सवारीसाधन दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विश्वबैंकको अध्ययनअनुसार नेपालमा सवारीसाधन दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति हुने गरेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सवारीसाधन दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषद‍्को यथाशीघ्र गठनलगायत सडक सुरक्षाको दिगो तथा तात्कालीक महत्त्वका बुँदाहरू समेटेर ध्यानाकर्षण गराएका हुन्।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोमा दुई वटा यात्रुवाहक बस हराएका छन्, जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ। त्रिशुली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन्। देशैभरिका नयाँ तथा पुराना सडक बिग्रेका कारण यातायात अवरूद्ध हुने, दुर्घटना हुने वा जोखिमपूर्ण यात्रा गर्ने बाध्यता रहेको सन्दर्भमा उद्धार र खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि सम्बन्धित सरकारी संयन्त्रलाई निर्देशन दिन अभियानकर्ताहरूले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार विगत १० वर्षको अवधिमा मात्रै करिब २४ हजार मानिसले सवारीसाधन दुर्घटनामा ज्यान गुमाएका र करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका ज्ञापनपत्रमा उल्लेख छ। यस्तै, स्वास्थ्य मन्त्रालयको तथ्यांक उद्धृत गर्दै एकै वर्षमा करिब एक लाख जना यस्ता दुर्घटनाबाट घाइते भई उपचारका लागि स्वास्थ्य संस्थामा आउने भयानक अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले नेपालमा एकै वर्षमा करिब ८ हजार ५०० जनाको सवारीसाधन दुर्घटनाका कारण ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको भन्दै यसरी हजारौँ प्रत्यक्ष प्रभावितका परिवार र आफन्त गरी लाखौँ मानिसहरू सवारीसाधन दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्थातर्फ पनि ध्यानाकर्षण गराइएको छ। विश्वबैंकको अध्ययन अनुसार नेपालमा सवारीसाधन दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति भएको उल्लेख गर्दै यसको आर्थिक पक्षलाई पनि स्मरण गराएका छन्।