गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया थाल्न ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेशसभा सदस्यले कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्कालअघि बढाउन ध्यानाकर्षण गराएका छन्।

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा सदस्यले कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्कालअघि बढाउन ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभाको बिहीबारको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्य धर्मराज पाठकले कहिले मेडिकल कलेज र कहिले विश्वविद्यालय स्थापना गर्ने भन्दै राज्यको सात अर्ब रुपैयाँ लगानी भइसकेको गेटामा निर्माण भएका संरचनामा तत्काल विश्वविद्यालय स्थापनाको प्रक्रिया शुरू गर्न ध्यानाकर्षण गराए।

उनले सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापनामा केन्द्र सरकारले विभेद गरेको आरोप लगाए। उनले प्रतिनिधिसभामा छलफलका क्रममा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक तत्काल पारित गरेर विश्वविद्यालय स्थापनाको काम अगाडि बढाउन माग गरे। 

प्रदेशसभा सदस्य जानकी बमले देशका अरू ६ प्रदेशमा ‘एमबीबीएस’को अध्ययन अध्यापन भइरहे पनि केन्द्रको विभेदकारी नीतिका कारण सुदूरपश्चिम प्रदेशमा यो विषयको अध्ययन नभइरहेकाले गेटामा तत्काल विश्वविद्यालय सञ्चालन गर्न माग गरिन्। 

स्वास्थ्य शिक्षा प्रदान गर्ने देशका विभिन्न २५ स्वास्थ्य संस्थालाई दुई हजारभन्दा बढी कोटा अध्ययनका लागि छुट्याइएको समाचार सार्वजनिक भएसँगै गेटामा विश्वविद्यालय स्थापनाका लागि जनस्तरबाट गठन भएको संघर्ष समितिले विश्वविद्यालय स्थापनाका लागि पुनः दबाबमूलक कार्यक्रम गरिरहेको छ। 

बिहीबारको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’लाई सभासमक्ष टेबुल गरे।

उक्त विधेयक टेबुल गर्दै मन्त्री थापाले तत्कालीन सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुन नसकेको अवस्थामा प्रदेशको राजस्व संकलनमा देखिएको शून्यताको अवस्थालाई हटाउन राजस्व संकलनसम्बन्धी विधेयक ल्याउनुपरेको स्पष्ट पारे।  

मन्त्री थापाले महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन २०७९, प्रदेश लोकसेवा आयोगको तृतीय वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन बैठकमा पेश गरे। 

सभामुख भीमबहादुर भण्डारीले नेकपा एमाले संसदीय दलको सिफारिसमा प्रदेशसभा सदस्य चक्रबहादुर मल्ललाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएको ब्यहोरा जानकारी गराए।