तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

२०५२ सालदेखि तरकारीखेती शुरू गरेकी बेदकोट– ७ मन्दिरपुरका उर्मिला डगौराले यसकै आम्दानीले घर जग्गा जोडेकी छन्। छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्।

दोधारा चाँदनी– मिहिनेत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन्, बेदकोट नगरपालिका– ७ मन्दिरपुरका उर्मिला डगौराले।

२०५२ सालदेखि एक कट्ठा जग्गामा तरकारीखेती शुरू गरेकी उनले यसकै आम्दानीले घर जग्गा जोडेकी छन्। छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्। छोरा रविन भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढ्दै छन्। छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै छिन्। 

“तरकारीको आम्दानीले नै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भनिन्, “राम्रो भइरहेको छ।” उर्मिलाको मिहिनेतमा श्रीमान् रामबहादुरको पनि सहयोग छ। स्थानीय लालपुर बजारमा रामबहादुरले किराना पसल सञ्चालन गरेका छन्। 

उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्छन्। “तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ,” उर्मिलाले भनिन्, “अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ।” छोरी रविनालाई डाक्टर पढाउन हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको छ। सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ। लहरे तरकारीबाट सिजनमा दुई लाख रुपैयाँ बचत हुने गरेको छ। 

तरकारीखेती शुरू गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमा पुगेर उद्यम गरिरहेका महिलाको समूह गठन गरेको थियो। सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध भइन्। सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलालाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ।

सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि उर्मिलाले बताइन्। “हामीले परम्परागत रूपमा खेती गर्दै आएका थियो,” उनले भनिन्, “सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो।” उक्त समूहमा १६ महिला आबद्ध छन्। 

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले बताए।