धोबीखोलामा ट्याक्सी खस्यो

अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट ट्याक्सी धोबीखोलामा खसेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काडमाडौँ– अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट एउटा ट्याक्सी धोबीखोलामा खसेको छ। आइतबार राति चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरीले वृत्त सिंहदरबारले जनाएको छ। 

ट्याक्सीसँगै खोलामा खसेका चालक भने सकुशल बहिर निस्किएका छन्। ट्याक्सीका चालक सकुशल निस्केर सिंहदरबार ट्राफिक प्रहरीको सम्पर्कमा आएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ट्याक्सी पनि रोज बड स्कुलनजिकै भेटिएको छ। खोलाले बगाएर डुबेको अवस्थामा रहेको ट्याक्सीलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले क्रेनको सहायताले खोलामा बगेको ट्याक्सी निकाल्ने तयारी गरेको छ।

निरन्तरको वर्षापछि धोबीखोलामा जल सतह बढेका बेला ट्याक्सी खोलामा बगेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार कपन, पानीपोखरी, सुन्दरीजल, बूढानीलकण्ठ, बबरमहल र आसपासमा भारी वर्षा भइरहेकाले काठमाडौँ उपत्यकाका नदीमा जल सतह बढेको छ।

विष्णमत नदी गोंगबु जलमापन केन्द्रमा जल सतह खतरा तह पार गरेको छ। वर्षा जारी रहेकाले विष्णुमतीसँगै बागमती, धोबीखोला नदीमा बहाव बढ्दो क्रममा रहेको र यी नदी तटीय क्षेत्रमा बस्ने र नदी छेउको सडक भई यात्रा गर्नेहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ।

विभागका अनुसार हाल बागमती प्रदेशको सिन्धुपाल्चोक, काठमाडौँ, मकवानपुर, चितवन र गण्डकी प्रदेशको कास्की, लमजुङ, गोरखा र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको छ।

भारी वर्षा जारी रहने पूर्वानुमान छ। त्यसैले स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ। कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले सतर्क रहन भनेको छ।