विश्व प्रविधितर्फ अघि बढिरहेको बेला फिनल्यान्डका केही विद्यालय भने ‘स्क्रिन’को पढाइ बन्द गरेर किताब–कापीमै फर्किएका छन्।
अध्ययन–अध्यापनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को समेत प्रयोग हुन थालेको समयमा फिनल्यान्डको रिहिमाकी नगरको कदम भने अचम्म पार्ने खालको छ।
विश्वभर अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढिरहेका बेला रिहिमाकी नगरका विद्यालय भने ‘स्क्रिन’को पढाइ बन्द गरेर किताब–कापीमै फर्किएका छन्। त्यहाँका विद्यालयले अध्ययन–अध्यापनका क्रममा ल्यापटप, कम्प्युटर, प्रोजेक्टर जस्ता प्रविधिको प्रयोग कम गर्न जोड दिन थालेका हुन्।
हेलसिंकीबाट करिब ४४ माइल उत्तरमा अवस्थित छ, रिहिमाकी नगरपालिका। पहिले ल्यापटप तथा अन्य डिजिटल उपकरणले सुसज्जित हुने यहाँका विद्यालयका कक्षाकोठामा अहिले किताब–कापीले भरिएका झोलाहरू देखिन थालेका छन्।
फिनल्यान्डको सार्वजनिक शिक्षाप्रणालीले यसको गुस्तरीयता र नयाँ शिक्षण प्रविधि प्रयोगका कारण विश्वव्यापी प्रसिद्धि हासिल गरेको छ। यहाँका विद्यालयले ११ वर्षको उमेरमै विद्यार्थीलाई निःशुल्क ल्यापटप दिने गर्छन्। पछिल्ला वर्षमा भने फिनल्यान्डमा बालबालिकाको सिकाइ नतिजा बिस्तारै घट्दै गएको छ।
रिहिमाकीले सन् २०१८ देखि माध्यमिक विद्यालयमा पुस्तक प्रयोग लगभग बन्द नै गरेको थियो। अहिले फिनिश अभिभावक र शिक्षकहरू बालबालिकामा स्क्रिनको प्रभावलाई लिएर चिन्तित छन्।
“स्क्रिनमा बिताउने लामो समय न्यूनतम बनाइनुपर्छ, स्क्रिनको अगाडि घण्टौँ बिताउने होइन,” नगरको यस परिवर्तनमा काम गरिरहेका क्लिनिकल न्यूरोसाइकोलजिस्ट मिन्ना पेल्टोपुरोले भने।
कक्षा कोठामा कम्प्युटरको प्रयोग गर्दा विद्यार्थी एकै पटक सामाजिक सञ्जाललगायत अन्य धेरै कुरामा अल्झिने भएकाले पढेको नबुझ्ने समस्या बढेको उनको भनाइ छ।
“मल्टी टास्किङबाट मस्तिष्क धेरै कमजोर हुन्छ र विशेष गरी कम उमेरमा विद्यार्थीले त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन्,” उनी भन्छन्, “कम्प्युटरमा गणितको हिसाब गरिरहेको बेला, इन्स्टाग्राम, स्न्यापच्याटमा कुनै म्यासेज आइहाल्यो कि भन्नेतर्फ ध्यान दिन्छन् र त्यहीँ जान्छन्।”
फिनल्यान्डका किशोरकिशोरी अहिले औसतमा दैनिक ६ घण्टासम्म स्क्रिनमा हेर्छन्।
अत्यधिक डिजिटल प्रयोगले आँखाको समस्या र बढ्दो तनाज जस्ता शारीरिक र मानसिक दुवै जोखिमहरू आउने गरेको पेल्टोपुरो बताउँछन्।
यस्तै समस्यालाई मध्यनजर गर्दै फिनल्यान्ड सरकारले विद्यालय समयमा फोनजस्ता व्यक्तिगत उपकरणको प्रयोगमा प्रतिबन्ध लगाउने नयाँ कानूनको योजना बनाएको छ।
चौध वर्षीया विद्यार्थी एले सोक्का स्क्रिन एक किसिमको समस्या हुन सक्ने बताउँछिन्। “जब हामीले क्रोमबुक धेरै प्रयोग गर्छौं,” उनी भन्छिन्, “कहिलेकाहीँ अनावश्यक कुराहरूले ध्यान खिच्छ।”
अंग्रेजी शिक्षिका माइजा काउनेन रिहिमाकीमा भएको यस परिवर्तनबाट खुशी छिन्। “मलाई लाग्छ कि यसले युवालाई पढाइप्रति ध्यान केन्द्रित गर्न मद्दत पुगेको छ,” उनी भन्छिन्, “पढाइको समयमा ध्यान भड्किएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
