काठमाडौँसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी, किसान उत्साहित

अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको छ। खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ। 

टक्सार– पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर जिल्लामा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरू गरिएको छ। 

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो। जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ। 

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मिहिनेत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए। “अहिले प्रतिकिलो २५० देखि ३०० रुपैयाँका दरले खुर्सानी बिक्री हुँदै आएको छ। मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु,”  उनले भने।

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्ने पनि छन्। पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राई त्यसमध्येको एक हुन्। १० वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन्। राईले गाउँमै ध्रुव कृषि तथा पशुपालन फर्म खोलेर कृषि कर्म गर्दै आएका छन्। 

“वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ,” राईले भने। दुई लाख रुपैयाँ खर्च गरेर दुई हजार ५०० बिरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ। 

यसअघि मकै, कोदो, आलुलगायत खेती गर्नेहरू पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानले  सुनाए। पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी गरेकी मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताइन्। 

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार अकबरे खुर्सानीको खेती पहाडी जिल्लामा राम्रो हुने गरेको छ।