नेपाल प्रिमियर लिग : ८ टिमले छाने ‘मार्की प्लेयर’

नेपाल प्रिमियर लिगमा सहभागी आठ टिमले ‘मार्की प्लेयर’ छनोट गरेका छन्।

काठमाडौँ– नेपाल प्रिमियर लिगका ‘मार्की प्लेयर’ छनोट भएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन्।

‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौँमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चितवनमा कुशल मल्ल परेका छन्।

यस्तै, टिम विराटनगरमा सन्दीप लामिछाने, टिम लुम्बिनीमा रोहित पौडेल, टिम जनकपुरमा आशिफ शेख, टिम कर्णालीमा सोमपाल कामी र टिम सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी चयन भएका छन्।

मार्की खेलाडीले टिममा तीन वर्ष खेल्नुपर्ने छ भने पारिश्रमिकबापत प्रत्येक मार्की खेलाडी २० लाख रुपैयाँ पाउनेछन्। मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ। यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ।