इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले गाजाको एक घरमा भएको इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।

इजरायली हवाई आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायलीले गाजाको एक घरमा हवाई आक्रमण गर्दा चार बालबालिकासहित ११ जनाको मृत्यु भएको जनाएको हो।

“पूर्वी गाजा शहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ,” विभागकाका प्रवक्ता महमुद बस्सलले बताए।

गाजाको अल–तुफाहमा रहेको सुजैया विद्यालयनजिकै आक्रमण भएको उनले बताए। “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्,” बस्सलले भने।  

इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको बताएका छन्।

उत्तर पश्चिमी गाजा शहरमा दार अल–अर्काम विद्यालयनजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए।

त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ।