत इन्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार अहिले टावरको ‘फिनिसिङ’ भैरहेको छ। टावरका लागि बेग्लै ट्रान्सफर्मर राखिएपछि लिफ्ट संचालनसहितमा बिजुलीको बिल महँगो उठ्ने उनको भनाइ छ। यस्तो बिल मासिक न्यूनतम १ लाख रुपैयाँ उठ्ने उनको अनुमान छ। अहिले टावरमा परीक्षण बत्ती मात्रै राखिएको छ।

भ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नभएको महालेखाको वार्षिक प्रतिवेदनमा समेत उल्लेख छ। प्रतिवेदनमा ‘माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुनेगरी यस्ता आयोजना सञ्चालन गर्नुपर्ने’ सुझाव दिइएको छ।

टावर क्षेत्र आसपासको ६० बिगाहा जमिन व्यवस्थापन ‘लेन्ड–पुलिङ’ गरेर नयाँ शहर बसाल्ने र शिक्षा, स्वास्थ्यसहितका सेवासुविधामा सहजीकरण गर्ने शुरूको योजना थियो। तर अहिले उक्त योजनाअनुसार काम अगाडि बढेको छैन। 

असारे झरीमा भ्यू टावरको १८ तलामा पुग्दा वरपर पानीले ढाकेको धानखेती, आसपासका रतुवा–मावा नदीको बर्खे भेल देखियो। भ्यू टावर टुप्पोबाट पूर्वमा दमक बजार, आम्दा हस्पिटल, रतुवा काँसघारी र नदी देखिन्छ। पश्चिममा मावाखोला, मावा बगर, उर्लाबारी र गोलाटार देख्न सकिन्छ। यस्तै, उत्तरतर्फ भुटानी शरणार्थी शिविर, हम्सेदुम्से जंगल र टुकुरे सुकुम्वासी बस्ती देखिन्छ। दक्षिणमा ताराबारी, हिमालय टी–गार्डेन, मेची सहकारीको हाउजिङ र महेन्द्र राजमार्ग देखिन्छ। असार पहिलो साता १८ तले टावरमा चढ्दा भने वरिपरि कुहिरोले ढाकिएको थियो।