भोजपुर–काठमाडौँ उडान कम हुँदा यात्रु मारमा

विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्थ्यो। विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ।

तस्वीर: रासस।

टक्सार– भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको विमानस्थल कालोपत्र भएको छ। सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ। तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ।

२०३५ सालमा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्थ्यो। कुनै बेला विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ। भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ।

नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ। अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ। सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ। 

विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा समस्या देखिएको हो। उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दै आइरहेका छन्। “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ,” स्थानीय सञ्जीव कार्कीले भने। 

विमानस्थलका लागि करोडौँ रुपैयाँ खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताए। भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ। 

भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग स्थानीयको छ। “बजेट खर्च भएअनुसार सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ,” स्थानीय कृष्णमाया तामाङले भनिन्।