यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटना बढे

यो वर्ष अहिलेसम्म मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको मृत्यु भएको छ। 

गत साउन ३ गते ताप्लेजुङको फक्ताङलुङमा गएको पहिरो

काठमाडौँ– यस वर्ष मनसुनको पछिल्लो ९० दिनमा गत वर्षको भन्दा विपद‍्बाट हुने मानवीय क्षतिका घटनामा  बढोत्तरी भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको मृत्यु भएको पाइएको हो।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र २८४ जना घाइते भएको जानकारी दिए। प्रभावित परिवारको संख्या भने अलि कम रहेको पाइएको छ। प्राधिकरणले ९० दिन (जेठ २८– भदौ २२)सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार संख्या चार हजार ६१५ पुगेको जानकारी गराएको छ। 

गत वर्ष मनसुन शुरू भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, १२६ जना घाइते भएका थिए। विपद् प्रभावित परिवारको संख्या भने छ हजार ३० रहेको थियो।

यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको मृत्यु भएको छ। 

यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन्।

गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशुली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेला परेको जानकारी गराइएको छ।

कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ। त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै ६२४ मिलीमिटर वर्षा भएको थियो।