रोजगारीको खोजीमा यूएई हुँदै नाइजेरिया पुगेका रसुवाका कान्छा तामाङ त्यहाँ ठूला निर्माण कम्पनीमा काम गरिसकेका छन्। ८ कक्षासम्म मात्र पढेका कान्छाले विश्वका ठूला कम्पनीहरूमा काम गरेको अनुभव रोचक छ।
काठमाडौँ– थाहा छैन जिन्दगी काँ पुग्ला
सुनेमा मायाको मन दुख्ला
धन कमाउने सपना बोकेर दुई दशकअघि रसुवाबाट हिँडेका कान्छा तामाङको बिसौनी बनेको छ नाइजेरिया। उनैले लेखेको गीतको हरफ हुन् यी।
“मेरो बाल्यकाल निकै दुःखमय थियो। पैसा भए त सुख मिल्थ्यो होला भन्ने सोच्थेँ, शायद त्यही कुराले मलाई परदेशी बनायो कि!” उनी आफू परदेसिएको क्षण सम्झन्छन्, “वैदेशिक रोजगारीमा जान उमेर पुगेकै थिएन, नागरिकतामा एक वर्ष बढाएरै भए पनि गएँ।”
२१ वर्षअघि ७० हजार रुपैयाँ ऋण लिएर यूएई गएका कान्छा अहिले नाइजेरियाको एक अन्तर्राष्ट्रिय निर्माण कम्पनीमा ‘साइट मेनेजर’ छन्। रसुवादेखि नाइजेरियासम्मको उनको यो यात्रा रोचक छ।
रसुवाको कालिका गाउँपालिकाका स्थानीय बासिन्दा रहेको उनको परिवारका दुःख अनेक थिए। बुवाले आमालाई छाडेर गएपछि उनको बाल्यकाल दुःखैमा बित्यो। जसोतसो ७ कक्षासम्म पढे। ८ कक्षामा अनुत्तीर्ण भएपछि भागेर साथीहरूसँग काठमाडौँ आए। ट्रेकिङ कम्पनीमा पर्यटकको भारी बोक्न थाले। कलिलो उमेर, हिमाल चढ्ने क्रममा पर्यटकको टोलीसँगै उनी पनि दुर्घटनामा परे।
उपचारपछि घाउ निको भए पनि आर्थिक अभावले लखेटिरह्यो, अनि लागे भारतको हिमाञ्चलतिर। त्यहाँ मजदुरी गरे। केही वर्ष उतै बिताएपछि फर्केर फेरि पढाइलाई निरन्तरता दिन खोजे तर त्योबेला माओवादीको त्रासले गाउँमा पढ्नै पाएनन्। शहरमा पढ्न आर्थिक अवस्थाले छेक्यो।
“माओवादीसँग बचेर हिँड्नुपर्थ्यो, कतै भेटे समातेर सेनामा भर्ती गर्थे। कति साथीलाई त्यसरी नै समातेर लग्यो,” उनी भन्छन्, “मलाई माओवादीमा जानु थिएन, त्यसैले वैदेशिक रोजगारीमै जाने सोचेँ।”
खाडी बन्यो गन्तव्य
सन् २००३ मा उनी दुबई गए। विकास निर्माणका कामहरू धमाधम भइरहेको दुबई हजारौँ नेपालीको रोजगारीको गन्तव्य हो। त्यतिबेला गगनचुम्बी भवनहरू बन्दै थिए। उनले एक कोरियन निर्माण कम्पनीमा काम थाले। तलब ४०० दिर्हाम अर्थात्, त्यस बेलाको सटही दरअनुसार महिनाको १०–१२ हजार रुपैयाँ भएको उनी बताउँछन्।
रसुवाजस्तो चिसो हावामा हुर्केका कान्छालाई खाडीको तातोमा काम गर्नुपर्दा बेकार आएँछु जस्तो लाग्यो। तर चार पाँच महिना बितेपछि सहज बन्दै गयो। “शुरूमा निर्माण क्षेत्रमा गएको थिएँ। पहिलोपटक दुःख नै भयो। आउटडोर काम थियो। भर्खरको कलिलो उमेर, आँसु नै आउँथ्यो नि,” उनले पीडा सुनाए।

कोरियाली कम्पनीमा ५/६ महिनाभन्दा बढी काम गर्न सकेनन्। त्यहाँबाट भागेर अवैधानिक भएर काम गर्न थाले। एक वर्षभन्दा धेरै समय यसरी नै बिताए। त्यसबीच उनले विभिन्न कम्पनीमा ‘इलेक्ट्रिक पावरप्लान्ट’देखि ‘कार्पेन्टिङ’, ‘स्काफोल्डिङ’ आदि काम गरे। राम्रो कामको खोजी गरिरहेका थिए, त्यहीबेला जापानी कम्पनीमा कामदारको माग भएको थाहा पाए।
कामदारको अभाव थियो। अलिकति अंग्रेजी बोल्न जान्ने र काम गरेको अनुभव भएको कान्छालाई जापानी कम्पनीले लिन त मान्यो तर पासपोर्ट पुरानै कम्पनीसँग थियो। दुई कम्पनीबीच सम्झौता भयो, कान्छाको पासपोर्ट उनैलाई फिर्ता गरियो। केही जरिबाना तिर्नुपर्यो। उनी सन् २००५ देखि जापानी कम्पनीमा काम गर्न थाले।
त्यहाँ ओभरटाइम गरेर महिनाको ३/४ हजार दिर्हाम हुन्थ्यो, त्यो राम्रै कमाइ मानिन्थ्यो। त्योबेलासम्म आफू कार्यरत कम्पनीमा उनी सुपरभाइजर बनिसकेका थिए।
अझै राम्रो कम्पनी पाए हुन्थ्यो भन्ने सोचिरहन्थे। सीप बढाउँदै राम्रो कम्पनीमा जाने हुटहुटीले अवसरको अर्को ढोका खुल्यो, त्यो थियो नाइजेरिया। सयौँले आवेदन दिएको ठाउँमा नेपाली भने कान्छा मात्र छानिए।
१५ वर्षदेखि नाइजेरियामा
कान्छा सन् २००९ मा अफ्रिकी देश नाइजेरिया गए। नाइजेरिया भन्नेबित्तिकै ‘आतंकवादी’ संगठन बोकोहरामको नाम आउँछ। कान्छालाई पनि बोकोहरामले हानेको गोली झन्डै लागेन!
त्यहाँ शुरूमा गएको कम्पनीमा उनले दुई वर्ष काम गरे। नाइजेरियाको लागस भन्ने ठाउँमा भवन निर्माणसम्बन्धी काम थियो। उनले दुबईमै सिकेको सीप स्काफोल्डिङको सुपरभाइजर बनेका थिए। उनका अनुसार तलब १७ सय अमेरिकी डलर थियो।
दुई वर्षपछि कम्पनीको बोससँग विवाद भयो। तर कान्छाले त्यो विवादलाई नयाँ अवसरको खोजीमा लगाए। “बोसले घर पठाइदिन्छु भन्न थाल्यो। मैले काम खोजिहाल्छु अलिकति समय दिनुस् भनेँ। काम खोजेँ, अन्तर्वार्ताका लागि बोलायो र पास पनि भएँ,” उनले भने। त्यो कम्पनी थियो नाइजेरियाको प्रख्यात निर्माण कम्पनी जुलियस बर्जर।
सन् २०११ मा जुलियस बर्जर पीएलसी कम्पनीमा आबद्ध भएका कान्छा स्काफोल्डिङ सुपरभाइजर, साइट सुपरभाइजर हुँदै अहिले साइट मेनेजर बनेका छन्। उक्त कम्पनीमार्फत उनले ‘सेन्ट्रल बैंक अफ नाइजेरिया’को २३ तलाको भव्य भवन निर्माणमा काम गर्ने अवसर पाए, जुन त्यहाँको ठूलो शहर लागसमा पर्छ। लागसमा उनले ३/४ वटा आयोजनामा काम गरे।

उनले त्यही कम्पनीमार्फत् नाइजेरियाकै ‘ड्रिम प्रोजेक्ट’ मानिने नाइजा ब्रिजमा ३ वर्ष सुपरभाइजर भएर काम गरे। ३३६ बिलियन नाइजेरियन मुद्राको यो आयोजनामा १.६ किलोमिटर लामो पुल र पुलसँग जोड्ने १०.३ किलोमिटर लामो राजमार्ग छ। सन् २०१८ देखि शुरू भएको आयोजना २०२३ मा सम्पन्न भएको थियो। यस सडकले नाइजेरियाको डेल्टा राज्यको असाबा र अनाब्रा राज्यको ओनित्सा शहरलाई जोडेको छ।
त्यस कामले उनलाई अन्तर्राष्ट्रिय स्तरका इन्जिनियरहरूसँग सहकार्य गर्ने अवसर मिल्यो। आत्मविश्वास पनि बढ्यो। “अब म विश्वको जुनसुकै देशमा पनि निर्माण क्षेत्रमा काम गर्न सक्छुु,” उनी भन्छन्। कामसँगै सीप विकास गर्दै जाँदा अवसरहरू खोज्दै आउने उनी बताउँछन्। विद्यालय शिक्षा अधुरै रहे पनि काम गर्दागर्दै सिकेको सीपले अहिलेको स्थानसम्म ल्याइपुर्याएकोमा उनी गर्व गर्छन्। भन्छन्, “सबैभन्दा ठूलो कुरा स्किल डेभलप गर्नु नै हो, जुनसुकै देशमा पनि काम लाग्छ, स्किल भए अवसरले हामीलाई खोज्ने रहेछ।”
नाइजेरियाको महत्त्वाकांक्षी योजनामा काम गर्न पाउनुलाई ‘सौभाग्य’ ठान्छन् उनी। उनका अनुसार नाइजा ब्रिज सुरक्षाका हिसाबले जोखिमपूर्ण क्षेत्रमा पर्र्छ। गाडीमा अगाडि–पछाडि प्रहरी हुन्थे, सुरक्षाका बीच काम गर्नुपर्थ्यो। उनी पनि हतियारधारी समूहको आक्रमणमा परे।
“बिहान ५ बजेको समय, लागोस शहरबाट बाहिर साइटमा जाँदै थियौँ, सडकको छेउबाट हामी चढेको जिपमा एकाएक बुलेट फाइरिङ भयो। झ्यालको सिसा फोडेर निधारबाटै गोली गयो। लाग्न चाहिँ कसैलाई लागेन,” उनले भने, “बोकोहराम हो कि अरू कुनै विद्रोही समूहले हानेको हो ठम्याउन सकेनन्।”
नाइजेरियाको उत्तरी क्षेत्रमा बोकोहराम सक्रिय छ। कहिलेकाहीँ ती क्षेत्रमा पनि साइट पर्छन्, त्यस्तो बेला सरकारले नै सुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने उनी बताउँछन्।
यस्तै, सुपरभाइजर तथा साइट मेनेजर भएर काम गर्न पनि चुनौतीपूर्ण हुन्छ। त्यहाँका स्थानीयसँग घुलमिल हुनु, उनको मनसाय बुझ्नु, काममा अरनखटन गर्नु, विवाद मिलाउनु झन्झटिलो कुरा हो। उनले यी सबै भोगिसके।
“पहिले सानोतिनो कृुरामा पनि लफडा हुन्थ्यो। मसँग नि एकदुई पटक भइसक्यो। उनीहरूको हुलै उठेर आउँछ,” उनी भन्छन्, “कामदारलाई हप्काउन मिल्दैन। सम्झाउनुपर्यो। आफूले राम्रो व्यवहार गरेमा उनीहरूको व्यवहार पनि राम्रो हुने हो। सम्झाउन गाह्रै हुन्छ। नयाँ–नयाँ मान्छेलाई गाह्रो हुन्छ। मनमुटु बुझ्नुपर्यो। म त त्यत्रो वर्ष भइसक्यो त्यसैले सबै थाहा छ।”
नेपाल फर्केर के गर्ने?
उनी नाइजेरिया जाँदा लागस शहरमा नेपाली भेट्न मुस्किल हुन्थ्यो। त्यहाँ गएको दुई वर्षपछि बल्ल उनले नेपाली भेटे। उनका अनुसार अहिले लागसमा २०/३० जना नेपाली छन्, तीमध्ये धेरैजसो होटेल क्षेत्रमा कुक छन्।
कुनै पनि विशेष सीप नभई नाइजेरिया नजान उनको सुझाव छ। उनका अनुसार नाइजेरियाले साधारण कामदारको लागि भिसा नै दिँदैन। पछिल्लो समय त झन् कडा गरेको छ।

उनी अहिले संलग्न आयोजना सकिन दुई वर्ष बाँकी छ। त्यसपछि के गर्ने सोचेका छैनन्। तर नाइजेरियामा लामो समय बिताएकोमा भने उनलाई कुनै पछुतो छैन। “जागिर नेपालमा खानु र उता खानुमा एउटै हो। वर्षको दुईचोटि आइरहेको छु,” उनले हाँस्दै भने, “नेपालभित्रै जागिर गर्नेमध्ये कतिपय त वर्षमा एकपटक पनि घर जान पाउँदैनन्, म त प्रत्येक वर्ष आइराख्छु, त्यसैले नाइजेरिया टाढा छैन।”
सन् २०१६ मा उनले नेपालमै केही व्यवसाय गर्न खोजेका थिए। तर सामान्य व्यवसाय गर्न पनि निकै झन्झटिलो प्रक्रियालगायत विषयले आँट गरेनन्। झट्टै जागिर छाडेर नेपाल आउँदा त्यहीअनुसारको कमाइ हुन्छ भन्ने पनि लागेन।
नेपाल फर्केर आफूले बटुलेको अनुभव कहाँ काम लगाउने भन्ने कुराले पनि उनलाई पिरोल्छ। उसो त कान्छाले अनलाइनबाटै विभिन्न युनिभर्सिटीबाट इन्जिनियरिङ क्षेत्रमा आफूले गर्ने कामसम्बन्धी विभिन्न डिग्री लिइसकेका छन्। तर नेपालमा त्यसको महत्त्व नभएको र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा मान्यता नै नदिएको उनको गुनासो छ।
“नेपालमै पढेर डिग्री लिएको इन्जिनियर चाहीँ इन्जिनियर हामी विदेशको त्यत्रा ठूलाठूला प्रोजेक्ट गरेकाहरूलाई चाहिँ मान्यता नै दिएको छैन। विदेशमा मान्यता दिन्छ। मेरो अनुभव र सीभीले विश्वका जुनसुकै देशमा पनि काम पाउँछ,” उनी भन्छन्, “तर नेपालमा मैले मेरो सीभी देखाएँ भने पहिले इन्जिनियरिङ गरेको छ कि छैन भन्छ। यहाँ त सीप भए नि नभए पनि आफ्नो मान्छे हाल्छ।”
त्यही भएर पनि निर्माण कार्यहरू टिकाउ नहुने, भत्किने, बिग्रिने उनको भनाइ छ। गुणस्तर परीक्षण नै नगरी इन्जिनियरले ‘ठीक छ’ भनेर साइन गरिदिने र विभिन्न व्यक्तिले पैसा खाने, फेरि अर्को वर्ष त्यही काम मर्मतका लागि बजेट ल्याउने प्रवृत्ति छ। निर्माण कम्पनीले जिम्मा लिएर निश्चित समयसम्म केही भए उसैले पुनर्निमाण गर्नुपर्ने व्यवस्था चाहिने उनी बताउँछन्।
एक महिनाको छुट्टी लिएर गत जुनमा नेपाल आएका कान्छा म्युजिक भिडियो बनाएर नाइजेरिया फर्किसके। आफ्नै शब्द तथा विश्व दोङ र सुमिना लोको स्वरमा उनले आफ्नै जीवनको कहानी समेटेर गीतिकथा खालको भिडियो बनाएका हुन्, जसलाई नाम दिएका छन्, जीवन कथा–१।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
