सोमबारको कारोबारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।
काठमाडौँ– यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आइतबार ५० अंकले घटेको नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेको छ। नेप्से परिसूचक २.१६ प्रतिशतको गिरावटपछि सोमबार २५८०.७६ को बिन्दुमा झरेको छ। परिसूचक करिब दुई महिनापछि दुई हजार ५०० को बिन्दुमा ओर्लिएको हो।
सोमबार विभिन्न ३१२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार ८१५ पटक खरिदबिक्री हुँदा सात अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ।
यस दिन सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह ५.६६ प्रतिशतले घटेको छ। बैंकिङ १.५९, विकास बैंक २.७२, होटल तथा पर्यटन २.४८, जलविद्युत् २.२८, लगानी २.५३ र जीवन बीमा १.९१ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन १.७१, लघुवित्त २.४३, म्युचुअल फन्ड १.१७, निर्जीवन बीमा १.९१, व्यापार २.७६ र अन्य समूह २.३३ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर पाँच लाख ७७ हजार ३८९ कित्ता खरिदबिक्री भएको छ।
अधिकांश ब्रोकर कम्पनीको टीएमएसमा समस्या आउँदा कारोबार प्रभावित
सोमबार बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ। नेप्सेको अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा पहुँच पुर्याउनका लागि ब्रोकरहरूले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डीएनए) लगइन हुन नसक्दा समस्या देखिएको हो। यद्यपि, के–कस्तो प्राविधिक कारणले डीएनएमा लगइन हुन सकेन र ब्रोकरहरूको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या देखियो भन्ने अझै खुलेको छैन।
साइबर सुरक्षा र पुँजी बजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरूले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनभिज्ञता जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरूको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे। “बिहान डिएनए लगइन नहुँदा समस्या देखिएको भन्ने जानकारी नेप्सेमा आएको छ। त्यसको केही समयपछि समस्या समाधान भएको र कारोबार पुनः सञ्चालन भएको जानकारी पाएका छौँ। यस विषयमा थप जानकारी लिइरहेका छौँ”, पराजुलीले भने।
ब्रोकरहरूको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा समस्या देखिँदा सोमबार बिहान करिब २५ मिनेट कारोबार प्रभावित भएको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिले जानकारी दिए। के-कस्तो प्राविधिक समस्याका कारण टीएमएसमा अवरोध भएको हो भन्ने कुरा ब्रोकर कम्पनीहरूलाई डीएनए सुविधा उपलब्ध गराइरहेको कम्पनी वाइकोलाई जानकारी हुने उनको भनाइ छ।
ब्रोकर कम्पनीलाई डिएनए सुविधा उपलब्ध गराइरहेको वाइकोका प्रबन्धक अमृत आचार्यले आन्तरिक प्रणाली (नेटवर्क) मा समस्या देखिएका कारण केहीबेर डीएनए लगइन हुन नसकेको बताए।
“बिहान नेटवर्कमा केही समस्या देखिएको थियो, जस कारण कनेक्सनमा समस्या देखिएको हो। अहिले समस्या समाधान भइसकेको छ”, उनले भने। अधिकांश ब्रोकर कम्पनीले वाइकोमार्फत सेवा लिइरहेकामा त्यस्तो सेवा लिइरहेका ६० प्रतिशत ब्रोकरहरूको टीएमएस प्रभावित भएको आचार्यको भनाइ छ। सोमबारको घटनालाई साइबर सुरक्षाका दृष्टिले गम्भीर नभई सामान्य प्राविधिक समस्याका रूपमा बुझ्न आचार्यले आग्रह गरे।
धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा सोमबारको घटनामा धितोपत्र दलाल व्यवसायीहरूको लापरबाही मात्र नभई नियामकको पनि गम्भीर त्रुटि देखिएको जानकार बताउँछन्। नियमावलीको व्यवस्थाअनुसार धितोपत्र कारोबार सदस्यहरूले त्यस्तो कारोबार सञ्चालन गर्न नेप्सेको प्रणालीसँग आबद्ध हुने गरी आफै कारोबार व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख छ। तर धितोपत्र कम्पनीहरूले भने तेस्रो पक्षको कम्पनीका रूपमा वाइकोमार्फत सेवा लिइरहेका छन्।
त्यस्तै, नेटवर्कसम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानका लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गर्नुपर्ने, साइबर आक्रमणसम्बन्धी घटना र समस्याको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाका लागि अनुगमन गर्नुपर्ने, बिजनेस रिकभरी म्यानेजमेन्ट प्रणाली स्थापना गर्ने, कारोबार व्यवस्थापन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने सर्भर भण्डारण (स्टोरेज) क्षमता, सुरक्षा व्यवस्थापन (फायरवाल), नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेलगायत नियमावलीका व्यवस्था कार्यान्वयन भए नभएकोबारे नियामकले अनुगमन र कारबाही गर्न सकेको छैन। नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले आजको घटनाबारे बोर्डमा कुनै पनि जानकारी नआएको बताए।
नेप्सेले धितोपत्र दलालहरूलाई आफै डाटा सेन्टर राख्न, प्राविधिक जनशक्ति राख्न भने पनि धितोपत्र दलालहरूले तेस्रो पक्षबाट यो सुविधा लिँदै आएका छन्। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
