ठेकेदारको लापरबाहीले बनेन धुलिखेल–खावा सडक

निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे। खाल्डाखुल्डी। हरेक स्थानमा पहिरो जसका कारण अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्न सर्वसाधारणले निकै सास्ती भाग्नु परेको छ। 

निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्। गौरीपार्वती निर्माण सेवाले जिम्मा लिएर काम नगर्दा बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण छ। 

यो नेपालको एक प्रमुख व्यापारीक सडक हो। काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजारसम्म पुग्न सकिन्छ। धुलिखेल–खावाखण्डलाई १२ मिटर चौडा बनाएर कालोपत्र गर्न लागिएको थियो। 

मालवाहक सवारीको भारवाहन क्षमतालाई मध्यनजर गर्दै सडक बलियो बनाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने योजना थियो।

कालोपत्र गर्न २० करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गतेसम्म मात्र थियो। त्यसछि समय थपिएको छ। छिटो सम्पन्न गर्ने योजना रहे पनि हालसम्म २० प्रतिशत काम मात्र सकिएको छ।

सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठमा २२ महिनामा सक्ने सम्झौता भएको थियो। तर अहिले पनि सडकको हालत उस्तै छ। यात्रुले सास्ती पाइरहेका छन्। सडक छेउमा व्यवसाय गर्दै आएका होटल सुनसान बन्दै गएका छन्। कतिपय बन्द भइसकेका छन्।