टासी र पेमाबीच असीमित माया छ। चलचित्रको शुुरूआती दृश्यमा पेमाकी आमाले भनेकी छिन्, “श्रीमान् जति वटा भए पनि बढी माया लाग्ने एक जना हुन्छ।” पेमाका लागि आमाले भनेका श्रीमान् उनै टासी हुन्।
काठमाडौँ– पत्रकार सोनी फलेरियोले लेखेको गैरआख्यान ‘द गुड गर्ल्स : एन अर्डिनरी किलिङ’ सन् २०२१ मा प्रकाशित भयो। भारतको उत्तर प्रदेशस्थित कत्रागाउँमा दुई बालिकाको बलात्कारपछि सामाजिक लोकलाजका कारण नै कसरी उनीहरूलाई मृत्युसम्म पुर्याउँछन् भन्ने विषयमा लेखिएको छ। पुस्तकको परिचय पृष्ठको अन्तिम पंक्तिमा भनिएको छ, ‘ह्वाट इज द कस्ट अफ ह्युमन शेम?’ (मानिसको लोकलाजको मूल्य कति?)
मीन भामको चलचित्र शाम्बाला हेरेपछि यही प्रश्नले पुनः झस्काएको छ। पत्रकार फलेरियोले पुस्तकमा उठाएको प्रश्न वरिपरि नै घुमेको छ शाम्बाला।
हिमाली बौद्ध परम्परामा शाम्बालालाई मिथकको स्वर्ग (मिथिकल हेभन) र हिन्दू धर्ममा भगवान् विष्णुको अन्तिम अवतार कल्लीको जन्म हुने गाउँ मानिन्छ। दुवै धर्मले ती ठाउँलाई ज्ञान र बौद्धिकताको युटोपियाको रूपमा चित्रण गरेका छन्।
पेमा, कर्मा र टासी
हिमाली बौद्ध संस्कृतिअनुसार बहुपति प्रथामा आधारित छ शाम्बाला। घरबार बसालेर ल्हासामा व्यापार गर्न पुगेका जेठा श्रीमान् टासीको पर्खाइमा हुन्छन् पेमा र उनका कान्छो श्रीमान् दावा। यही बेला पेमा गर्भवती भएको थाहा हुन्छ। यसबाट पेमा र दावा दुवै जना हर्षित हुन्छन्। तर गाउँमा पेमाको गर्भमा रहेको बच्चा टासीको नभई अरू नै कसैको भएको हल्ला चल्छ। यो हल्ला ल्हासामा भएका टासीसम्म पुग्छ।
टासी र पेमाबीच असीमित माया छ। चलचित्रको शुरूआती दृश्यमा पेमाकी आमाले भनेकी छिन्, “श्रीमान् जति वटा भए पनि बढी माया लाग्ने एक जना हुन्छ।” पेमाका लागि आमाले भनेका श्रीमान् उनै टासी हुन्।
पेमाका माहिला श्रीमान् कर्मा भिक्षु हुन्। सोही कारण पेमा र कर्माबीच कुनै प्रकारको भावनात्मक तथा शारीरिक आर्कषण छैन। कर्मा केवल सामाजिक रीतिअनुसार मात्र विवाहबन्धनमा बाँधिएका हुन्छन्। दावा विद्यालय पढ्ने उमेरका छन्।
कम अन्न उत्पादन हुने जटिल भूगोल भएको हिमाली क्षेत्रमा उनीहरू तिब्बतमा हुने व्यापारमा बढी निर्भर छन्। सोही कारण घरव्यवहार सम्हाल्ने जिम्मा पेमालाई दिएर टासी ल्हासा पुगेका हुन्छन्। ल्हासा पुगेको केही समयपछि नै पेमा गर्भवती भएको र गर्भमा रहेको बच्चाको बाउ आफू नभएर अरू नै कोही भएको टासीले सुन्छन्।
तर पेमाप्रति टासीको माया उत्तिकै छ। यद्यपि कोखको बच्चा आफ्नै नभएको हल्लाले समाजका अगाडि आफूलाई लज्जित हुने ठान्छन् र ल्हासातिरै बेपत्ता भइदिन्छन्। यता पेमा भने टासीको खाजीमा निस्किन्छिन्। उनलाई माहिला श्रीमान् कर्माले साथ दिन्छन्। भावनात्मक रूपमा निकट नभएको कर्मा र पेमा दुवैका लागि यो यात्रा सम्बन्धका केस्रा केलाउने र आत्मबोध गर्ने अवसर बन्छ।

कर्माको लागि ‘बच्चाको बाउ को’ भन्दा पनि बच्चा जन्मनु महत्त्वपूर्ण हुन्छ। यो संवादबाट पेमाप्रति उनको सम्मान देखिन्छ।
के कर्मा र पेमाको यात्रा पूर्ण होला? सांसारिक जीवन त्यागेर भिक्षु भएका कर्माले पेमालाई यात्रामा कहाँसम्म साथ दिन्छन्? टासी भेटिएलान्? यी प्रश्नको उत्तरका लागि नै मीनले शाम्बाला बनाएका हुन्।
द गुड गर्ल्स : एन अर्डिनरी किलिङ पुस्तक र शाम्बाला फिल्म फरक भूगोल, परिवेश र संस्कृतिका कथा हुन्। तर द गुड गर्ल्सको प्रश्न ‘मानिसको लाज, शरमको मूल्य’को उत्तर शाम्बालाले दिएको छ– त्यो हो आत्मसम्मान र आत्मसन्तुष्टि।
शाम्बालामा मानवशास्त्रीय सौन्दर्य
कलिउडदेखि हलिउडसम्मका अधिकांश चलचित्रमा हिमाललाई आकर्षणका रूपमा मात्र देखाइन्छ। हिमालको सौन्दर्य बेच्नका लागि गीतसंगीत र द्वन्द्वका दृश्यको गन्तव्य बनेका छन् हिमाली क्षेत्र। तर शाम्बालामा त्यहाँको संस्कृति, भूगोल र मान्छेको संघर्ष देखिने मानवशास्त्री जनक राई बताउँछन्। “स्थानको मौलिकता, जीवनशैली, कथा भन्ने माटो सुहाउँदो शैली आकर्ष छ,” राई भन्छन्।
हिमाली बोन र बौद्ध परम्परा तथा हिमाली जीवनको कठिन जीवनयापनको संघर्षको सुन्दर कथामा चलचित्र बुनिएको छ। हिमाली भूगोल, चालचलन र जनावरलाई एउटै ‘फ्रेम’मा देखाउनु चलचित्रको सुन्दर पक्ष रहेको उनी बताउँछन्।
हिमाली क्षेत्रमा खेतीयोग्य जमिन सीमित छ। व्यापार र जनावरको भरमा आय गर्नुपर्ने कारण बहुपति प्रथाको आवश्यकतालाई समस्याग्रस्त नहुने गरी शाम्बालामा देखाइएको अर्का मानवशास्त्री सुरेश ढकाल बताउँछन्। यद्यपि, हिमाली क्षेत्रमा यस्तो प्रचलन घट्दो परिस्थितिमा रहेको उनको भनाइ छ।
प्रमुख पात्र पेमालाई आदिवासी महिलाको निरन्तरको संघर्ष र सहनशीलताको बिम्बका रूपमा उभ्याइएको ढकालको भनाइ छ। चलचित्रमा पेमामाथि लागेको आक्षेप र आफ्नो निश्छलता प्रमाणित गर्न उनले दिनुपर्ने परीक्षा नै समाजले महिलालाई हेर्ने दृष्टिकोणको नमूना हो। जुनसुकै समाजमा पनि महिला र पुरुषमा सदैव विभेद रहेको र लोकलाजको मूल्य सदैव महिलाले बेहार्नु परेको ढकाल बताउँछन्।
“आदिवासी महिलाहरू पुरुषको तुलनामा बलिया र सशक्त छन् भन्ने मान्यता लामो समयदेखि मिथको रूपमा स्थापित भयो,” ढकाल भन्छन्, “आदिवासी महिला सशक्त छन् भन्ने सूचक शिक्षा, चलअचल सम्पतिमाथिको प्रभुत्वलगायत विषयमा मिहीन ढंगमा बहस हुनुपर्छ।”
मानवशास्त्री राई भने पेमाले कतिपय विभेदको प्रतिरोध गरेको बताउँछन्। उनी भन्छन्, “उदाहरणका लागि पेमा उनको घोडा (नाम्खा)सहित एक्लै श्रीमान्को खोजीका लागि अनिश्चित यात्रामा निस्किन्छिन्, जुन सांस्कृतिक हिसाबले समाजको विभेदमाथि हस्तक्षेप हो।”
यद्यपि, चलचित्रमा पेमाले खेप्नु पर्ने आरोहअवरोह कतिपय सन्दर्भमा मुख्य पात्रमाथि दर्शकको ध्यान तान्न मात्र बुनिएको हुनसक्ने राई बताउँछन्। लोकलाजको भुमरीमा परेर भए पनि पेमाले आत्मबोध गरेको उनको भनाइ छ।
चलचित्रको अन्त्यलाई लिएर विभिन्न महोत्सवमा निर्देशक मीन भामलाई प्रश्न गर्ने गरिएको छ। उनले चलाखीपूर्ण उत्तर दिने गरेका छन्, “कतिले दुखान्त, कतिले सुखान्त अथवा वियोगान्त बुझ्नु होला, त्यो जिम्मा दर्शकलाई नै सुम्पिएँ। मेरा लागि भने यो सुखान्त हो, जहाँ पेमा आफूलाई शाम्बालाको रूपमा परिवर्तित गर्छिन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
