कोशी सरकारमा कांग्रेस सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार, खगेनसिं हांगाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन तथा वन वातावरणमन्त्री नियुक्त भएका छन्। 

काठमाडौँ– नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी सहभागी भएको छ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। 

प्रदेश महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन्। सिटौला समूहकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।

कांग्रेसकै खगेनसिं हांगाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्। हांगाम र मण्डल दुवै सभापति शेरबहादुर देउवा निकट हुन्। योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ।

२०८१ वैशाख २७ मा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई शुरूमा नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो। असार १७ मा केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि साउन ११ मा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो।