ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिँदा सवारी आवागमन प्रभावित भएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिएको छ। शनिबार कुपण्डोलबाट पुल्चोकतर्फ जाने मुख्य सडक होटल हिमालयनजिक भासिएर भ्वाङ परेको हो। 

सडक भासिएर मुनिबाट पानी नसकिँदा सवारी आवागमन प्रभावित भएको छ। अहिले उक्त स्थानमा प्रहरी परिचालन गरिएको छ। 

पछिल्लो समय काठमाडौँ उपत्यकामा सडक भासिने क्रम बढिरहेको छ। नयाँ बानेश्वर चोकबाट शंखमूल जाने मुख्य सडक भासिएको थियो। 

साउन २४ गते दरबारमार्गबाट कमलादी हुँदै कमलपोखरी जाने सडकमा करिब ५ मिटर गहिरो भ्वाङ परेको थियो। 

दुई महिनाअघि सोह्रखुट्टे–बालाजु जाने सडक भासिँदा मोटरसाइकलसहित दुई जना यात्रु डुबेका थिए। गत माघमै पनि नयाँ बानेश्वरको सडकमा गुडिरहेको बस एकाएक भासिएको थियो।