दाउरा संकलनका क्रममा महाकालीमा बगेर १ जनाको मृत्यु, १ बेपत्ता

दाउरा संकलनका क्रममा महाकाली नदीमा बगेका दुई किशोरमध्ये एकको मृत्यु भएको छ भने अर्का किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

महाकाली नदीको पुल

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए। 

उनका अनुसार शनिबार दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाईं र सोही ठाउँका १५ वर्षीय अबि दमाईं दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन्। 

तीमध्ये सौरभको शव फेला परेको छ। दोधारा चाँदनी झोलुंगे पुलनजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्। लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।