इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ।

प्रतीकात्मक तस्वीर

काठमाडाैँ– इस्लाम धर्मावलम्बीले धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन्। सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस)को दिन सोमबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा पनि दिएको छ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज बिदा दिइएको जनाएको हो। यसै अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ। इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन्।

पर्वमा बिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर)को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन्। ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ।