कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयभन्दा बढी संक्रमित

पछिल्लो तीन महिनामा डेंगी संक्रमणदर ह्वात्तै बढेको र समयमै जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिन सक्ने स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपाली बताउँछन्।

गण्डकी– कास्कीमा डेंगी संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालका अनुसार गत जनवरियता जिल्लाका तीन हजार ७६८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार १११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुच्छ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रूपा गाउँपालिकामा १३ जनामा डेंगी संक्रमण देखिएको हो।

यस्तै, अन्य जिल्लाका २६३ र ठेगाना नखुलेका ३०८ गरी कास्कीमा कुल तीन हजार ७६८ जनामा डेंगी संक्रमण पुष्टि भएको हो। पोखरा महानगरपालिका–५ र ८ लगायतका वडा डेंगीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए।

जनघनत्व बढी भएका ठाउँमा संक्रमण छिटो फैलने हुँदा पोखरा डेंगीको ‘हट स्पट’ बनिरहेको उनको भनाइ छ। स्वास्थ्य कार्यालयले डेंगीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका संक्रमितसमेत रहेको जनाएको छ। 

संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन्। स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे। 

पछिल्लो तीन महिनामा डेंगी संक्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिन सक्ने प्रमुख नेपालीले बताए।

“डेंगीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्,” उनले भने, “संक्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुनसक्छ। यसैले डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ।”

धवलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानले डेंगी संक्रमण हुँदैमा आत्तिइहाल्नु नपर्ने बताए। डेंगी संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्न उनले आग्रह गरे। 

डेंगी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभाबी औषधि सेवन गर्न नहुने डा. प्रधानको भनाइ छ। उनका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगीको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुन्छ।

“अधिकांश संक्रमित सामान्य उपचार र हेरचाहपछि निको हुन्छन्, कतिपयमा डेंगीले जटिलता ल्याउन सक्छ। त्यसैले सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ,” उनले भने।