विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकम बराबर बनाएको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ। यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ। यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशतले बढी हो। अब महिला टोलीका विजेताले २.३४ मिलियन डलर तथा उपविजेताले १.१७ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन्, जुन पुरुष बराबर नै हो।

प्रमुख टोली खेलहरूको बीचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रूपमा क्रिकेट बनेको छ।

विजेताका लागि २.३४ मिलियन डलर पुरस्कार तोकेको छ, जुन २०२३ मा १ मिलियन डलर थियो। यस्तै, उपविजेताका लागि १.१७ मिलियन (११ लाख ७० हजार) डलर तोकेको छ, जुन २०२३ मा पाँच लाख डलर थियो। सेमिफाइनलमा परेका टोलीहरूः प्रत्येकलाई ६ लाख ७५ हजार डलर तोकिएको छ। २०२३ मा सेमिफाइनलमा परेका टोलीहरूले २ लाख १० हजार डलर पाएका थिए। 

२०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदै छ। उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन्। विश्वकप अक्टोबर ३ बाट शुरू हुनेछ। उद्घाटन खेलमा बंगलादेशले स्कटल्यान्डसँग  प्रतिस्पर्धा गर्ने छ।