दृश्य कलामार्फत मुक्तिको आव्हान

कुण्डको पिँधमा रहेको सानो प्वालबाट कलाकारको शिर हुँदै शरीरभर पानी बग्छ। प्रदर्शनीको मुख्य उद्देश्य पनि यही हो, अवलोकनकर्तालाई प्रदर्शनीको हिस्सा बनाउनु। 

तस्वीर सौजन्य: सुमित डंगोल

काठमाडौँ– 

तिमी मलाई देऊ
म मुक्त गरिदिन्छु

बबरमहलस्थित नेपाल कला परिषद्को पहिलो तलाको भित्तामा यी शब्द कोरिएका छन्। भित्तालाई पछ्याउँदै जाँदा एक कक्षमा पुगिन्छ जहाँ पित्तलको जलहरी आकारमा एक व्यक्ति बसिरहेको देख्न सकिन्छ। उनी हुन्, कलाकार अमृत कार्की। 

‘रिइमाजिनः हिमालयन आर्ट नाउ’अन्तर्गत एक प्रदर्शनी हो, कार्कीको उक्त भिजुअल प्रस्तुति। मरिना अब्रामोभिच, रुबिन म्युजियमका क्युरेटोरियल प्रबन्धक मिसेल बनेटे सिमोरेला र काठमाडौँस्थित तारागाउँ म्युजियमका निर्देशक रोशन मिश्र  प्रदर्शनीको  सहप्रबन्धक छन्। 

अमेरिकास्थित रुबिन म्युजियमको आयोजनामा असोज १ देखि प्रदर्शनी भइरहेको हो। असोज ५ सम्म चल्नेछ।

कार्की विचारोत्तेजक कृतिहरूले क्षणिक र शाश्वत तत्त्वबीचका सम्बन्धमाथि सूक्ष्म प्रकाश ल्याउँदै अमूर्त विचार तथा भावलाई मूर्ततातर्फ डोर्‍याउने कलाकारका रूपमा परिचित छन्। नयाँ शैलीमा उनी आफ्ना कलाकौशल पस्किन रुचाउँछन्। जसको एउटा उदाहरण हो– रिइमाजिनः हिमालयन आर्ट नाउ।

सेतो पहिरन धारण गरेका कलाकारको (कार्की) शिरमाथि सानो कुण्ड छ, जसबाट जलधारा बग्छ। जलधारा कम हुँदै जाँदा जो कोही गएर पानी भर्न सक्छन्। प्रदर्शनी हेर्न आएका अवलोकनकर्ता पनि यसमा सहभागी हुन्छन्। छेउमा राखिएको पित्तलका भाँडाबाट जगमा पानी भरेर कुण्डमा राखिन्छ। कुण्डको पिँधमा रहेको सानो प्वालबाट कलाकारको शिर हुँदै शरीरभर पानी बग्छ। प्रदर्शनीको मुख्य उद्देश्य पनि यही हो, अवलोकनकर्तालाई प्रदर्शनीको हिस्सा बनाउनु। 

रंग घोलेर जलहरीमा भरेको पानी कलाकारको शिर हुँदै शरीरमा निरन्तर झरिरहन्छ। यसले अवलोकनकर्ताको दुःख कलाकारले आफ्नो समय, मन, शरीर र श्वासमार्फत ग्रहण गरेको संज्ञा दिन्छ। यही हो– तिमी मलाई देऊ, म मुक्त गरिदिन्छु।

प्रदर्शनीमा सांकेतिक रूपमा प्रयोग भएको रंगिन पानीले मानवीय मनमस्तिष्कलाई हरेक दिन प्रदूषित र दमन गर्ने तत्त्वको झल्को दिन्छ। जसलाई कलाकारले ग्रहण गरेका छन्। क्षणिक समयका लागि भए पनि दर्शकको तनाव, दुःख हरण गर्ने कलात्मक सन्देश यस दृश्य कला प्रदर्शनीको हो।