सरकारले कृषि सुधारका लागि करिब ९ अर्ब ऋण लिने

सरकारले विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयन गर्न एडीबीबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली पनि गठन गरेको छ।

काठमाडौँ– सरकारले कृषि सुधारका लागि करिब नौ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने ५३.४ मिलियन एसडीआर (करिब नौ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । 

“कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट ‘रिसाइलेन्ट हाइभ्यालु एग्रिकल्चर प्रोग्राम’का लागि प्राप्त हुने ५३.४ मिलियन एसडीआर (करिब नौ अर्ब ४५ करोड रुपैयाँ बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने पनि निर्णय भएको छ,” उनले भने।

दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत विद्युत् ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयन गर्न एशियाली विकास बैंक (एडीबी) समेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि सरकारले गरेको छ। 

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको भने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगायतका आयोजनामा आर्थिक वर्ष २०८१/८२ का लागि २१० अस्थायी दरबन्दी स्वीकृत गरेको छ।